कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माण हाम्रो प्राथमिकतामा : गाउँपालिका अध्यक्ष शिवाकोटी



अर्जुनप्रसाद शिवाकोटी
अध्यक्ष
कालिञ्चोक गाउँपालिका, दोलखा

दोलखाको दुई नगरपालिका र सात गाउँपालिकामध्यको कालिञ्चोक गाउँपालिका कृषि, पर्यटन, जलस्रोत र जडीबुटीको हिसाबले निक्कै महत्वपूर्ण मानिन्छ । यो पालिकाको नेतृत्व गरिरहेका छन् सामाजिक अभियन्ता एवं नेपाली कांग्रेस दोलखाका उपसभापति अर्जुनप्रसाद शिवाकोटीले । दोलखाको तत्कालीन सुनखानी गाविसमा २०२८ सालमा जन्मिएका उहाँले विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध भई २०३८ सालबाट राजनीति शुरू गर्नुभएको थियो । प्रस्तुत छ, शिवाकाटीसँग जिल्ला संवाददाता चिरञ्जीवी मास्केले पालिका केन्द्रित भई गरेका कुराकानीको सम्पादित अंश :

कालिञ्चोकले कुन क्षेत्रलाई बढी प्राथमिकता दिएको छ ?

स्वास्थ्य, शिक्षा र भौतिक विकासको हिसाबले सम्पन्न पालिका निर्माणका लागि हामीले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेका छौं । पालिकाले कृषि क्षेत्रको सुधारका लागि पशुपालनतर्फ १ करोड रुपियाँ छुट्याएर सामूहिक अनुदानको नीति लिएको छ । त्यसै गरी बीउ बिजन, रैथाने खेतीको प्रवद्र्धन, किबी, अकबरे खुर्सानी, जडीबुटी र सुन्तला खेतीको लागि पकेट क्षेत्र निर्धारण गरेर कृषि समूहलाई अनुदान दिने काम गरिरहेको छ ।

शैक्षिक, स्वास्थ्य र विकास निर्माणको क्षेत्र सुधार गर्न कस्तो नीति अपनाउनुभएको छ ?

शैक्षिक सुधारका लागि पालिकाभित्रका विद्यालयमा विद्यार्थी संख्यालाई आधार मानी आवश्यक दरबन्दीको व्यवस्था, विद्यालय मर्च गर्ने र आवश्यक ठाउँमा भौतिक निर्माणमा समेत सहयोग गर्दै आएको छ । त्यसै गरी, स्वास्थ्य क्षेत्र सुधारका लागि बर्थिङ सेन्टरको व्यवस्थापन तथा आवश्यक औषधिको व्यवस्था गर्दै आएको छ । भौतिक पूर्वाधारतर्फ पालिकाको नौवटै वडा कार्यालय जोड्ने सडक निर्माण र मुख्य–मुख्य सडकलाई आरसीसी ढलान गर्ने काम अगाडि बढाइएको छ ।

यहाँको पर्यटनका अवस्थाचाहिँ कस्तो छ ?

कालिञ्चोकमा कृषिपछि मुख्य प्राथमिकतामा परेको क्षेत्र भनेको पर्यटन नै हो । यो पालिकामा प्रसिद्ध कालिञ्चोक भगवती मन्दिर, सुन्द्रावती भगवती तथा कुण्ड, चौघरा, जल्पाश्वरी महादेव थान, संस्कृतग्राम जस्ता धार्मिक, पर्यटकीय, अध्यात्मिक केन्द्र रहेका छन् । हाम्रो पालिका हुँदै निजी क्षेत्रको लगानीमा पहिलोपटक निर्माण सम्पन्न भएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना तथा नेपाल, भारत र चीन जोड्ने अन्तरदेशीय महत्वको सडक अघि बढेको छ । हामी पालिकाभित्र रहेका धार्मिक, प्राकृतिक, सांस्कृतिक एवं रणनीतिक महत्वका स्थानहरुको विकास, प्रचार–प्रसार र प्रवद्र्धनका लागि अत्यन्त महत्वका साथ काम गरिरहेका छांै ।

पर्यटन प्रवद्र्धन गर्न पालिकाको बजेटले मात्र सकिन्छ ?

रणनीतिक महत्वका ठूल्ठूला कामहरु गर्न र पर्यटन प्रवद्र्धन गर्न पालिकाको बजेटमात्र पर्याप्त हुँदैन । यसका लागि प्रदेश तथा संघीय सरकारले समेत आवश्यक पहल गर्नु जरुरी रहेको छ । त्यसका लागि हामीले पालिकाको तर्फबाट आवश्यक समन्वय गरिरहेका छांै ।

मुलुक संघीय संरचनामा गएपछि घर–घरमै सिंहदरबार पुग्छ भनेर प्रचार गरियो । तर, आम रूपमा जनताले त्यस्तो महसुस गर्न नसकेको गुनासो गरिरहेका छन् । तपाईंको पालिकामा यस्तो गुनासो सुनिने गरेको छ कि छैन ?

आम रूपमा भन्ने हो भने मुलुक संघीय संरचनामा गएपछि जनताले वडा तहबाटै लगभग सबैखाले सुविधा पाएका छन् । कालिञ्चोक गाउँपालिकाका नागरिक सन्तुष्ट नै देखिएको छ । किनभने, हामीले विकास निर्माणको काममा जनतालाई प्रत्यक्ष जोडेका छांै । जनताका हरेक काम सकेसम्म वडा तहबाटै समाधान गरेका छौं । तैपनि जनताका सबै अपेक्षा पूरा गर्न सकिएको छैन । जसका कारण संघीयताप्रतिको गुनासो फाट्टफुट्ट सुनिने गरेको छ ।

जनताको गुनासा समाधान गर्न के कुराले छेकेको छ ?

अहिले सरकारको कूल बजेटमा पालिकाहरुले पाउने बजेट भनेको मुस्किलले ११ प्रतिशत रहेको छ । त्यसलाई बढाएर कम्तीमा पनि ३० प्रतिशतसम्म पु¥याउनुपर्छ । त्यति गर्न सकियो भने जनताको अपेक्षा अनुसार पालिकाहरुले काम गर्न निक्कै सहज हुन्छ । त्यसै गरी, अहिले पालिकाहरुमा कर्मचारीको संख्या अत्यन्त कम छ । अहिले स्वास्थ्य, कृषि, भेटेनरीका कर्मचारीलाई वडा सचिवका रूपमा काम लगाउनु परिरहेको छ । जसले उल्लेखित क्षेत्रहरु प्रभावित भएका छन् । त्यसैले आवश्यक दरबन्दी थप गर्ने र दरबन्दी अनुसारको कर्मचारी पठाउने कुरामा संघ तथा प्रदेश सरकारले चासो दिनुपर्छ । र, अर्को महत्वपूर्ण कुरा भनेको वडा तहलाई नै बजेट सहितको अधिकार दिएर कम्तीमा नासुस्तरको कर्मचारी दरबन्दी व्यवस्था गर्न सकियो भने जनताले व्यावहारिक रूपमै सिंहदरबार घर–घरमा पुगेको अनुभूति गर्न सक्नेछन् ।

पालिकाले विकास बजेट खर्च गर्न नसकेको र असार मसान्तको अन्त्यमा आएर हतार–हतार गुणस्तरहीन काम गर्ने गरेको गुनासो सुनिन्छ नि ?

कालिञ्चोकमा त्यस्तो समस्या छैन । हामीले ९०÷९५ प्रतिशतसम्म बजेट खर्च गरेका छौं । कर्मचारी संख्या पूरा हुने हो भने हामी प्राप्त बजेट शतप्रतिशत खर्च गर्न सक्छौं । जहाँसम्म आर्थिक वर्षको अन्त्यमा काम हुने भन्ने कुरा छ, त्यो हाम्रो पालिकामा भएको छैन । हामीले समयमै योजना सम्झौता, अनुगमन र रकम फछ्र्यौट गरेका छौं ।

कालिञ्चोक प्राकृतिक प्रकोपका हिसाबले निक्कै जोखिममा रहेको मानिन्छ । बाढी–पहिरो नियन्त्रणका लागि पालिकाले के काम गरिरहेको छ ?

निश्चय नै हाम्रो पालिका प्राकृतिक प्रकोपका हिसाबले जोखिममै रहेको छ । यसका लागि हामीले पहिरो नियन्त्रणका काम, जनचेतनामूलक अभियान सञ्चालन गरिरहेका छौं । तर, पहिरो नियन्त्रण लगायतका कामका लागि निक्कै ठूलो बजेट आवश्यक पर्ने भएकाले त्यसमा आवश्यक सहयोग गर्न प्रदेश र संघीय सरकारलाई आग्रह गरेका छौं । पालिकाको तर्फबाट जोखिमका स्थान पहिचान गरी पालिकाले गर्नसक्ने काम आफैं गर्ने र पालिकाले गर्न नसक्ने कामका लागि संघ तथा प्रदेश सरकारलाई अनुरोध गर्ने गरेका छौं ।

प्रतिक्रिया दिनुहोस्