अस्पतालामा नयाँ-नयाँ प्रविधि भित्र्याएका छौं



नारायण दाहाल
प्रबन्धक
काठमाडौं मेडिकल कलेज (केएमसी)

काठमाडौं मेडिकल कलेज (केएमसी) लाई नेपाल सरकारले ७ सय ५० बेडको स्वीकृति दिएको छ । यो कलेजमा एमबीबीएस, बीडीएस, नर्सिङका कार्यक्रमहरू, एमडी, एमएस, डीएमलगायतका शैक्षिक कार्यक्रमका साथै स्वास्थ्य सेवा दिँदै आएको काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालका प्रबन्धक नारायण दाहालसँग नेपाल समाचारपत्रका लागि भगवती तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश:
नयाँ व्यवस्थापन आएपछि केएमसी मेडिकल कलेज अस्पतालमा पहिलाभन्दा अहिले के फरक छ ?

काठमाडौं मेडिकल कलेजको व्यवस्थापन साढे २ वर्षअघि परिवर्तन भई डा.सुनिल शर्मा न्यौपानेको नेतृत्वमा सञ्चालनमा आएपछि नयाँ प्रविधिहरूको विकास गरेका छौं । डा. सुनिल शर्मा पहिला अध्यक्ष हुनुहुन्थ्यो हाल सभासद् हुनुहुन्छ ।

कस्ता कस्ता प्रविधि छन् ?

नयाँ नयाँ प्रविधिमध्ये रोबर्ट सर्जरी सेवा, रोबटको माध्यमबाट टाउकोभित्रको रोगलाई निकालेर फाल्ने प्रविधि नेपालमा पहिलोपटक काठमाडौं मेडिकल कलेजमा भित्र्याएका छौं । यो प्रविधि अमेरिकामा शुरू भएको दुई महिनापछि काठमाडाैं मेडिकल कलेजले नेपालमा भित्र्यायो । त्यसै गरी परिपक्व नभई ७ महिनामा नै जन्मेका बच्चाहरूलाई आमाको गर्भमा रहँदा प्राप्त हुने तापक्रमजस्तै न्यानो दिने मेसिन भित्र्याएका छाैं ।

यसले बच्चालाई आमाको गर्भमा जस्तै तापक्रम पुग्छ र परिपक्व हुन र अकाल मृत्युबाट बचाउन मद्दत गर्छ । यसबाहेक काठमाडाैं मेडिकल कलेजमा विगतमा नभएका सेवाहरूमा लेटेस प्रविधियुक्त मुटुरोगको क्याथल्याब सेवा ओपन हार्ट सर्जरीबाहेकका सेवा सञ्चालनमा ल्याएका छौं ।

त्यसै गरी मिर्गौला प्रत्यारोपण सेवा पनि १० बेडबाट शुरू गरेका छौं । यहाँ डायलासिसका साथै २ जनाको मिर्गाैला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरिसक्यांै । त्यसै गरी नेपाल सरकारसँगको सहकार्यमा आमा सुरक्षा कार्यक्रम पनि छ । आमा सुरक्षा कार्यक्रम लागुभएका अस्पतालमा सुत्केरी गराउँदा, शल्यक्रिया नै गर्नुपरे पनि शुल्क लाग्दैन र केएमसीमा पनि लागू गरेका छौं । यहाँ लेटेस्ट मोडलको सीटीस्क्यान भित्र्याएका छौं । तत्कालै एमआरआई पनि ल्याउँदै छौं र एक महिनाभित्र सञ्चालनमा ल्याउने लक्ष्य छ ।

आगामी दिनका नयाँ योजना के छन् ?

आगामी दिनमा कलेजो प्रत्यारोपण स्वीकृतका लागि नेपाल सरकारसँग प्रस्तावना पेस गरेका छौं । सरकारको स्वीकृति पाउनासाथै कलेजो प्रत्यारोपण शुरू गर्छौं । नेपाल सरकारको विपन्न नागरिक सेवासम्बन्धी कार्यक्रम पनि लागु गर्न सम्बन्धित मन्त्रालयसँग स्वीकृतिका लागि पत्राचार गरेका छौं । काठमाडौं मेडिकल कलेजले नेपाल सरकारका योजनालाई सफल बनाउँदै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने नेपालको संविधानमा व्यवस्था भएअनुरूप अघि बढ्नेछौं ।

केएमसी मेडिकल कलेजमा कुन कुन तहका चिकित्सक, स्वास्थ्यकर्मीले सेवा प्रदान गर्नुहुन्छ ?

यहाँ एमडी मात्र हैन डीएम, एमसीएच गरेका डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू सञ्चालनमा ल्याएका छौं । जनस्वास्थ्यमा नागरिकको सर्वसुलभ पहुँच हुनुपर्ने व्यवस्था कानुनमै उल्लेख भएको र आवश्यकताअनुसार सर्वसुलभ बनाउने उद्देश्यले सम्पूर्ण सेवासहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छौं । वागमती प्रदेश पहिलो प्राथमिकतामा राखेर यो कार्यक्रम लागु गरेका छौं ।

यसका अलावा भर्खरै रसुवा, अछाम, कालिकोट, खोटाङमा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन ग¥यौं । हाम्रो लक्ष्य र उद्देश्य भनेको जहाँ विपन्न र स्वास्थ्य सेवाबाट बञ्चित बिरामी छन् त्यहि पुगेर उनीहरूलाई स्वास्थ्य सेवा प्रदान गर्ने हो । यही उद्देश्यले स्वास्थ्य शिविरमा सबै विभागका विशेषज्ञ डाक्टर, नर्स, स्वास्थ्यकर्मीहरूले बिरामी जाच्नुहुन्छ । शिविरमा ईसीजी, भिडियो एक्सरे, सबै प्रकारका ल्याब परीक्षण सेवा फिल्डमै निःशुल्क रूपमा गरेर रिपोर्ट तत्काल दिन्छौं । स्वास्थ्य शिविरमा परीक्षण गर्दा शल्यक्रिया गर्नुपर्ने बिरामी भएमा उहाँहरूलाई केएमसीमा आउनुभयो भने ५० प्रतिशतसम्म छुटमा शल्यक्रिया गरेर पठाउँदै आएका छौं ।

स्वास्थ्य सेवा महँगो भयो भनिरहँदा केएमसीले निःशुल्क स्वास्थ्य शिविर, छुटमा उपचार गरेको सुनाउनुभयो । अहिलेसम्म कति जनाको निःशुल्क उपचार गर्नुभयो ?

दश हजारभन्दा बढी बिरामीले काठमाडांै मेडिकल कलेजले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट सेवा लिएका छन् । एउटा शिविरमा बास बस्नुपर्दा डेढदेखि २ लाख रुपियाँ खर्च हुन्छ । शिविरमा स्वास्थ्य परीक्षण, ल्याब सेवा गर्दा एक जना बिरामीलाई सरदर १५ सय रुपैया बराबरको निःशुल्क त्यो पनि एकैदिनमा विशेषज्ञ सेवा पाउने गरी उपचार हुन्छ ।
निःशुल्क स्वास्थ्य शिविर कस्तो खालको हुन्छ ? हालसम्म कतिलाई सेवा दिनुभयो ?

झण्डै ३० जनाको स्वास्थ्यकर्मी टोली रहने सो शिविर सानोतिनो अस्पतालजस्तै हुन्छ । शिविरमा कति त अस्पताल र डाक्टर नै नदेखेका वर्षौंदेखि रोग पालेर बसेका बिरामीसमेत सेवा लिन आउँछन् । दुई वर्षमा ७५ देखि ८० वटा निःशुल्क स्वास्थ्य शिविर गरिसक्यौं । पछिल्लो समय हप्ताको ४ देखि ५ वटासम्म स्वास्थ्य शिविर गर्नुपर्ने गरी चाप बढेको छ । केएमसीले काठमाडौं उपत्यका मात्र नभई देशका विभिन्न ठाउँमा शिविर गर्दै आएको छ ।

स्वास्थ्य शिविरमा विशेष गरी कस्ता कस्ता समस्या भएका बिरामी बढी पाइए ?
पहाडी भेगका महिलामा बढी पाठेघर (आङ) खस्ने समस्या भएको पाइयो । यस्ता समस्या भएका महिलाहरू आर्थिक अवस्था कमजोर हुनुका साथै पारिवारिक, सामाजिक डरले पनि समस्या लुकाएर बस्न बाध्य भएको पाइयो । सबैभन्दा धेरै आँखाका बिरामी पाइएका छन् । त्यसै गरी फोहोर पानीका कारण छालाका रोग लागेका बिरामी, नाक, कान, घाँटीका बिरामी छन् ।

केएमसीले यति खर्चिलो निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने आर्थिक स्रोत कसरी व्यवस्थापन गर्छ ?

अहिले अस्पताल व्यवस्थापनबाट यो काम गरिरहेका छौं । पूर्वअध्यक्ष तथा सभासद् सुनिल शर्माको उद्देश्य पैसा कमाउने मात्र नभई सामाजिक क्षेत्रमा पनि केही योगदान गर्नुपर्छ भन्ने भएकै कारण निःशुल्क स्वास्थ्य शिविरलाई निरन्तर रूपमा सञ्चालनमा ल्याउँछाैं ।

निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर अस्पताल, राज्य र नागरिकलाई के फाइदा हुन्छ ?

यस्तो शिविरका कारण उपचारबाट बञ्चित भएका नागरिकलाई घरदैलोमै सेवा पुग्छ । यो काम स्वास्थ्य उपचारका क्षेत्रमा महत्वपूर्ण योगदान हो ।

यो नेपाल सरकारले गर्नुपर्ने काम केएमसीले सरकार, देश र नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले गरिरहेको छ । यसलाई हामीले सामाजिक उत्तरदायित्व सम्झेर स्वास्थ्य सेवाका साथ जनचेतना जगाउने उद्देश्यले यो कार्यक्रमलाई निरन्तरता दिने अठोट लिएका छौं । यसबाट राज्य र जनता दुवैलाई फाइदा पुगेको छ ।

समन्वयात्मक रूपमा स्थानीय तहमा जाँदाको सकारात्मक पक्ष के पाउनुभयो ?

केएमसीले गाउँ घरमै आएर स्वास्थ्य सेवा दिनुभयो भनेर बिरामीले गर्ने प्रशंसा, स्वास्थ्य सचेतना, सद्भाव र बिरामीले समयमै उपचार पाउनु नै सकारात्मक पक्ष हो ।

प्रतिक्रिया दिनुहोस्