स्थानीयस्तरमा लगानीमैत्री वातावरणको पहल गरेका छौं



धार्मिक तथा पर्यटकीय महत्वको दुधपोखरी कुण्डको नामबाट लमजुङको दुधपोखरी गाउँपालिकाको नामाकरण गरिएको छ । २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह लागू गर्ने क्रममा लमजुङको साविकका दुधपोखरी, विचौर, इलम पोखरी, कोल्की र गौंडा गाविसलाई समेटेर दुधपोखरी गाउँपालिका बनाएको थियो । अहिले ६ वटा वडाहरु रहेको यस पालिकाको कुल जनसङ्ख्या १० हजार ९ सय ७५ रहेको छ । यसैक्रममा सेवा प्रवाह, विकास निर्माण, बजेट तथा योजना कार्यान्वयनको अवस्था लगायत समग्र विषयमा केन्द्रीत रहेर दुधपोखरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायसँग समाचारपत्रकर्मी खुशीमाया गुरुङले गरेको कुराकानीको सम्पादित अंश :

जनताको सरकार भनेर चिनिने स्थानीय तहको विकास निर्माण र सेवा प्रवाह कसरी अगाडि बढेको छ ?

स्थानीय तहमा विकास निर्माणको पहिलो द्वार नै स्थानीय सरकार हो । हाम्रो गाउँपालिकामा चालु आर्थिक वर्ष २०७९÷०८० को बजेट निर्माणसँगै र बजेट कार्यान्वयनका लागि बोलपत्र आह्वान, उपभोक्ता समितिद्वारा विकास निर्माणका कार्यहरु केही सञ्चालनमा रहेका छन् भने केही निर्माणाधीन आवस्थामा छ । सार्वजनिक सेवा प्रवाहको सम्बन्धमा गाउँपालिकाभित्र ६ वटा वडा कार्यालयहरुबाट दैनिक रुपमा प्रशासनिक कार्यहरु संञ्चालन भइरहेको छ । यसको साथै पालिकामार्फत विकास निर्माणका काममको अनुगमन भएको छ । स्थानीय सरकार जनताको सबै भन्दा नजिकको सरकार भएको हुँदा पालिकामार्फत आम नागरिकको समस्यालाई बुझेर काम गर्न र गुनासो सम्बोधन गर्न तथा नागरिकमैत्री योजना निर्माण र कार्यान्वयनसँगै सेवा प्रवाहका लागि हामीले उच्च प्राथमिकताका साथ काम गरिरहेका छौं ।

बजेट एवं नीति तथा कार्यक्रमको कार्यान्वयन गर्न के, कस्ता योजनाहरु बनाउनुभएको छ ?

बजेट निर्माणमा आर्थिक विकास तथा गरिवी निवारणमा प्रत्यक्ष योगदान पु¥याउने उत्पादन मूलक दीगो प्रतिफल प्राप्त हुने जीवनस्तर सुधार्न आम्दानी र रोजगारीमा वृद्धि हुने गरी स्थानीय स्रोत साधन र सिपको परिचालन गर्न महिला, बालबालिका, दलित, जनजाति, लैंङ्गिक समानता, सामाजिक समावेशीता अभिवृद्धिका लागि दीगो विकास, वातावरण संरक्षण, कला, भाषा, संस्कृतिकोपहिचान र संरक्षण जस्ता क्षेत्रमा बजेटद्वारा समेटिएका योजनालाई कार्यान्वयन गरिएको छ ।

यस पालिकालाई नमुनायोग्य बनाउन विशेष कुनै कार्यक्रम ल्याउनुभएको छ ?

हाम्रो गाउँपालिका जिल्ला सदरमुकामदेखि धेरै टाढा रहेको छ । यसको भौगोलिक बनावट पृथक खालको छ। सडक मार्गको व्यवस्थापन राम्रो भएमा स्वदेशी तथा विदेशी पर्यटकहरुको आगमन हुन सक्ने देखिन्छ । धार्मिक पर्यटकीय स्थलको रुपमा रहेको दुधपोखरी कुण्डको प्रचारप्रसार गर्न सकेमा पनि थप पर्यटकहरुको वृद्धि हुने देखिन्छ । आन्तरिक आयमा वृद्धि भएमा विकास निर्माणका कार्यहरु उलेख्य हुने सम्भावना देखेको छु ।

जनप्रतिनिधिहरु विकास निर्माण सेवा, प्रवाह र सुशासन स्थापित गराउन कत्तिको संवेदनशील भएको पाउनुभएको छ ? यस विषयमा प्रशासनिक नेतृत्वको हैसियतले उहाहरुसँग कसरी सहकार्य गरिरहनुभएको छ ?

निर्वाचित जनप्रतिनिधिहरु आफ्नो क्षेत्रमा विकास निर्माणका लागि खटिएको महसुस गरेको छु । योजनाहरुको स्थलगत अनुगमन गरेको र निर्देशन दिएको देखिन्छ । प्रशासनिक कार्य सम्पादनमा सेवाग्राहीलाई असुविधा नहोस् भन्न जनप्रतिनिधि र सेवाग्राहीको समन्वय भैरहेको छु । सामाजिक परीक्षण एवं सार्वजनिक सुनुवाई जस्ता कार्यक्रमको लागि पालिकाले बजेट विनियोजन गरेको देख्दा सुशासनप्रति जवाफदेही भएको पाइन्छ । मैले प्रशासनिक नेतृत्वको हैसियले जनप्रतिनिधिहरुसँग पालिकाको लागि आवश्यक नीति निर्माण गर्ने तथा बजेट र योजना कार्यान्वयनलगायत सबै कार्यमा समन्वय र सरसल्लाह लिएर काम गर्दै आइरहेको छु ।

जनप्रतिनिधिहरु र कर्मचारीहरुको सम्बन्ध कस्तो हुनुपर्छ जस्तो लाग्छ ?

जनप्रतिनिधिहरु र कर्मचारी नङ र मासुको सम्बन्ध हुन जरुरी छ । संविधान, स्थानीय सरकार संञ्चालन ऐन र कानुनहरुले दुवैबीच पारस्परिक सम्वन्धलाई पर्याप्त बनाएको छ । हाम्रो पालिकामा जनप्रतिनिधि र कर्मचारीहरु बीचको सम्बन्ध एकदमै राम्रो रहेको मैले देखेको छु । कर्मचारीको कार्य सम्पादनमा जनप्रतिनिधिको अनुशासन र बजेट एंवं कानुन कार्यावन्यनमा कर्मचारीहरु लगनशील हुनु कर्मचारीहरुले गर्दा यी दुवैबीच सवन्वय हुन जरुरी पनि छ ।

विकास निर्माणमा जनसहभागिता कस्तो पाउनुभएको छ ? जनसहभागिता जुटाउन के, कस्ता योजना र कार्यक्रम ल्याउनुभएको छ ?

हाम्रो गाउँपालिकामा उपभोक्ता समितिद्वारा पूर्वाधारतर्फका कार्यहरु भएका छन् । समितिबाट सम्पन्न हुने योजनाहरुमा १० प्रतिशत उपभोक्ता समितिको लागत समावेशी रहने गरेता पनि स्थानीय व्यक्तिहरु लागत समावेशीमा कार्य गर्न त्यति तत्पर रहेको देखिदैन र पनि कृषि, पशु सबै लघुउद्यम कार्यक्रममा भने उत्साहजनक देखिन्छ । दीर्घकालीन फाइदा हुने भन्दा तत्काल उपलब्धिमूलक कार्यहरुका लागि विकास निर्माणमा सहभागिता राम्रो देखिन्छ ।

तपार्इँको स्थानीय तहमा बेरुजु र सार्वजनिक खरिदको अवस्था के, कस्तो रहेको छ ? बेरुजु घटाउन कति सफल हुनुभएको छ ?

उपभोक्ताले उपभोग गर्ने र उनीहरुको कार्यकुशलताले सम्पन्न गर्न सकिने निर्माण कार्यहरुलाई उपभोक्ता समितिलाई तालिम दिई निर्माण सम्पन्न भएका छन भने ठूलो बजेट र उपभोक्ताबाट सम्पन्न गराउन नसकिने योजनाहरुलाई बोलपत्र आह्वान गरी तथा कोटेशन लिएर सिधै खरिद विधिबाट निर्माण कम्पनी मार्फत गर्ने गरिएको छ । यस कार्यालयबाट उपलब्ध जनशक्तिको सहयोगमा सम्पन्न गर्न नसकिने कार्यहरुलाई बोलपत्र आह्वान गरी तथा कोटेशन लिएर सिधै खरिद विधिबाट निर्माण कम्पनीहरुमार्फत गरिएको छ । कार्यालयमा उपलब्ध जनशक्तिबाट सम्पन्न गर्न नसकिने कार्यहरुको लागि सेवा, परामर्श खरिद गरिएको छ ।यस गाउँपालिकामा रहेको बेरुजुलाई पछ्यौट गर्नका लागि आवश्यक व्यवस्था गरी सम्बन्धित निकायलाई जानकारी समेत गराइएको छ भने अनियमित बेरुजुलाई स्थानीय लेखा समिति गठन गरी गाउँसभाबाट पारित गरेर नियमितताका लागि महालेखा परीक्षकको कार्यालयमा लेखेर पठाउने गरिएको छ ।

काम गर्दाका समस्याहरु के–के छन् ? साधन, स्रोत, जनशक्ति, विकास र प्रविधिको पहुँच कस्तो छ ?

पर्याप्त मात्रमा साधन र स्रोत यस गाउपालिकामा कमी रहेको छ । जिल्लाको दुर्गम स्थानमा रहेकोले दक्ष जनशक्तिलाई पालिकाले आकर्षण गर्न सकेको छैन र प्रविधिको पहुँच यस गाउपालिकामा उल्लेख्य उपलब्ध हुन सकेको छैन ।

स्थानीय तहले प्रदेश र केन्द्रीय सरकारसँग अन्तरसम्बन्ध कसरी स्थापित गरिरहेको छ ? प्रदेश सरकार र केन्द्रीय सरकारबाट आवश्यक सहयोग र समन्वय भएको पाइरहनुभएको छ की छैन ?

प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गर्नु अनिवार्य नै हो । विकास निर्माण लगायतको कार्यमा तिनै तहको सरकारको समन्वय राम्रो रहेको छ ।

यस पालिकाले भोग्नुपरका मुख्य समस्याहरु के–के छन् ? त्यसको समाधानका लागि के–कस्ता पहल गरिरहनुभएको छ ?

स्थानीय तहमा कर्मचारीको अभाव हुनु, उपभोक्ता जागरुकता नहुनु, दक्ष जनशक्तिको कमी हुनु नै स्थानीय तहको समस्याको रुपमा रहेका छन् ।

यस पालिकालाई देशभरमा चिनिने गरी केही विशेष योजना ल्याउने बारेमा सोच्नुभएको छ ? साथै यहाँ धार्मिक, पर्यटकीय तथा सांस्कृतिक महत्वका कुनै क्षेत्रहरु छन् ?

दुधपोखरी गाउँपालिकामा धार्मिक क्षेत्रहरु धेरै रहेका छन् । धार्मिक, साँस्कृतिक क्षेत्रको संरक्षण गर्नका लागि दुधपोखरी कुण्ड पदमार्गको डिपीआर गरिसकिएको छ । पदमार्ग निर्माणमा गाउँपालिकाबाट आवश्यक कार्यसंञ्चालन गर्न लागिएको छ ।

संघीय शासन व्यवस्था सफलताकालागि स्थानीय तहको भूमिका कस्तो हुनुपर्छ ?

शासन व्यवस्था सफल पार्नका लागि सबै तहको सरकारको अहम् भूमिका रहन्छ । स्थानीय तहबाट सम्भावित कार्यहरुले गर्दा जनतालाई राहत पु¥याउने खण्डमा शासन व्यवस्थामा भरोसायोग्य भएमा सफलता मिल्न देखिन्छ भने व्याप्त भ्रष्टाचार लगायतका कामलाई दुरुत्साहन गरी सुशासन कायम गर्न सकेसम्म शासन व्यवस्था राम्रो हुन्छ । यसका लागि स्थानीय तहले वडा कार्यालय, स्थानीय टोल विकास समिति लगायतका सामाजिक संघसंस्थाहरुमा आफ्नो शासन व्यवस्थालाई सरल र पारदर्शिता बनाउन जरुरी छ ।

स्थानीय तहको आयस्रोत वृद्धि गर्नका लागि के–के गरिरहनुभएको छ ?

स्थानीयस्तरमा सार्वजनिक, निजी र सरकारी क्षेत्रको भूमिकालाई अझ प्रभावकारी बनाउनु साथै स्थानीयस्तरमा नै लगानीमैत्री वातावरण कायम गरी थप लगानीका स्रोतहरु भित्र्याउने वातावरण सिर्जना गर्न आवश्यक पहल गरिएको छ । होमस्टे कार्यक्रमलाई विस्तार गरी सञ्चालकलाई आवश्यक तालिम दिएर गुणस्तरीय होमस्टे कार्यक्रम सञ्चालन गरिएको छ । पर्यटकीय विकासको संभावनालाई मध्यनजर गर्दै यस क्षेत्रमा होमस्टे सञ्चालन पर्यटकीय पदमार्ग, पिकनिक स्पोर्ट निर्माणमार्फत पर्यटकीय स्थलहरुको प्रचारप्रसारलाई अगाडि बढाइएको छ । स्थानीयलाई आत्मनिर्भर बनाउन र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नका लागि राडीपाखी बनाउने तालिम सञ्चालन गरिएको छ ।

अन्त्यमा, केही भन्नुपर्ने छ की ?

सर्वसाधारण, नागरिक माझ अत्यन्त लोकप्रिय बनेको नेपाल समाचारपत्र राष्ट्रिय दैनिक पत्रिकामार्फत आम नागरिकलाई म के भन्न चाहन्छु भने स्थानीय जनताहरुको प्रत्यक्ष समस्याहरुको समाधन गर्न हामी कर्मचारीहरु नागरिकप्रति जवाफदेही र जिम्मेवार बनेका छौं । नागरिकहरुले पनि हामीलाई रचनात्मक सल्लाह, सुझाव दिनुहुने छ भन्ने अपेक्षा गर्दछु । अन्तमा, आफ्नो विचार तथा भावनाहरु राख्ने अवसर दिनुभएकोमा यहाँ र यहाँको पत्रिकालाई धेरैधेरै धन्यवाद दिन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्