निजामती अस्पतालको विकृति हटाऊ



सरकारद्वारा आम कर्मचारीलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सुविधा दिलाउन स्थापना गरिएको निजामती अस्पताल यतिखेर विकृतिको डङ्गुरले भरिन पुगेको छ । कर्मचारीकै लागि खोलिएको अस्पतालको यस्तो अवस्था छ भने अन्य अस्पतालको अवस्था के होला ? सहजै अनुमान लगाउन सकिन्छ । निजामती अस्पतालमा देशभरबाट कर्मचारीहरु उपचारका लागि आउने गरेका छन् । तर अस्पताल प्रशासनले भने काठमाडौंवरिपरिबाट मात्रै उपचार गराउन आउने सोच राखेर बिरामीलाई भोलि आउनू भन्दै फर्काउने गरेको छ । कुनै परीक्षण गर्दा आज केमिकल अभाव भयो, मेसिन बिग्रियो, अब दुई–तीन दिनपछि आउनू भन्दै बिरामीलाई धमाधम फर्काउने गरेको पनि पाइन्छ । टाढाबाट आएका बिरामीहरु खर्चको थप जोहो गर्दै दुई–तीन दिन कुरेर जाँदा अस्पतालले फेरि दुई–तीन दिनपछि आउनू भन्दै फर्काउने गरेको छ ।

यस्तो लापारबाही गर्ने क्रम जारी छ । बिरामीले कैयौँ दिनसम्म दुःख पाउँदा पनि अस्पताल प्रशासन गैरजिम्मेवार भएर बस्ने गरेको छ । समयमा परीक्षण हुने र समयमा नै उपचार गरेर घर फर्कने अवसरबाट आम कर्मचारीहरु वञ्चित भइरहेका छन् । सेवा–सुविधा प्रभावकारी बनाउने विषय अस्पतालको प्राथमिकतामा पर्न छोडेको छ । कहाँ कोसँग कसरी सेटिङ गर्ने र अकुत सम्पत्ति आर्जन गर्ने भन्ने बारेमा अस्पतालका जिम्मेवार व्यक्तिहरु लाग्दा यस्तो समस्या भएको हो । सेटिङमा करोडौँ मूल्यका मेसिनहरु खरिद गरी ती मेसिन प्रयोगविहीन बनाउँदै आइरहेको निजामती अस्पतालले विभिन्न परस्क्षण सेवामा समेत सेटिङ गर्दै कमिसन खानु आफैँमा दुःखद र लज्जाको विषय हो ।

अस्पालले १० करोड बढीका बिगे्रका मेसिनहरु खरिद गरी त्यसै थन्क्याउँदै आएपछि त्यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर छानबिन थालिरहेको छ । अख्तियारले छानबिन थाल्दा पनि अस्पातलको अन्य सेटिङ धन्दामा भने कमी आएको छैन । जबसम्म अख्तियारले छानबिन गरी दोषीलाई मुद्दा दायर गर्दैन तबसम्म उनीहरुको चेत फिर्नेवाला छैन । त्यसैले अख्तियारले छानबिनलाई तीव्रता दिएर छिटोभन्दा छिटो टुंगोमा पु¥याउन सक्नुपर्छ । अस्पताल प्रशासनले विभिन्न महँगो शुल्क लाग्ने परीक्षणको काम रोकेर बिरामीलाई बाहिर पठाउन बाध्य पार्दै आइरहेको छ । महँगा परीक्षण गर्न र औषधि लिनसमेत बाहिर जानुपर्ने बाध्यता भएपछि सेवाग्राहीहरु मर्कामा पर्दै आइरहेका छन् । अस्पतालमा सम्भव हुँदाहुँदै पनि महँगा परीक्षणका लागि सेवाग्राहीलाई बाहिर जान बाध्य बनाएर त्यसमा पनि कमिसन खाने गिरोहहरुलाई कारबाही गरिनुपर्छ ।

महालेखा परीक्षकको कार्यालयले पनि अस्पतालको सेवा प्रवाह प्रभावकारी हुन नसकेको र धेरै खाले त्रुटि देखिएको भन्दै प्रश्न उठाएको छ । मेसिन खरिद प्रक्रिया र सञ्चालन प्रक्रियामा व्यापक बदमासी देखिएको महालेखाको निष्कर्ष छ । निजामती कर्मचारीलाई लक्षित गरी स्थापना भएको अस्पतालले निजामती कर्मचारी तथा उनीहरुको परिवारले अन्य अस्पतालमा उपचार गर्न जानु नपर्ने गरी सेवा प्रवाह र गुणस्तर वृद्धि गर्नुपर्नेमा त्यस्तो गर्न नसकेको महालेखाले जनाएको छ । महालेखाको आँखामा समेत अस्पतालमा धेरै विकृति देखिएको छ ।

महालेखालाई नै आधार मान्दा पनि निजामती अस्पतालले औषधि विक्री वितरणमा पनि बदमासी गरिरहेको छ । अस्पताल फार्मेसी सेवा निर्देशिका २०७८ मा बिरामी तथा सेवाग्राहीलाई सुलभ एवं गुणस्तरीय सेवा पु¥याउन अस्पतालले आफ्नै फार्मेसी सेवा सञ्चालन गर्ने उल्लेख भए पनि अस्पतालले सञ्चालन गरेको फार्मेसी नाममात्रैको देखिन्छ । त्यसै गरी अस्पतालमा रहेको फार्मेसीमा पनि सधैँ औषधिको अभाव हुने गरेको छ । सेवाग्राहीहरु औषधि किन्नुपर्दा बाहिर जानुपर्ने बाध्यतामा छन् । बिरामी तथा सेवाग्राहीबाट माग भएका १५२ प्रकारका औषधि फार्मेसीमा उपलब्ध नभएपछि बिरामीहरु मर्कामा पर्दै आइरहेका छन् । मुख्य सचिवको अध्यक्षतामा रहेको व्यवस्थापन समितिद्वारा सञ्चालित निजामती अस्पतालमा यस्तो विकृति आउनुले सिंगो प्रशासनिक संयन्त्रमाथि नै गम्भीर प्रश्नचिह्न सिर्जना भइरहेको छ । त्यसैले अस्पतालमा देखिएका सबै प्रकारका विकृतिहरु रोक्न मुख्य सचिवलगायत सम्पूर्ण प्रशासनिक संयन्त्रले तत्काल पहलकदमी लिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्