सच्चिनु त नागरिकले पनि पर्ला नि !



वैशाख १० गते सम्पन्न भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी अत्यधिक मतका साथ विजयी हुन सफल भएपछि राजनीतिक वृत्तमा ठूलो तरंग आएको छ । उक्त तरंगले ठूला भनिने राजनीतिक दलहरुमा ‘अब सक्किने हो कि सच्चिने हो ?’ भन्ने बुँदामा पनि व्यापक बहस चल्न थालेको छ । हुन पनि तीन ठाउँमा भएको उपनिर्वाचनमध्ये पहिलो बारा जिल्लामा उपेन्द्र यादवले जुन विजय हासिल गर्नुभएको छ त्यसले त्यति महत्व राखेको देखिँदैन । उहाँ जित्नकै लागि त्यहाँबाट उम्मेदवार बन्नुभएको थियो, जित्नुभयो । उहाँ गठबन्धनमा पनि हुनुहुन्थ्यो । तर चितवनमा रवि लामिछानेले पहिलेको निर्वाचनमा भन्दा बढी भोट र पहिलेको निर्वाचनमा लिएको भन्दा बढी अन्तरले जित्नु नागरिक वृत्तमा उत्साहको विषय बनेको छ । ठूला भनिने राजनीतिक दलहरुको एकसूत्रीय प्रहार, सरकारमा सम्मिलित राजनीतिक दलहरुको गठबन्धनको उम्मेदवार अनि आफूलाई ठूला भन्न रुचाउने पत्रिकाहरुको छुट्टै चाल र आफूलाई सामाजिक अभियन्ता भन्न रुचाउने विभिन्न प्रकृतिका व्यक्तिहरुको अफवाहका बीच चितवनका नागरिकहरुले कसैको कुनै चाल, जाल र मालको परबाह नगरी रवि लामिछानेलाई अत्यधिक मत दिएर ऐतिहासिक विजय गराएका छन् । यसबाट चितवनका मतदाताहरु वास्तवमा सच्चिएको प्रमाणित भएको छ ।

तनहुँ आफैंमा नेपाली कांग्रेसको गढक्षेत्र हो । त्यसमा पनि गत निर्वाचनमा तनहुँका मतदाताले जिताएका आफ्ना प्रतिनिधिलाई राष्ट्रपतिजस्तो गरिमामय पदमा आसीन गराउन सफल भएको नेपाली कांग्रेसको अभियानले तनहुँका मतदाताले आँखा चिम्लेर गठबन्धनको उम्मेदवारलाई निर्वाचित गराउनेछन् भन्ने कुरामा सबै विश्वस्त थिए । स्थानीय व्यक्ति नै उम्मेदवार भएर निर्वाचित भएपछि मन्त्रीसमेत बन्न सक्ने प्रचारका बीच राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्न बाहिरबाट आएका डा. स्वर्णिम वाग्लेलाई तनहुँका मतदाताले भारी मतका साथ विजयी बनाए । त्यहाँ पनि कुनै शक्तिको चाल, जाल र मालले काम गरेन ।

ठूला भनिने दलहरुको कार्यक्षमतामा आएको कमी र अर्को शब्दमा भन्नुपर्दा अकमण्र्यताको कारणले गर्दा मुलुक दैनानुदिन हरेक क्षेत्रबाट भासिने क्रममा रहेको जनताले आँकलन गरिसकेका छन् । नागरिकले आफ्नो आँकलनलाई स्थापित गर्न ठूला भनिएका दलहरुलाई दिनुपर्ने नसिहतको सम्बन्धमा तनहुँका जनता सजग र सचेत भई सच्चिएको कारणले गर्दा डा. स्वर्णिम वाग्लेले विजय हासिल गर्नुभन्दा पनि गठबन्धनको तर्फबाट त्यसमा पनि स्वयं नेपाली कांग्रेसको उम्मेदवारको पराजय हुनुले तनहुँका मतदाताहरु पनि अब सच्चिएको प्रमाणित भएको छ ।

यी दुई निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको जित हुनु र नेपाली कांग्रेस गठबन्धनमा भएर पनि दोस्रो हुनु अनि नेकपा एमाले ‘ग्रासरुट अभियान’को चरणमा हुँदाहुँदै पनि तेस्रोमा खुम्चिनु भनेको राजनीतिक रुपमा सानो कुरा होइन । हुन त गत निर्वाचनमा नै एउटा ६ महिने शिशु बालक पार्टीलाई अघि सारेर जनताले धेरैको अहंकार तोड्न सफल भएका थिए । आज उक्त ६ महिने शिशु बालक पार्टीले जुन सफलता प्राप्त गरेको छ, त्यो सफलता भनेको जनताको आशिर्वाद र विश्वास पनि हो । जनताको विश्वासलाई प्राप्त गर्न मुस्किल छ । जनताको विश्वास प्राप्त गरेपछि जनताको विश्वासलाई जोगाइराख्न त्योभन्दा बढी संघर्ष गर्नुपर्ने हुन्छ । आज राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता नयाँ राजनीतिक दलहरुले पुराना राजनीतिक दलहरुले भन्दा बढी जनमुखी कामहरु गर्नुपर्ने हुन्छ । जनतामा तीव्र विश्वास छ, तर विश्वासलाई जोगाइराख्ने गरी काम गर्ने क्षमता नहुन सक्छ, हाम्रो भौगोलिक वातावरण पनि त्यस्तै छ । यहाँ विश्वास कायम राख्न आफूले मात्र गरेर हुँदैन, धेरैजस्तो बाहिरको आशिर्वाद पनि प्राप्त गर्नुपर्ने हुन्छ । बाहिरको आशिर्वाद लिएर गर्ने कार्य अन्तिममा जनताको पक्षमा हुन सक्दैन । यस्ता कुराहरुमा पनि हेक्का राख्नुपर्ने हुन्छ ।

मंसिर ४ गते सम्पन्न भएको निर्वाचन होस् वा वैशाख १० को उपनिर्वाचन होस्, दुवै निर्वाचनको परिणामले नागरिकमा राजनीतिक चेतना र जिम्मेवारीको बोध भएको प्रस्ट देखिएको छ । कुनै नयाँ पार्टीहरुले जित्नुमात्र राजनीतिक चेतना जागेको मान्न सकिँदैन, तर ठूला भनिएका पुराना राजनीतिक दलहरुलाई नागरिकले आफ्नो मतमार्फत क्रमशः अस्वीकार गर्दै जानु भनेको ठूलो कुरा हो । अब नेपालको राजनीतिले विकल्पको खोजी गर्न शुरु गरिसकेको छ । यो विकल्प भनेको ‘ठूला दलहरु अब सच्चिने कि सक्किने ?’ भन्ने नै हो । अब पनि ठूला दलहरुमा वास्तविक जिम्मेवारीको बोध हुन सकेन र आफ्ना जिम्मेवारीहरु इमानदारिताका साथ पूरा गर्ने तत्परता देखाएनन वा कर्तव्य पूरा गरेनन् भने यो बीचमा जनताले काम नगर्ने र गर्न नसक्ने दलहरुलाई पक्कै सजाय दिनेछन् अर्थात् अस्वीकृत गर्नेछन् ।

आसन्न निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीलगायत केही नयाँ दलहरुको उदय भएको छ । उनीहरुको उदय उनीहरुले सम्पादन गरेका राम्रा जनमुखी कामहरुको कारणले गर्दा पक्कै होइन । वास्तवमा उनीहरुको उदय भनेको ठूला भनिने राजनीतिक दलहरुलाई साइजमा ल्याउनुपर्ने भन्ने नागरिकमा आएको चेतनाको परिणाम हो । यसो भन्दैमा नयाँ पार्टीहरुको सकारात्मक भूमिका नभएको नै भन्न सकिँदैन । तराईमा सिके राउतजस्ता हस्ती, शहरमा रवि लामिछानेजस्ता सशक्त पत्रकारले जनताको बुलन्द आवाजलाई आफ्नो आवाज बनाएर चह¥याइरहेको घाउमा जुन मलहम लगाउने कार्यहरु वर्षौंदेखि गरिरहेका थिए, त्यो अभियानले पनि जनताको मन तान्न सफल भएको थियो । अत हिजो आफूले जनताको घाउमा लगाएका मलहमलाई भोलिका दिनमा कुन रुपले उपचार गर्नेछन्, त्यो कुराले नयाँ राजनीतिक दलहरुप्रति जनताको धारणाको विकास हुनेछ । आज जुन विश्वास रविले पाएका छन्, त्यो विश्वासलाई दृढतापूर्वक समेट्न सक्ने क्षमता रवि लामिछाने अर्थात् राष्ट्रिय स्वतन्त्र पार्टीमा बाँकी रहेन भने जुन रफ्तारमा पलाएको छ त्यही रफ्तारमा सुकेर जानेछ । यो कुराको हेक्का नयाँ पार्टीहरुमा हुनै पर्दछ ।

पुराना राजनीतिक दलहरुमा ‘मेरो बाजेले घिउ खाए, मेरो हात सुँग्–सुँग्’ भन्ने प्रवृत्ति व्याप्त छ । उनीहरु भन्ने गर्दछन, ‘हामी लोकतन्त्रको लागि यति वर्ष जेल प¥यौं, यति वर्ष निर्वासनमा बस्यौं, यति वर्ष जंगलमा बसेर युद्ध ग¥यौं, यति म¥यौं, यति मा¥यौं ।’ यसैमा उनीहरुको घमण्ड छ । हिजो गरेका उनीहरुको त्याग र बलिदानको मूल्य नेपाली जनताले बारम्बार चुकाइसकेका छन् । हिजो एक छाक खान मुस्किल पर्ने नेताहरुलाई करोडपति बन्दा पनि नागरिकले उनीहरुले विगतमा गरेका योगदान सम्झेर काँधमा बोक्न छाडेका छैनन । आज ती नेताहरुलाई काँधमा बोक्दा–बोक्दा आफ्ना छोराछोरीहरु खाडीको कठिन भूमिमा कठोर मिहिनेत गरेर बाँच्न बाध्य भइरहेका छन । राज्यले कुनै जिम्मेवारीको बोध लिन सकिरहेको छैन । नेताहरुको कारण राज्य झन्–झन् कमजोर र निकम्बा बन्दै गइरहेको छ । यसकारण अब नागरिक वास्तवमा आफू नै सच्चिनुपर्ने बेला आएको छ । अब कुनै फोस्रा आस्थाको भ्रममा होइन वास्तविकताको विश्लेषण गरेर निर्णय गर्नुपर्ने अवस्थामा पुगेका छन् । अब पनि आफ्नो मतलाई केही पैसा, एक छाक मासु–भात र रक्सीमा बेच्न थाले भने मुलुकको अस्तित्व नै समाप्त भएर जानेछ ।

अब नागरिक कसैको बिकाउ पात्र हुनुहुँदैन । कुनै पार्टीको अन्धभक्त नै भएर खराबलाई साथ दिनुभएन । पार्टीगत व्यवस्था भएको कारण पार्टी चाहिन्छ तर पार्टीको अभियान, पार्टीको गुण र दोषको विश्लेषण गरेर आफ्नो विवेकको प्रयोग गरी वास्तविक नागरिकको भूमिका निर्वाह गर्न सक्नुपर्दछ । नागरिक आवेश र आवेगमा पनि आउनुृहुँदैन । केही गर्न सक्नेलाई साथ र केही गर्दै नगर्नेलाई बहिष्कार गर्न सक्ने हुनुपर्दछ । दलहरु सच्चिने वा सक्किने भन्ने कुरा आफ्नो ठाउँमा होला तर नागरिकले आफ्नो स्वाभिमान, आफ्नो वास्तविक कर्तव्य र जिम्मेवारीबोध गर्न सकेनन् भने वास्तवमा देश नै सकिन्छ । तसर्थ, मुलुक जोगाउने अभिभारा नेपाली जनताको हो, वास्तवमा अब सच्चिनुपर्ने नेपाली जनताले नै हो । नेपाली नागरिक नसच्चिने हो भने अन्त्यमा सकिने देश नै हो । यो पक्का हो कि, नागरिक सच्चिने पक्का भयो भने हाम्रा सम्पूर्ण राजनीतिक दलहरु पनि आफैं सच्चिनेछन्, सच्चिन नसक्नेहरु क्रमशः आफैं सक्किने नै छन् ।

(लेखक काफ्ले अधिवक्ता हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्