शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा फड्को मारेका छौं : प्रमुख प्रशासकीय अधिकृत तिवारी



-किरणनिधि तिवारी
प्रमुख प्रशासकीय अधिकृत
चन्द्रपुर नगरपालिका, रौतहट

चन्द्रपुरले विकास निर्माण र सेवा प्रवाहलाई कसरी अगाडि बढाइरहेको छ ?

हामीले चालू आ.व.का लागि नगरसभाबाट स्वीकृत योजना÷बजेट÷कार्यक्रमहरु तथा संघीय सरकारबाट निर्देशित ऐन, नियम, कानुनबमोजिम कार्यक्रमहरू सञ्चालन तथा कार्यान्वयन गरिरहेका छौं । स्थानीय तहबाट दिइने दैनिक सेवाहरु थप चुस्त दुरुस्त बनाउँदै लगेका छौं ।

बजेट एवं नीति तथा कार्यक्रमको कार्यान्वयन गर्न के–कस्ता योजना बनाउनुभएको छ ?

बजेट एवं नीति तथा कार्यक्रमको कार्यान्वयन गर्न विभिन्न विकास समिति बनाई समितिहरु क्रियाशील बनाएका छौं । सो समितिको मासिक बैठक गराई हरेक योजना तथा कार्यक्रमहरुको कार्यान्वयनको विषयमा छलफल गर्ने तथा सुधारका कदम चाल्दै आएका छौं ।

तपाईंको स्थानीय तहलाई नमुनायोग्य बनाउन विशेष कुनै कार्यक्रम ल्याउनुभएको छ ?

चालू आर्थिक वर्षमा चार्जिङ स्टेसन निर्माण, बसपार्क निर्माण गर्ने देखि रिङरोड निर्माण लगायतका कार्यक्रम ल्याएका छौं ।

जनप्रतिनिधिहरु विकास निर्माण, सेवा प्रवाह र सुशासन स्थापित गराउन कतिको संवेदनशील छन् । उहाँहरुसँग कसरी सहकार्य गरिरहनुभएको छ ?

जनप्रतिनिधिहरु विकास निर्माण, सेवा प्रवाह र सुशासन स्थापित गराउन संवेदनशील नै रहेको पाएको छु । तर, कतिपय ऐन, नियम, कार्यविधिको कुराले गर्दा कहींकतै अप्ठ्यारो स्थिति भने आउने गरेका छन् । ती विषय वस्तुहरुमा जनप्रतिनिधिहरुसँग समन्वय, छलफल गरी सेवा प्रवाह चुस्त दुरुस्त बनाउँदै आएको छु ।

जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध कस्तो हुनुपर्छ जस्तो लाग्छ ?

स्थानीय सरकार सञ्चालन एनले जनप्रतिनिधि तथा कर्मचारीको काम, कर्तव्य र अधिकार निर्धारण गरिदिएको छ । सोहीअनुसार एक–अर्कासँग सहकार्य र समन्वयकारी भूमिका हुनुपर्छ ।

विकास निर्माणमा जनसहभागिता कत्तिको पाउनुभएको छ ?

स्थानीय तहको संरचनाको अवधारणामा नै स्थानीय तहमा हुने विकासमा स्थानीय सहभागिताका लागि उपभोक्ता समितिसम्बन्धी व्यवस्था भएको छ । सोही अनुसार आफ्नो ठाउँ आफैं बनाऊ भन्ने अवधारणाले गर्दा विकास निर्माणमा जनसहभागिता बढेको छ ।

जनसहभागिता जुटाउन के–कस्ता योजना र कार्यक्रम ल्याउनुभएको छ ?

जनसहभागिता जुटाउन समतामूलक विकासको अवधारणा, उपभोक्ता समितिको अवधारणा, सहभागितामूलक विकासको अवधारणा जस्ता कार्यक्रम ल्याएको छौं ।

चन्द्रपुरमा बेरुजु र सार्वजनिक खरिदको अवस्थाचाहिँ कस्तो छ ?

यस नगरपालिकामा महालेखापरीक्षकको प्रतिवेदनअनुसार बेरुजु छ । कतिपय प्रक्रियागत बेरुजु छन् भने कतिपय असूलउपर गर्नुपर्ने बेरुजु छन् । दुवै किसिमको बेरुजु घटाउन आवश्यक कदम चालिएको अवस्था छ । यस नगरपालिकाबाट सञ्चालन गरिने बजेट, योजना तथा कार्यक्रमहरु सार्वजनिक खरिद ऐन तथा नियमअनुसार सञ्चालन भइरहेको छ । सुधार गर्नुपर्ने पक्षलाई सुधार गर्दै लगेका छौं ।

काम गर्दै जाँदा आएका समस्या के छन् ?

भएका कतिपय कानुन स्पस्ट नहुनु, समयमै बनाउनुपर्ने ऐन, नियमावली, कार्यविधिहरु बन्न नसक्नु, संघीय सरकारबाट निर्देशन भएको कानुनहरु पूर्ण रुपले परिपालना गर्न नसक्नु नै प्रमुख समस्या हो ।

आवश्यकता अनुसारको साधन–स्रोतको उपलब्धता पनि छैन । उचित जनशक्ति नहुँदा विकासका कार्यहरु समयमा सञ्चालन हुन सकेका छैनन् । प्रविधिमा पहुँच भए पनि प्रभावकारी रूपमा कार्यान्वयन हुनसकेको छैन ।

प्रदेश र केन्द्रीय सरकारसँग अन्तरसम्बन्ध कसरी स्थापित गरिरहनुभएको छ ?

प्रदेश र केन्द्रीय सरकारले दिएको मार्गदर्शनबमोजिम कार्यहरु सम्पादन गर्ने गरेका छौं । आवश्यकताका आधारमा प्रदेश र केन्द्र सरकारसँग सहकार्य तथा समन्वय गरी योजना तथा कार्यक्रमहरु सञ्चालन गरिरहेका छौं ।

प्रदेश र केन्द्रीय सरकारबाट आवश्यक सहयोग र समन्वय पाइरहनुभएको छ कि छैन ?

केही सीमित विषयवस्तुबाहेक प्रदेश र केन्द्रीय सरकारबाट आवश्यक सहयोग र समन्वय पाएको छैन ।

हाल भोग्नुपरेका मुख्य समस्या के छन् ?

दरबन्दीअनुसारको कर्मचारीको अभाव छ । उपलब्ध रहेको कर्मचारीको उचित व्यवस्थापन भएको छैन । आवश्यकताभन्दा बढी करारका कर्मचारी छन् । भएको स्रोत साधनहरुको उचित व्यवस्थापन हुनसकेको छैन । जनप्रतिनिधि तथा कर्मचारीबीचको सहयोग तथा समन्वयमा कमी छ । आवश्यक ऐन, नियम, कार्यविधिको निर्माण भएको छैन । जनप्रतिनिधिहरुको काम, कर्तव्य तथा अधिकारमा स्पष्ट छैनन् । राजस्वको दायरा बढाउन नसक्नु आदि समस्या छन् ।

यसको समाधानका लागि के–कस्ता पहल गरिरहनुभएको छ ?

कर्मचारीको दरबन्दी तेरिज स्वीकृत गराउने योजना बनाएका छौं । आवश्यक पर्ने कर्मचारीहरु संघीय लोकसेवा आयोग तथा प्रदेश लोकसेवा आयोगबाट पदपूर्तिका लागि माग गर्ने योजना बनाएका छौं ।उ पलब्ध रहेको कर्मचारीहरुको क्षमताअनुसारले जिम्मेवारीहरु तोकी उत्प्रेरित गरी काम–कारबाही चुस्त दुरुस्त ढंगले अगाडि बढाएका छौं । उपलब्ध रहेको स्रोत तथा साधनहरुको उचित व्यवस्थापन गर्ने कार्य अघि सारेका छौं ।

चन्द्रपुरलाई देशभरमा चिनिने बनाउन विशेष के योजना बनाउनुभएको छ ?

यहाँ अवस्थित रहेका धार्मिक तथा पर्यटकीय स्थलहरुमा विशेष लगानी गरी संरचनागत विकास गर्ने तयारी गरेका छौं । आन्तरिक÷बाह्य पर्यटक बढाउन आवश्यक प्रचार–प्रसार गर्ने योजना अघि सारेका छौं । यहाँ रहेका महत्वपूर्ण धार्मिक, पर्यटकीय तथा सांस्कृतिक महत्वका क्षेत्रहरुमा नुन्थर पर्यटकीयस्थल, पौराई ब्रह्मस्थान, मर्धर सिमसार क्षेत्र, कोटीहोम, झरना, डावरी पिकनिक स्पोट, शहीद पार्क आदिका माध्यमबाट हाम्रो पालिकाले पहिचान बनाएको छ ।

स्थानीय तहको स्रोत वृद्धि गर्न के गरिरहनुभएको छ ?

स्रोत वृद्धि गर्न करको दायरा बढाएको छौं । ढुंगा, गिट्टी, बालुवाको ठेक्का लगाई अधिकतम राजस्व संकलन गर्ने, ठेक्का लगाउन सकिने अन्य बजार, पर्यटकीयस्थल लगायतका स्थानहरुमा करको दायरा वृद्धि गर्न राजस्व परामर्श समितिलाई सक्रिय बनाएका छौं । समेट्न नसकिएका क्षेत्रहरु आगामी आवमा करको दायरामा ल्याई स्रोत वृद्धि गर्न आवश्यक पहल गरिरहेका छौं ।

अन्त्यमा, केही भन्नु छ कि ?

संघीय शासन व्यवस्था लागू भएपश्चात् स्थानीय तहमा धेरै सुधारका कार्य भएका छन् । विकास निर्माणमा जनसहभागिताको ठूलो योगदान रहेकाले यसप्रति ध्यान दिन जनसुदायलाई आग्रह गर्दछु । शिक्षा, स्वास्थ्य, कृषि, पशु लगायतका क्षेत्रहरुमा क्रमिक विकास गर्दै गएका छौं । सीपमूलक, रोजगारीमूलक कार्यक्रमले गर्दा बेरोजगार रहेका युवाहरु उद्यमी तथा रोजगारी तर्फ अग्रसर भएका छन् ।

प्रतिक्रिया दिनुहोस्