–बालाजुको कोतः धुकु आयल स्टोरमा सिलबन्दी
काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्ड नपुगेका १६ वटा पेट्रोल पम्प हटाउने तयारी गरेको छ । नेपाल आयल निगमले कामपालाई उपलब्ध गराएको तथ्याङ्कअनुसार ती पेट्रोल पम्प हटाउने तयारी गरेको हो । कामपाले पामदण्ड पुरा नगरेका पम्पको नाम गोप्य राखेको छ । यद्यपि, कामपाले मापदण्ड नपुगेका पम्प सञ्चालकलाई सो बारेमा केही महिना अघि नै जानकारी भइसकेको दाबी गरेको छ ।
कामपाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले शुरूमा ती पम्पलाई हटाउन आग्रह गरिने र नमाने कामपाले आफैं हटाउने बताउनुभयो ।
हाल उपत्यकाभित्र १ सय २३ पेट्रोल पम्प छन् भने काठमाडौं महानगरभित्र मात्रै ६६ वटा रहेका छन् । तीमध्ये ५१ वटाले मात्र मापदण्ड पूरा गरेको कामपाको भनाइ छ । कामपाले हिजो बिहीबार बालाजु पुलसँगै मापदण्डविपरीत घरको सटरबाट सञ्चालन भइरहेको कोतः धुकु आयल स्टोरमा सिलबन्दी गरेको थियो ।
कापमाका मेयर बालेन्द्र साहको नांै दिनअघि अर्थात वैशाख ६ गतेको निर्णयबाट सिलबन्दी गरेको हो । कामपामा प्रहरी प्रमुख पाण्डेले पटकपटक आग्रह गर्दा अटेर गरेपछि बाध्य भएर बन्द गरेको जिकिर गर्दै भन्नुभयो– ‘स्थानीयको दर्जनौं उजुरी आएको थियो । पम्प घरको सटरबाट सञ्चालनमा थियो । यसलाई जाली र फलामे साङ्लोले बेरेर लगाइएको तालामा शीलबन्दी गरेका छौं ।’ उहाँले नेपाल अनुसारको मापदण्ड नपुगेका कारण तत्काल स्थानान्तरण गर्नुपर्ने १६ वटा पम्पको सूचीमा परेको यो पम्पका कारण सवारी साधन तथा पैदल यात्रुको आवागमनमा समस्या परेको र ट्राफिक व्यवस्थापनलाई असहज बनाएको बताउनुभयो ।
पेट्रोलियम पदार्थको बिक्री क्षेत्र, बिक्रीस्थलको क्षेत्रफल तथा बिक्री स्थलमा उपलब्ध हुने पूर्वाधारको आधारमा विक्रेताको मापदण्ड तोकिएको छ ।
पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने पम्प राख्न तराई र भित्री मधेसबाहेकका क्षेत्रमा १ विगाहा (१३ रोपनी) र पहाडी क्षेत्र तथा हिमाली क्षेत्रमा ५ रोपनी जग्गा हुनुपर्छ । राजमार्ग वा अन्य सडकबाट करिब ५ सय मिटर भित्रको जग्गामा बिक्री स्थल निर्माण गर्दा १० मिटरको पहुँच मार्ग आवश्यक पर्छ ।
बिक्री स्थलको ड्राइभ वे, पम्पयार्ड, सार्वजनिक सडक सीमादेखि पम्पयार्डसम्म जाने सडक कालोपत्र वा कङ्क्रिट ढलान भएको, ढुङ्गा छापेको, सिमेन्ट जोडाइ भएको वा सिमेन्टबाट बनेको इन्टरलकिङ्ग टायलबाट बनेको हुनुपर्छ । बिक्री स्थलको कम्पाउन्डभित्र एप्रोच रोड, ट्याङ्क फार्म, बिक्री कक्ष, पार्किङ्ग एरियाबाहेक सवारी साधन आवतजावतमा बाधा नपर्ने गरी हरियाली कायम गरेको हुनुपर्ने व्यवस्था छ ।
बिक्री स्थल क्षेत्रको तीनतर्फ कम्तीमा ३ फिट र बढीमा ५ फिटसम्म उचाइ भएको पक्की पर्खाल वा सिमेन्ट पिलरमा काँडेतार लगाएको हुनुपर्छ । रिफ्युलिङ्ग एरिया ढाक्ने गरी कम्तीमा १२–१२ मिटरको क्यानोपी हुनुपर्छ । बिक्री स्थलमा पुरुषको हकमा न्यूनतम २ वटा ट्वाइलेटसहितको ६ वटा युरिनल र महिलाको हकमा न्यूनतम ४ वटा ट्वाइलेट र अपाङ्गमैत्री १ वटा ट्वाइलेटको व्यवस्था हुनुपर्छ । पावर व्याकअपको व्यवस्था हुनुपर्छ । कार्यालय र बिक्री कक्षमा स्वस्थ्यकर पिउने पानी वा ट्युबेल व्यवस्था हुनुपर्छ ।
बिजुलीको तार कन्सिल वायरिङ्ग भएको हुनुपर्छ । बिक्री स्थल कम्पाउन्डभित्र पानी निकासको लागि उचित ड्रेनेजको व्यवस्था हुनुपर्छ । नयाँ डिस्पेन्सिङ्ग पम्प जडान गर्नुपर्छ । पम्प परिसरमा पेट्रोलियम पदार्थ सञ्चय गर्दा एउटै पेट्रोलियम पदार्थको एउटा मात्र स्टोरेज ट्याङ्क भएमा १ वा १ भन्दा बढी डिस्पेन्सिङ्ग पम्पसँग कनेक्सन जोड्ने व्यवस्था हुनुपर्छ ।
एउटै पेट्रोलियम पदार्थको स्टोरेज ट्याङ्की एउटाभन्दा बढी भएमा छुट्टाछुट्टै डिस्पेन्सिङ्ग पम्पसँग कनेक्सन भएको हुनुपर्छ । एकै किसिमको पेट्रोलियम पदार्थको सञ्चय गर्दा ट््याङ्कीहरू बिच इन्टरकनेक्सन जोड्न नसकिने व्यवस्था हुनुपर्छ ।
बिक्री स्थलको कम्पाउन्डभित्र अग्नि सुरक्षाका लागि प्रणाली हुनुपर्छ । यससँगै बिक्री स्थलमा रहेको अन्डरग्राउन्ड भण्डारण, यसको क्षमता र संख्या, पाइप लाइन र फिटिङ्सको नक्साङ्कन, पेट्रोलियम पदार्थको मौज्दात विवरण सर्वसाधारणले देख्ने गरी बिक्री स्थलमा राख्नुपर्छ ।
काठमाडौं र ललितपुर महानगरपालिकाभित्र ७ सय ५० वर्ग मिटर वा १ रोपनी ८ आना जग्गाको क्षेत्रफल भए पम्प सञ्चालन गर्न पाइने व्यवस्था छ । सडकतर्फको मोहडा कम्तीमा २० मिटर हुनुपर्छ । पेट्रोल पम्पले भौतिक पूर्वाधारसहित बिक्रीस्थलको मापदण्ड पूरा भएको हुनुपर्छ । सवारी साधन पार्किङ्गको सुविधा, शौचालय, प्राथमिक उपचार, अग्नि सुरक्षालगायतका प्रणाली अनिवार्य छन् ।
उपत्यकाको हकमा सो पम्पले कुनै पनि मापदण्ड पूरा नगरेको कारण सिलबन्दी गरेको नगरप्रहरीको भनाइ छ । कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेले भन्नुभयो– ‘केही समय पर्खन्छौं, मापदण्ड पूरा नभएका पम्पलाई केही समय दिएर पत्राचार गर्नेछांै,त्यस पछि पनि मापदण्ड पूरा नगरे सिलबन्दी गर्नेछौं ।’











प्रतिक्रिया