निजी विद्यालयका बस सञ्चालनमा रोक, विद्यार्थीहरूलाई सास्ती



स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–२ मा रहेको शिवालय मावि बन्द हुने अवस्थामा पुगेपछि उक्त क्षेत्र आसपासका निजी विद्यालय बसमा प्रतिबन्ध लगाइएको छ ।

शैक्षिकसत्र शुरु भएपछि नै सिर्जना भएको विवाद कायमै रहँदा विद्यार्थीहरुले सास्ती बेहोर्नु परेको हो । निजी विद्यालयमा पढाइरहेका अभिभावकले निजी विद्यालयमै पढाउन पाउनुपर्ने भन्दै आफ्ना छोराछोरीलाई सार्वजनिक सवारीसाधनमा विद्यालयमा पठाउन थालेका छन् ।

केही क्षेत्रका स्थानीयहरुले निजी विद्यालयका कारण सरकारी स्कुल बन्द हुने अवस्थामा पुगेको भन्दै निजी विद्यालयका सवारीसाधनमा रोक लगाएका छन् ।

गल्याङ नगरपालिका–२ को वडाकार्यालयले पनि शिवालय मावि आसपासमा निजी विद्यालयका बस सञ्चालन नगर्न अनुरोध गरेको पत्र सार्वजनिक गरेको छ । निजी विद्यालयका सञ्चालक र निजी विद्यालयमा छोराछोरी पढाउने अभिभावक यसरी बस रोक्नु गैरजिम्मेवारी भएको तर्क गरेका छन् । अर्का थरिले निजी विद्यालयका कारण सरकारी विद्यालय बन्द हुने अवस्थामा पुगेको भन्दै निजी स्कुलको बस रोक्ने तर्क जायज भएको बताएका छन् ।

देशमा गणतन्त्र आयो भन्छन् तर यहाँ हाम्रा छोराछोरीलाई पढ्न समेत रोक लगाइएको छ । चिराग आवासीय माविमा अभिभावक तिलप्रसाद थापाको भनाइ छ । उहाँले भन्नुभयो, “इलुङाबाट करिब १०÷१२ जना विद्यार्थी गल्याङको चिराग आवासीय माध्यमिक बिद्यालय पढ्न जाने गरेका छन् । यो निर्णयले विद्यार्थीको मानसिकतामा समेत असार परेको छ ।”

विद्यार्थी रोक्न यस्तो निर्णय गर्नभन्दा विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न आफ्नै वडालाई उहाँको सुझाव छ । त्यस्तै जैपतेदेखि छोराछोरी पढ्न गल्याङ पठाउँदै आएका अभिभावक ज्ञानु थापाको पनि यहीँ सुझाव छ ।

उहाँले भन्नुभयो, “विद्यार्थी यहीँ सरकारी विद्यालयमा पढाउनु पर्छ भन्ने निर्णयमा मेरो मात्रै होइन, सबै अभिभावकको असहमति छ ।” विद्यालयको गाडी रोक लगाएपछि आफ्ना छोराछोरी सार्वजनिक सवारीसाधनमा स्कुल पठाएको उहाँले गुनासो गर्नुभयो । “शिक्षाको गुणस्तर सुधार तिर ध्यान दिनुस् हामी विद्यार्थी लिएर आफै आउछौ ।” अभिभावक रानाको सुझाव छ ।

निजी विद्यालयका सवारीसाधनमा रोक लगाउने कार्य गैरजिम्मेवारी भएको गल्याङ नगरपालिका शिक्षा शाखा प्रमुख केदार आचार्यको भनाइ छ ।

उहाँले भन्नुभयो, “हामीले निजी विद्यालयका बस रोक्नु हुँदैन भनेका छौँ ।” सरकारी विद्यालयले शिक्षाको गुणस्तर वृद्धि गर्न ध्यान दिनुको साटो निजी विद्यालयका बस रोक्ने कार्य गैरजिम्मेवारी भएको प्याब्सन स्याङ्जाका अध्यक्ष मेघराज गैरेको भनाइ छ ।

उहाँका अनुसार समस्या समाधानको लागि स्थानीय तहमै पहल गर्ने र स्थानीय तहबाट समस्या समाधान हुन नसके थप कानुनी प्रक्रियामा अगाडि बढ्ने बुझिन्छ ।

उहाँले भन्नुभयो, “यो विवाद स्थानीय तहबाटै समाधान हुनुपर्छ भन्ने मान्यतामा थियौं, तर समाधान हुन नसकेकाले कानुनी प्रक्रियामा अगाडि बढेका छौं ।”

प्याब्सनले यस विषयलाई लिएर सहज रुपमा विद्यालय बस सञ्चालनको माग गर्दै जिल्ला प्रशासनमा उजुरी दिएको छ । प्रशासनले हालसम्म पनि यस विषयको छिनोफानो नगर्दा विद्यार्थी अन्योलमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्