नेपाल-भारतबीच खेलकुद सम्बन्ध र भारतको उजुरी



नेपाल–भारतबीच रोटी–बेटीको सम्बन्ध भएजस्तै खेलकुदको पनि विशेष सम्बन्ध रहेको छ । भारतीय सेनामा भर्ती भएका कति नेपालीहरु भारतीय राष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा राष्ट्रिय च्याम्पियन भएका छन् । उनीहरु भारतीय राष्ट्रिय च्याम्पियन भएर अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरु एसियन गेम्स, कमनवेल्थ गेम्स, ओलम्पिक गेम्स, विश्व खेल च्याम्पियनसिप लगायत विश्व सैनिक खेलकुदमा पनि भारतको तर्फबाट सहभागी भएका छन् । सहभागी भएकाहरुमध्ये कति नेपालीले भारतका लागि अन्तर्राष्ट्रिय खेल पदकहरु दिलाएका छन् ।

अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा भारतका लागि अन्तर्राष्ट्रिय खेल पदक दिलाएकाहरुमध्ये चर्चित फुटबल खेलाडी श्याम थापा, पदमबहादुर मल्ल, जितु राईजस्ता धेरै छन् । पर्वतका पदमबहादुर मल्लले भारतका लागि बक्सिङ खेलको पहिलो अन्तर्राष्ट्रिय स्वर्णपदक दिलाएका थिए । उनले सन् १९६२ मा जाकर्तामा भएको चौथो एसियाली खेलकुद प्रतियोगितामा बक्सिङ खेलको ६० केजी तौल समूहमा विजयी तथा बेस्ट बक्सर भएर स्वर्णपदक जितेका थिए । त्यस्तै सखुवासभाका जितु राईले सन् २०१४ मा स्कटल्यान्डमा सम्पन्न भएको बीसौँ कमनवेल्थ गेम्समा १० मिटर पेस्तोल सुटिङ प्रतियोगितामा विश्व रेकर्डसहित भारतका लागि स्वर्णपदक जिताए । सोही वर्ष साउथ कोरियामा भएको सत्रौँ एसियाली खेलकुदमा ५० मिटर पेस्तोल सुटिङ प्रतियोगितामा भारतका लागि अर्को स्वर्णपदक दिलाए । अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा भारतका लागि अन्तर्राष्ट्रिय खेल पदक दिलाएर भारतको प्रतिष्ठा उच्च बनाउनेहरुका लागि भारत सरकारले राष्ट्रिय मान–सम्मानसहित आर्थिक तथा भौतिक सहयोग गर्ने हुनाले जितु राईजस्ता नेपालीहरु भारतमा नै बसाइँ सरे ।

भारतीय सेनामा छँदा भारतको राष्ट्रिय च्याम्पियन रही त्यहीँको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेल प्रतियोगिताहरुमा सहभागी भएका र सेवा निवृत्तपछि नेपाल फर्केका म्याग्दीका दामबहादुर पुनजस्ता धेरै नेपालीहरु छन् । उनले स्प्रीङ बोर्ड डाइभिङको धेरै वर्ष भारतको राष्ट्रिय च्याम्पियन रही न्यु दिल्ली र थाइल्यान्डमा भएको एसियन गेम्स, क्यानडामा भएको कमनवेल्थ गेम्समा भारतको प्रतिनिधित्व गरेका थिए । सेवा निवृत्तपछि उनी नेपाल फर्की घोडापानी र पुनहिल पर्यटन विकास क्षेत्रमा क्रियाशील रहेका छन् । यस्ता धेरै नेपाली भारतीय सेनामा छँदा अन्तर्राष्ट्रिय खेल प्रतियोगिताहरुमा भारतको प्रतिनिधित्व गरी सहभागी भएका र सेवा निवृत्तपछि नेपालमा सामान्य जीवन बिताइरहेका भेटिन्छन् ।

त्यस्तै भारतीय सेनामा भर्ती भएर त्यहाँ खेल सिकेर नेपाल फर्की नेपालको तर्फबाट अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा सहभागी भएकाहरु पनि धेरै छन् । तीमध्ये कतिले नेपालका लागि अन्तर्राष्ट्रिय खेल पदक दिलाएका छन् । पढाइको सिलसिलामा वा अन्य काममा भारत गएर हुर्की बढेका वा रोजीरोटीको लागि भारत गएका मातापितासँग उतै हुर्के–बढेका युवायुवतीले समेत भारतमा खेल खेल्न सिकी च्याम्पियन भएका छन् । उनीहरु नेपाल फर्केर नेपालको राष्ट्रिय खेल टोलीमा आफ्नो स्थान बनाई अन्तर्राष्ट्रिय खेल प्रतियोगिताहरुमा राष्ट्रको गौरव बढाउने काम गरेका छन् । आजका दिनमा यस्ता खेलाडीहरू नेपालको राष्ट्रिय क्रिकेट टोलीका भीम सार्की, सोमपाल कामी, करण केसी, अन्डर १९ को अर्जुन कुम्हाल, महिला मुक्केबाज अञ्जनी तेलीजस्ता धेरै खेलाडी छन् । हिजोका दिनहरुमा पनि शक्ति गौचनजस्ता कैयौँ खेलाडीहरू थिए र भविष्यमा पनि होलान् ।

नेपाल–भारतबीच खेलकुदको यस्तो विशेष सम्बन्ध रहेको भए तापनि भारतले गत मार्च महिनामा नयाँ दिल्लीमा भएको १३ औँ आईबीए विश्व महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी भएकी नेपाली खेलाडी अञ्जनी तेलीविरुद्ध उजुरी ग¥यो । कपिलवस्तु जिल्लादेखि रोजीरोटीको लागि भारत गएका मातापिताकी सन्तान अञ्जनी भारतको दिल्लीमा जन्मी–हुर्की बक्सिङ सिकेर आफ्नो तौल समूहको दिल्ली राज्यको सन् २०२१ को बक्सिङ च्याम्पियन थिइन् । यस अवधिमा अञ्जनीले भारतीय आधार कार्ड लिएर सोही भारतीय आधार कार्ड देखाई आफूलाई बक्सिङ फेडेरेसन अफ इन्डियामा दर्ता गरेकी थिइन् । बक्सिङ फेडेरेसन अफ इन्डियामा उनको दर्ता नम्बर बीएक्स ५०२९ थियो । यसैको आधारमा उनी नेपाली नभएको जिकिर गर्दै भारतले प्रतियोगिता आयोजक अन्तर्राष्ट्रिय बक्सिङ संघसमक्ष उजुरी ग¥यो ।

उजुरीउपर छानबिनको क्रममा नेपालले अञ्जनी तेली नेपाली भएको प्रमाणको निम्ति उनको नेपाली नागरिकता र राहदानी अन्तर्राष्ट्रिय बक्सिङ संघमा पेस गरेको थियो । यदि अञ्जनीले भारतबाट पनि भारतीय नागरिकता वा राहदानी लिएको भए केस अलि जटिल हुन्थ्यो तर भारतीय आधार कार्ड एउटा परिचय पत्र मात्र भएको हुनाले भारतको उजुरीलाई अन्तर्राष्ट्रिय बक्सिङ संघले बदर ग¥यो ।

भारतमा आफ्नो बक्सिङ खेलको भविष्य नदेखेर अञ्जनी तेलीले नेपाल फर्की आफ्नो खेल जीवनलाई निरन्तरता दिइन् । उनी नेपालको राष्ट्रिय प्रतियोगिता खेलेर राष्ट्रिय बक्सिङ टोलीमा स्थान बनाउन सफल भइन् । सो आईबीए विश्व महिला बक्सिङ च्याम्पियनसिपको पहिलो चरणको खेलमा अञ्जनी तेलीले डोमिनिकन रिपब्लिककी हर्नान्देज गार्सिया मिगुलिनालाई हराइन् । च्याम्पियनसिपको दोस्रो चरणको खेलमा विश्व वरियता क्रममा तौल समूहको एघारौँ स्थानमा रहेकी हाइटीकी मुक्केबाज लाई ५–० अंकको आधारमा हराउँदै नेपालको बक्सिङ खेलमा इतिहास रचिन् । आईबीए विश्व बक्सिङ च्याम्पियनसिपमा दुई चरण खेल जित्ने उनी नेपालको पहिलो बक्सर भइन् । अन्त्यमा उनी ऐतिहासिक पदकभन्दा एक कदम पर क्वाटर फाइनलमा विश्व वरियता क्रममा आफ्नो तौल समूहको नवौं स्थानमा रहेकी बेलारुसकी बक्सरसँग पराजित भइन् ।

नेपाल–भारतबीच यस्तो प्रकारको विशिष्ट खेलकुदको सम्बन्ध हुँदाहुँदै पनि भारतले नेपालविरुद्ध यसरी अन्तर्राष्ट्रिय निकायमा उजुरी दिएको घटना शायद पहिलो होला । जुन कुरा हुनुहुँदैनथ्यो भयो, त्यो कुरा नेपालको पनि दुर्भाग्य हो र भारतको पनि दुर्भाग्य हो । आगामी दिनहरुमा पनि भारतले नेपालविरुद्ध यस्तो प्रकारको उजुरी नगर्ला भन्न सकिँदैन । यस्तो प्रकारको उजुरीले अन्तर्राष्ट्रिय खेल मञ्चहरुमा नेपालको छविमा आँच आउन सक्ने सम्भावना छ । सो कुरालाई दृष्टिगत गरी नेपालले कुनै पनि अन्तर्राष्ट्रिय खेल प्रतियोगिताहरुमा भाग लिन जानुअगावै विशेष गरी भारतबाट फर्केका खेलाडीहरूका आवश्यक कागजपत्रहरु समयमै पूर्वतयारी हालतमा राख्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्