नौ वैशाखमा नौ महिलाद्वारा नौ पुस्तक विमोचन

सुनको चुरा बेचेर किताब छापे : बेदकुमारी



काभ्रे। 

साहित्यकार बेदकुमारी न्यौपानेद्वारा लिखित नौ पुस्तक नौ वैशाखमा नौ जना महिलाहरुबाट एकसाथ विमोचन गरियो । विमोचनका लागि तयार पारिएको पुस्तक परम्परागत आमाहरुले बोक्ने गरेको जस्तै मौलिकता झल्कने थैलीमा सजाईएको थियो । नयाँ प्रविधि र नयाँ ढङ्गबाट सुरु गरिएको कार्यक्रमको मञ्चमा बस्ने सभाध्यक्ष, प्रमुख अतिथि र कृतिकारलाई नेपालमै फल्ने रुद्राक्षको मालाद्वारा सत्कार गरिएको थियो ।

साहित्यकार वेदकुमारी न्यौपानेद्वारा लिखित नौ वटा पुस्तक शनिवार एकैसाथ बनेपा स्थित शब्द यात्रा प्रकाशनको सभाकक्षमा सार्वजनिक गरियो ।
उक्त कार्यक्रममा ४० वर्षपछि कखरा सिक्नुभएकी खुमादेबी पाण्डेले सुनाउनुभएको शिक्षा वर्धक कविताको सार:  ‘छोराछोरी पढाउनलाई बाह्रखरी किने, बाह्रखरी किताब हेर्दै मैले अक्षर चिने । छोरा जति घर छोडेर टाढा पढ्न जान्थे, छोरीले त घर छोडेर जानै हुन्न भन्थे । सातबर्ष पुग्न नपाई वर्ष गन्न  थाल्थे, सातबर्षको कन्यादानमा पुण्य मिल्छ भन्थे । पढ्नेलेख्ने बेला कठै पराईको घरमा, छोरीपरि विपत्तिमा बा आमालाई धर्म । ढिकी,जाँतो, दैलो कसिगर भ्याउने अधेरीमा, गाग्री बोकी पानी लिन जान्थ्यौ पँधेरीमा । बिहान भयो दाउराघाँस, दिउसो भयो मेला, कलम लिने हातथे मेरा खन्दा पर्‍यो ठेला । यस्ता दिदी बैनी अरुपनि होलान्, पढ्न लेख्न नपाएर दुःख मानी रोलान् । हामीले पढ्न नपाएनीअब सबैले पढुन, नानीबाबु समान रुपले पढ्दै अघि बढुन् ।’

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तथा समाजसेवी सावित्री जंगम थापाले २०८० सालको पहिलो महिनाको ९ गते ९ वटा पुस्तक ९ जना महिलाहरुबाट विमोचन हुनु धेरै खुशीको कुरा हो । किताब भनेको एउटा दस्ताबेज हो । किताबमा त्यति बेलाको परिस्थिति, समाज सबैलाई झल्काउँछ । किताबले दिने ज्ञान अरुबाट प्राप्त गर्न सकिन्न । किताब लेख्ने व्यक्तिहरूलाई म धेरै सम्मान गर्छु भन्नुभयो ।

कृतिकार बेदकुमारी न्यौपानेले आफू निजामती कर्मचारी भएको बताउँदै साहित्य लेखन भनेको कसैले पहल गरेर लेखिने विषय होइन आफैबाट आउनुपर्छ । लेखनमा समय पुगेन भन्ने मान्छेहरुलाई समय पुग्ने हैन समय निकाल्ने हो भन्न चाहन्छु । यसअघि ७ वर्ष विदेशमा थिए कोरोना, डेंगु लगायतका समस्याको सिकार म पनि भए । म कोरोना लागेर धेरै गम्भीर अवस्थामा पुगे त्यतिबेला मलाई छोरा, छोरी, नाती, नातिनाको भन्दा पनि मेरो दिमागमा किताब छाप्नु थियो नसक्ने भए भन्ने त्रास पैदा भयो । त्यसैले मेरो यी ९ वटा किताब निकाल्न एकैपटक साहित्य जुर्‍यो भन्नुभयो ।

उहाँले किताब लेख्ने र छाप्ने काम त्यति सजिलो छैन । २०५२ सालमा अर्को एउटा विद्रोह कथा संग्रह किताब छाप्न मैलै हातमा लगाएको बाला बेचेको थिए । त्यति बेला मलाई छिन्नलताले भन्नुभएको थियो, तपाईँको गहना भनेको त्यो सुनको चुरा होइन यो किताब हो । तपाईँको यो किताब डाइमण्ड भन्दा पनि बहुमुल्यछ चिन्ता नगर्नुस् भन्नुभएको कुरा मेरो मनमा गढेर बसेको थियो र म अहिले सक्षम भइसकेपछि किन नछाप्ने भनेर एकै पटक ९ वटा किताब छापे । मैले ७ वर्षमा नेपाल फर्किएर पेन्सन निकालेर किताब छाप्ने र घर मर्मत गर्ने काम गरे भन्नुभयो ।

पुस्तकको विमोचन लक्ष्मी पोखरेल, गीता अधिकारी, सरस्वती सापकोटा,अम्बिका धिताल,डा.मिना सिंह, भगवती तिमल्सिना, सुचित्रा श्रेष्ठ,डा.सीता सुवेदी र सीमन बस्नेतले गर्नुभएको थियो । सार्वजनिक गरिएका पुस्तकहरू हराएको किनारा (गीतसङ्ग्रह), प्लास्टिक सर्जरी (लघुएकाङ्कीसङ्ग्रह), शब्द (कवितासङ्ग्रह), कुल्चिएका फूलहरू (एकाङ्कीसङ्ग्रह), कहिले घाम कहिले छायाँ (मुक्तकसङ्ग्रह), प्रायोजित (रेडियो–नाटकसङ्ग्रह), एक दिन (बालगीतिनाटक), साथीको माया (बालएकाङ्कीसङ्ग्रह) र पूर्णिमाको जून (कवितासङ्ग्रह) रहेका छन् ।

कार्यक्रममा कृष्णमणि कुइकेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सार्वजनिक गरिएका पुस्तकका बारेमा मीरा चपागाई, भवानी पाण्डे र शारदा घिमिरे भैलले बोल्नुभएको थियो । उक्त कार्यक्रमको सभापतित्व लीला श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रम संचालन साहित्यकार तथा शब्द यात्रा प्रकासनका संस्थापक हरिमञ्जुश्रीले गर्नुभएको थियो । कृतिकारको चिनारी कालिका त्रिपाठी पन्तले दिनुभएको थियो ।

कार्यक्रममा १०८ शिवलिंग निमार्णका लागि कोमल बर्दन मल्लले १५ हजार र डा.छत्रपति दाहालले ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्