इलाममा बेरुजु घट्दो क्रममा छ : प्रमुख प्रशासकीय अधिकृत खड्का



-गणेशकुमार खड्का
प्रमुख प्रशासकीय अधिकृत
इलाम नगरपालिका, इलाम

जिल्लाकै पुरानो नगरपालिका हो इलाम नगरपालिका । १० वटा पालिका रहेको यस जिल्लामा सूर्योदय नगरपालिकापछि इलाम नगरपालिका दोस्रो ठूलो नगरपालिका हो । सदरमुकाम समेत रहेको यस पर्यटकीय नगरीको विकासका निम्ति स्थानीय सरकारले विकास निर्माणका साथै कृषि, पर्यटन, सिँचाइलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । यसै क्रममा यस नगरपालिकाले अहिले के गरिरहेको छ, नगरलाई समृद्ध बनाउने योजनाहरु के–के छन् ? लगायतका विषयमा इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्कासँग जिल्ला संवाददाता गणेश घिमिरेले गरेका कुराकानीको सम्पादित अंश :

यस स्थानीय तहले विकास निर्माण र सेवा प्रवाहलाई कसरी अगाडि बढाइरहेको छ ?

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार विकास र सेवा प्रवाहको काम भइरहेको छ । विकास निर्माणको काममा सडक, साना सिञ्चाइ, खानेपानी योजनाका पूर्वाधार योजना सञ्चालन भइरहेको छ । सडकको हकमा नयाँ ट्रयाक खोल्ने भन्दा पनि भएका सडकको स्तरोन्नति गर्ने कामलाई प्राथमिकता दिएर काम गरिरहेको छौं । यस्तै, सेवा प्रवाहको हकमा अधिकांश सेवालाई वडाहरुमा विकेन्द्रित गरिएको छ । व्यवसाय दर्ता, राजस्व संकलनलगायतका काम वडाहरुबाटै गर्दै आएका छौं । सूचना प्रणालीलाई एकीकृत सफ्टवेयर मार्फत अगाडि बढाइएको छ ।

बजेट एवं नीति तथा कार्यक्रमको कार्यान्वयन गर्न के–कस्ता योजना बनाउनुभएको छ ?

पूर्वाधार निर्माणसँग सम्बन्धित योजनाका लागि वार्षिक खरिद योजना रहेको छ । १० लाखभन्दा मुनिका योजना उपभोक्ता समितिको लागत सहभागितामा निर्माण गर्दै आएका छौं भने ठूला योजना ठेक्कामार्फत गर्दै आएका छौं । आउँदो जेठ मसान्तसम्म सबै योजना पूरा गर्ने लक्ष्यका साथ काम अगाडि बढिरहेको छ ।

इलामलाई नमुनायोग्य बनाउन विशेष कुनै कार्यक्रम ल्याउनुभएको छ ?

नमुनायोग्य नगर बनाउन डिजिटल नगर प्रोफाइल बनाउने काम शुरु गरिएको छ । खण्डीकृत तथ्यांकमा आधारमा सूचनाहरु संकलन गर्ने क्रममा रहेको छ । त्यसबाट भोलिका दिनमा नीति तथा कार्यक्रम बनाउन सूचनामा आधार पुगोस् भने कार्यको शुरुआत गरेका छौं । नगरपालिकासँग सम्बन्धित विषयगत समितिका विज्ञहरुलाई परिचालन गरेर सम्बन्धित क्षेत्रका कार्यक्रम सञ्चालन गर्ने रणनीति लिएका छौं ।

जनप्रतिनिधि विकास निर्माण, सेवा प्रवाह र सुशासन स्थापित गराउन कतिको संवेदनशील भएको पाउनुभएको छ ?

हाम्रा जनप्रतिनिधिहरु शुरुआतदेखि नै सुशासन र भ्रष्टाचारमुक्त नगरपालिका बनाउने प्रतिबद्धता लिएर अघि बढ्नुभएको छ । विधिसम्मत ढंगबाट काम भइरहेको छ । कर्मचारीलाई प्रेसर दिने जस्ता प्रवृति नहुनु सुखद पक्ष रहेको हो । विकास निर्माणका लागि वडा–वडाबीच सकरात्मक प्रतिस्पर्धा छ । राम्रोभन्दा राम्रो योजना ल्याएर काम गर्दै आउनुभएको छ । प्रशासनिक र राजनैतिक तहको द्वन्द्व यस पालिकामा छैन ।

जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध कस्तो हुनुपर्छ जस्तो लाग्छ ?

सम्बन्धलाई केले गाइड गर्ने हो भन्ने कुरा महत्वपूर्ण कुरा हो । त्यसले सम्बन्ध निर्धारण गर्छ । नगरबासीलाई उत्कृष्ट सेवा दिने, दिगो किसिमका विकास निर्माण गर्ने, त्यो लक्ष्यमा एकाकार भए सम्बन्ध स्वतः नै सुमधुर भएर अघि बढ्छ जस्तो लाग्छ ।

विकास निर्माणमा जनसहभागिता कतिको पाउनुभएको छ ?

सार्वजनिक खरिद ऐनबमोजिम नै पूर्वाधार निर्माणसँग सम्बन्धित योजना विभिन्न सामाजिक विकासका कार्यक्रमहरु जनसहभागिताको मोडालिटीमा भइरहेको छ । राम्रो पक्ष के भने जुन जनसहभागिताको (उपभोक्ता समितिले गर्ने काम) अंश हुन्छ, त्यो हामीले कागजमा मात्र नदेखाएर नगदै सञ्चित कोषमा दाखिला गर्दै आएका छौं । जसले गर्दा उपभोक्ता समितिबाट गरिएको काम शतप्रतिशत भइरहेको छ । त्यही अनुसार बजेट विनियोजन गर्ने गरेका छौं ।

यस नगरपालिकामा बेरुजु र सार्वजनिक खरिदको अवस्था के–कस्तो छ ?

बेरुजुको अंक वर्षेनी घट्दो क्रममा छ । चालू आवमा पनि कायम भएका बेरुजुहरु अध्ययन गरेर धेरै बेरुजु फछ्र्यौट गर्न सफल भएका छौं । बेरुजु फछ्र्यौटका लागि आवधिक रूपमा एउटा रणनीति बनाएर असुल गर्ने र नियमित गर्ने प्रमाण संकलन गरेर सम्परीक्षण गराउने, बेरुजुलाई पनि सोहीबमोजिम सम्परीक्षण गराउनेतर्फ आवधिक रूपमा बैठक बसी रणनीति बनाएर अघि बढाएका छौं । पहिलाको तुलनामा बेरुजुमा सजकता बढेको छ ।

काम गर्दै जाँदा आएका समस्या के छन् ?

स्थानीय तहमा काम गर्दा स्वीकृत नीति तथा कार्यक्रम, वार्षिक बजेटबाट मात्रै काम गर्नुपर्छ । बीचमा सम्बोधन गर्नैपर्ने तर योजनामा नपरेका मागहरु बजेटको बीचमा आउने हुँदा त्यसलाई सम्बोधन गरेर लैजान समस्या छ । योजनागत, सेवा प्रवाहका आवश्यकता अनुसारका मागहरु तुलनामा स्रोत साधन कमै हुन्छ । तर प्राथमिकता गरेर छनोट गरिएका कार्यक्रम भने जसरी पनि सम्पन्न गरेका छौं । आवश्यकता भन्दा न्यून नै छ । देशमा भइरहेको वित्तीय आर्थिक संकटको अवस्थाले असर पारेको छ । कतिपय प्राथमिकताका योजनाहरु घटाउन बाध्य छौं ।

प्रदेश र केन्द्रीय सरकारबाट आवश्यक सहयोग र समन्वय पाइरहनुभएको छ कि छैन ?

संघ र प्रदेश सरकारसँग समन्वय हुनुपर्ने विषयमा समन्वय भएरै सहयोग पनि प्राप्त भइरहेको छ । समानीकरण अनुदान, राजस्व बाँडफाँड, विशेष अनुदानअन्तर्गत योजना र कार्यक्रम कार्यान्वयन रहेकाले समन्वयको पाटो र बजेटिङको हिसाबमा सहयोग भइरहेको छ ।

पालिकाले भोग्नुपरेका मुख्य समस्या के छन् ?

तत्काल देखिएको वित्तीय संकट नै हो । चालू आवमा प्रस्तावित गरेका योजना तथा कार्यक्रम अनुरूप राजस्व बाँडफाँड, आन्तरिक स्रोतका रूपमा रहेको राजस्व लक्ष्यबमोजिम नउठ्दा कतिपय योजना कटौती गर्नुपरेको छ । सेवालाई वडामा विकेन्द्रित गरे पनि सबै सेवालाई सूचना प्रविधिसँग जोड्न नसक्दा समस्या भएको छ ।

संघीय शासन सफलताका लागि स्थानीय तहको भूमिका कस्तो हुनुपर्छ ?

संघीयता भनेको सहकार्यसहितको स्वयत्ततामा आधारित छ । कुनै एउटै तहले मात्र विकास र उन्नतिका आकांक्षा पूरा हुन सक्दैन । सहकार्यबाटै स्थानीय तह अघि बढ्नुपर्छ । त्यसका लागि आफ्नो क्षमता सम्भाव्यता र पहिचान नै हो । यो पहिचानपछि योजना बनाउनुपर्छ । आफैं गर्नसक्ने, प्रदेश र संघीय सरकार एवं निजी क्षेत्रसँग सहकार्य गरेर कुन योजना अघि बढाउन सकिन्छ भने पहिचान गरी अघि बढेमात्र स्थानीय मात्र नभएर संघीय शासनको सफलतामा मद्दत पुग्छ ।

इलामलाई देशभरमा चिनिने बनाउन विशेष योजना के ल्याउनुभएको छ ?

इलामनगरपालिका पर्यटकीय नगरी हो । यहाँको पहिचान ग्रिन इलाम हो । यसमा काम भइरहेको छ । उत्कृष्ट सरसफाइ, प्लास्टिकमुक्त नगर भनेर पहिचान बनाएका छौं । यस्तै, थप पर्यटकीय गन्तव्यहरुको प्रचार र स्तरोन्नति गर्दै नेपालभरि नै पहिचान बनाउने तयारीमा छौं ।

स्थानीय तहको स्रोत वृद्धि गर्न के गरिरहनुभएको छ ?

राजस्वको आधार बढाउन र राजस्वको सम्भाव्यताको पहिचान गरेर स्रोत बढाउने अख्तियारी गरेका छौं । राजस्व लाग्ने सेवालाई एकीकृत सफ्टवेटरमा आबद्ध गर्दै छौं । कृषिजन्य वस्तुको व्यवसायमा कर लगाउने थालनी गरेका छौं । बहाल करलाई वैज्ञानिक बनाउने तयारी भइरहेको छ ।

अन्तमा, विशेष केही भन्नु छ कि ?

स्थानीय तहमा जनआकांक्षा बढ्दो छ । यी सबै आकांक्षालाई वार्षिक कार्यक्रमले समेटिन नसक्ला । समेटिनुपर्ने कतिपय क्षेत्र स्थानीय तहले नदेखेको हुनसक्छ । त्यस्ता कुरालाई सबै क्षेत्रबाट सकरात्मक ढंगबाट आवाज उठाए मात्र नगरको विकास र समृद्धि बढ्नुका साथै स्थानीय तह सफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्