भ्रष्टहरूको मजबुत वृत्त तोडिएला त ?



‘विभिन्न समयमा गरी करिब १ हजार नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाई १ अर्ब रुपियाँ दाब्न गरिएको हाइ प्रोफाइल प्रपञ्चको भण्डाफोर भएपछि त्यो महाभ्रष्टाचार काण्डको तानाबाना बुनिएको बेलाका प्रधानमन्त्री एमाले नेता केपी शर्मा ओलीको निद्रा र भोक दुवै गायब भएको छ । त्यसैले हुनुपर्दछ, उनी बहालवाला प्रम पुष्पकमल दाहालको यतिखेर वरिपरि लगाउँदै गणेश भाँतीमा चक्कर काटिरहेका छन् ।’ विषय उठान लेखक हरि अधिकारीका कलमबाट भयो ।

उनी लेख्छन्– ‘यो काण्डको क्रोनोलजी र यसमा सामेल अनुहारका राम्रोसँग अध्ययन गर्दा यसबारे केपी ओलीलाई केही थाहा थिएन भन्न धेरै गाह्रो मात्र होइन लगभग असम्भव छ । ऊ बेलाका गृहमन्त्री ओलीका, यो काण्ड मच्चाउने गिरोहका मुख्य मतियार र सहजकर्ता उपप्रधान एवम् ऊर्जामन्त्री ओलीका, तत्कालीन गृहसचिव र अहिलेका अख्तियार प्रमुख प्रेम राई ओलीको दलका बफादार सेवक, कार्यदलका संयोजक बालकृष्ण पन्थी र सदस्य गणेश केसी एमालेका समर्थक अनि यत्रो काण्डको षड्यन्त्र रचेर यसको कार्यान्वयन हुँदासम्म ओलीलाई पत्तै नहुने ! यो कसरी सम्भव हुन सक्छ ?’

तथ्य र घटनाहरूले साबित गरेका छन्– एमाले र केपी ओलीको राजनीतिक सत्ता भ्रष्टाचारका जगमा खडा भएको छ । उनले यसअघि ओम्नी, यति होल्डिङ्सको मनोमानी, नेवानि वाइड बडी खरिद, गोकुल बाँस्कोटाकृत ७० करोड काण्ड र बालुवाटार जग्गा अपचलनजस्ता भ्रष्टाचारका ठूला काण्डमा मुछिएका नेता र वरिष्ठ कर्मचारीहरूलाई संरक्षण प्रदान गरेको कुरा यहाँनेर स्मरणीय हुन आउँछ । यी तथ्यहरूको आलोकमा कसैले एमाले अध्यक्ष ओलीलाई संस्थागत भ्रष्टाचारका उन्नायक भन्यो भने शायद अत्युक्ति हुनेछैन ।

पछिल्लो अपडेट अनुसार यस काण्डमा गत पुसभन्दा पहिले गृहमन्त्री रहेका कांग्रेस नेता बालकृष्ण खाँण सन्देहका घेरामा तानिदै पक्राउ परे । उनैले गृह सचिव बनाएका र यस काण्डका एक अभियुक्त सचिव टेकनारायण पाण्डेले उनलाई पोलेको अपुष्ट समाचार बाहिर आयो, बाँकी अब जे गर्छ कानुनले गर्छ ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले यो महाकाण्डमाथिको पर्दा उठाउने हिम्मत गरेर आफूलाई आँटिलो नेताका रूपमा प्रस्तुत गरेको कुरामा संशय छैन तर उनले यो केसलाई तात्विक परिणतिसम्म पु¥याउन सक्छन् कि सक्दैनन्, हेर्नुपर्ने कुरो भने त्यो छ । जनताले व्यग्रताका साथ हेरिरहेका यो मुद्दा कसरी टुंगिन्छ, त्यसले देशमा भ्रष्टाचारीहरूको ‘मिसियस सर्कल’ तोड्न सकिन्छ कि सकिँदैन भन्ने कुराको निक्र्याैल हुनेछ । सम्पूर्ण प्रणालीलाई भित्रैदेखि खोक्रो बनाइरहेको भ्रष्टाचारको जालोलाई तोड्न अब धेरै ढिला भइसकेको छ ।

लेखक केदार आचार्य सपाट शैलीमा लेख्छन्– ‘नेपाली नागरिकलाई भुटानी शरणार्थीका रूपमा अमेरिका पठाउन खोज्ने काण्डको चर्चा अहिले व्याप्त छ । नेपालको भौगोलिक अवस्थिति र लुब्ध राजनीतिक नेतृत्व र कमजोर प्रशासनिक संयन्त्रका कारण नेपालमा निकै पहिलादेखि नै नागरिकता र आप्रवासनमा चलखेल हुँदै आएको बुद्धिजीवीहरूको आङ्कलन छ । त्यसका केही सम्भावित नमुना यहाँ प्रस्तुत गर्न सकिन्छ ।

१. भारतीयलाई नेपाली नागरिकता दिने । २. भारतीय तथा बर्मेली नेपालीभाषी नागरिकलाई नेपाली नागरिकता दिने । ३. पाकिस्तानी नागरिकलाई भारतीयको रूपमा नेपालमा रहन तथा भारत प्रवेश गर्न दिने । ४. बर्माका रोहिंग्या शरणार्थी र बंगलादेशीलाई भारतीयका रूपमा नेपालमा प्रवेश गर्न तथा रहन दिने । ५. नेपाल प्रवेश गर्न चाहने तिब्बतीलाई उसको गच्छेअनुसार नेपाल प्रवेशमा रोक लगाउने, नेपाल प्रवेश गरे पनि तिब्बत फर्काउने, शरणार्थीको रूपमा नेपालमा राख्ने, नेपाली नागरिकता नै दिने वा भारत (धर्मशाला) प्रवेश गर्न दिने । ६. भुटानी शरणार्थी अमेरिका जाने निश्चित नहुन्जेल उनीहरूलाई नेपाली नागरिक बनाउने, अमेरिका जान पाउने भएपछि नेपालीलाई पनि भुटानी शरणार्थी बनाउने ।

यी सम्भावित चलखेल पृष्ठभूमिमा अहिलेको चर्चाको विषय निकै सानो देखिन्छ, तैपनि यसलाई ‘केही न केही त भयो’ को अर्थमा लिनु ठीक होला । यस काण्डका सबै उच्च र अन्तिम लाभग्राहीले अपराध अनुसारको कानुनी दायित्व नबेहोरून्जेल खुशी भइहाल्नुपर्ने भने देख्दिन । यो देश त्यसै टाट पल्टन लागेको हैन । नेपालीहरू यस्ता धेरै काण्डहरू पर्दाफास हुने आशामा रहेका छन् । सरकार र सम्बन्धित निकायलाई जनआशा पूरा गर्ने कार्यमा सफलता मिलोस् ।’

भुटानी शरणार्थी प्रकरणको जरो बिस्तारै मुख्य नेताहरूको दरबारतिर भेटिँदै छ । टोपबहादुर रायमाझी फस्नेबित्तिकै केपी ओली हतारिँदै प्रचण्डलाई भेटे । अब बालकृष्ण खाँड पक्राउ पर्नेबित्तिकै शेरबहादुर देउवा सक्रिय भए । अब हेर्दै जानु छ, यो काण्ड बालुवाटार र सुडान काण्डजस्तै केही कर्मचारीलाई बलि चढाएर सामसुम पारिनेछ, किनकि यस्तो ‘मेगा करप्सन’ राष्ट्रिय सहमतिबेगर हुँदैन । सबैका यसमा भागवण्डा लागेको हुन्छ । यस्तो भ्रष्टाचार काण्डमा ठूला नेता फसे भने यिनीहरूको लुटको साम्राज्यको संरचनात्मक सन्तुलन खल्बलिन सक्छ । यो अवस्था आओस् भन्ने यिनीहरू कदापि चाहँदैनन् । बाँकी अरू सबै कुरा तपसिलका विषय हुन् !

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दामा संलग्न भएका आरोपमा अदालतबाट पक्राउ पूर्र्जी जारी भएका सांसद टोपबहादुर रायमाझी भारत भागेको आशंका छ । वैशाख २० गते साँझदेखि सांसद रायमाझी सम्पर्कमा छैनन् । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दामा संलग्नहरूको खोजी गर्ने क्रममा नेकपा एमालेका सचिवसमेत रहेका टोपबहादुर रायमाझीको नामसमेत मुछियो । चैत १२ गते पक्राउ परेका आरोपी सानु भण्डारीको डायरीमा रायमाझीलाई दिइएको रकमको टिपोट विवरण भेटियो । रायमाझीका छोरा सन्दीप रायमाझी भने पक्राउ परिसके ।

अर्घाखाँचीबाट प्रत्यक्ष निर्वाचित सांसद रायमाझीविरुद्ध वैशाख २० गते काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी हुँदै उनी सभामुख देवराज घिमिरेसँग अर्घाखाँचीकै महेन्द्र विद्याबोध माध्यमिक विद्यालयको हीरक महोत्सवमा थिए । काठमाडौँबाट पक्राउ पूर्जी जारी भएपछि प्रहरीसँगको कुराकानीका क्रममा रायमाझीले आफू सभामुखसँगै काठमाडौँ आउने र प्रहरी कार्यालयमा उपस्थित हुने आश्वासन दिए । एक प्रहरी अधिकारीका अनुसार वैशाख २० गते नै रायमाझी प्रहरीको सम्पर्कमा थिए र वैशाख २२ गते बिहान काठमाडौँ प्रहरी परिसरमा उपस्थित हुने बताएका थिए ।

रायमाझी अर्घाखाँचीबाट बुटवलसम्म सभामुख घिमिरेसँगै आए तर बुटवल आएका रायमाझी वैशाख २१ गतेपछि सम्पर्कविहीन छन् । वैशाख २१ गते बिहानसम्म रायमाझीको मोबाइलसमेत चलिरहेकाले उक्त दिन उनी बुटवल क्षेत्रमै रहेको एक प्रहरी अधिकारीले बताए । त्यसपछि उनी कता गए थाहा नभएको प्रहरी बताउँछ । प्रहरीका अनुसार रायमाझी पक्राउ पर्ने डरले भारत भागेको हुन सक्ने आशङ्का छ ।

प्रहरीले अदालतमा मुद्दा नबुझाउने समयसम्म भारतमै लुकेर बस्ने र मुद्दा बुझाएपछि सोझै अदालतमा उपस्थित भई धरौटीमा रिहा हुने योजनामा उनी भारत भागेको हुन सक्ने आशंका छ । सत्तारुढ नेपाली कांग्रेसका केही नेताले भने रायमाझी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घरमा लुकेर बसेका आरोपसमेत लगाए । यद्यपि शनिबार प्रधानमन्त्रीसँग भेट गर्न बालुवाटार पुगेका एमाले अध्यक्ष ओलीले रायमाझीबारे आफूलाई केही थाहा नभएको बताए ।

रायमाझी कहाँ छन् ? भन्ने सञ्चारकर्मीका प्रश्नमा अध्यक्ष ओलीले उहाँ (रायमाझी) आफ्नो सम्पर्कमा नरहेको भन्दै बरू कहाँ छन् तपाईंहरू नै बताइदिनुु् न’ भनी प्रतिप्रश्न गरे । गत बिहीबार भएको प्रधानमन्त्रीसँगको भेटमा भने अध्यक्ष ओलीले बहालवाला सांसद रायमाझी कतै भागेर नजाने दाबी गर्दै पक्राउ पूर्जी जारी भएकोमा भने आक्रोश व्यक्त गरे । उनले रायमाझीविरुद्ध षड्यन्त्रपूर्वक ढंगले ‘एक्सन’ लिने काम भएको भन्ने आरोप लगाए । अध्यक्ष ओलीले भने, ‘षड्यन्त्रपूर्वक ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने ? त्यस्तो खालको रहस्यपूर्ण के छ ? भागेर कतै गइहाल्ने मान्छे त होइन । अहिलेको सिटिङ एमपी भागेर कतै जाने खालको कुरा त होइन ।’ गत बुधबारदेखि ‘सिटिङ एमपी’ फरार छन् । प्रहरीका खोजमा उनी भेटिएका छैनन् । भागेर भारत गएको आशंका गरिए पनि उनी बुटवलमै लुकिछिपी बसेको हुन सक्ने आशंका भने बलियो छ ।

टोपबहादुरजस्तै सोही मुद्दामा पक्राउ परेका अभियुक्तका बयानका आधारमा हालै प्रहरीले शरणार्थी लेनदेनबापतको बिजनेसमा अडियो टेपसमेत बरामद गरेको भनिएका नेपाली कांग्रेसका समानुपातिक सांसद डा. आरुजु राणा देउवा र पूर्वगृहमन्त्री बालकृष्ण खाँडकी पत्नी मञ्जु खाँडसमेत विदेश भागिसकेका अपुष्ट खबरहरू तारन्तार सञ्चार माध्यममा आए । यस्ता खबरमा सत्यता नदेखिए पनि सरकारले यसबारे केही बोलेको बाहिर आएन । हुन त यस्ता मुद्दाहरूको पञ्चायत कालमा पनि सिरियल नै हुन्थ्यो भने बहुदल कालमा समेत आएर अनेक नाम–उपनाममा काण्डहरूले फैलने अवसर पाएका थिए । पचासको दशक राजनीतिक अपराध र मुद्दाका लागि गुल्जार मानिन्थ्यो ।

कानुन व्यावसायी बालकृष्ण न्यौपाने हाकाहाकी भन्छन्– ‘लोग्ने गृहमन्त्री स्वास्नी आपराधिक गतिविधि सञ्चालककी मतियार, लोग्ने प्रधानमन्त्री स्वास्नी सेटिङ मिलाएर पैसा झ्वाम्म पार्ने समूहसँग मिलिभगत भएको सत्यांश हुने समाचारहरूले आम जनतालाई यति चकित पारेको छ कि योभन्दा अगाडिका भ्रष्टाचारका मुद्दाहरू अहिले सबै एकाएक फिका भएका छन् ।’ उनी अझै थप्छन्– ‘यो केसले देशकै मुखमा कालो पोत्यो । यसमा युएनएचसीआरमार्फत संयुक्त राष्ट्र संघसमेत जोडियो । नेपाल नक्कली शरणार्थीहरू बनाएर विश्वमा मानिस तस्कर गर्ने बदनाम देश रहेछ भन्ने कुरा ती ५÷६ सय शरणार्थीहरूलाई शरण दिने अमेरिकालाई अहिले झस्काका रूपमा परेको छ । आफ्ना देशमा जासुस, दुई नम्बरी र फटाहा मानिसहरू ओसारपसार गर्ने र घुसपैठ गराउने देशको पंक्तिमा एक नम्बरमा नेपाल पर्दा पुरानो दौत्य सम्बन्ध भएको देश नेपालसमेत अहिले किं कर्तव्यविमुढ भएको छ । यसरी देशको छवि सधैँ विश्व रङ्गमञ्चमा रहन गाह्रो छ ।’ यो काण्डले पञ्चायतमा हुने अनेक नामधारी काण्डहरूलाई समेत ओझेलमा पा¥यो ।

नागरिकहरू यतिखेर निचाल भएर जस–जसका नाम यो मुद्दामा जोडिएका छन् तिनलाई कानुनी कारबाही हुन्छ÷हुँदैन भन्दै आँखा झिमिक्क नपारी हेरिरहेका छन् । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको देश, सगरमाथाको देश र पवित्र देवीदेवताहरूको देश भनेर साना नानीमा पढेका कुराहरू सबै हावा हुने भए भन्ने पिर जनसामान्य नरनारीलाई यतिखेर लाग्दै छ । यो तोडको असली जवाफ कोसँग छ ? देशलाई परेको अप्ठ्यारोमा राजनीतिक पार्टी र तिनका भ्रातृ संगठनहरूले किन आफ्नो मुख खोलिरहेका छैनन् ? यस्ता यावत् प्रश्नहरू जारी छन् ।

प्रतिक्रिया दिनुहोस्