स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकता दिएका छौं



२०६६ सालमा पशु प्राविधिकका रूपम मुस्ताङबाट सेवा प्रवेश गरेका दलबहादुर बाँठाले जाजरकोटको जुनीचाँदे, नलगाड, छेडागाड र साविक जिल्ला पशु स्वास्थ्य कार्यालयमा काम गरिसक्नुभएको छ । कर्मचारी समायोजनको सिलसिलामा शिवालय गाउँपालिकामा पशु प्राविधिकतर्फको अधिकृत छैटौंमा काम गर्दै आएका उहाँ हाल शिवालय गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ । प्रस्तुत छ, बाँठासँग नेपाल समाचारपत्रले पालिका केन्द्रित भई गरेका कुराकानीको सम्पादित अंश :

तपाईंको स्थानीय तहले विकास निर्माण र सेवा प्रवाहलाई कसरी अगाडि बढाइरहेको छ ?

जनताको घर–आँगनमै आएको सिंहदरबारको अधिकारलाई स्थानीय तहको स्रोत साधनले भ्याएसम्म जनतालाई सेवा दिइरहेका छौं । संघीय, अनुदानका आधारमा बजेट विनियोजन गरी सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाएका छौं । शाखाबाट प्रवाह हुने सेवा आग्रह–पूर्वाग्रह नराखी नागरिकलाई दिइरहेका छौं । आफूले पाएको बिदासमेत नलिई समृद्ध पालिका निर्माण गर्न लागिपरेको छु ।

शिवालयलाई नमुनायोग्य बनाउन विशेष कुनै कार्यक्रम ल्याउनुभएको छ ?

पालिकास्तरीय रिङरोड, एकीकृत कृषि तथा पशुपालन, विद्युतीकरण, पकेट क्षेत्र निर्धारण गरी उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने योजना बनाएका छौं । त्यस्तै, आधुनिक प्रविधिलाई प्राथमिकता दिँदै फाइबर नेट जडान गर्ने, पालिकाको केन्द्रमा निर्माणाधीन १० शय्याको अस्पताल गर्ने, शिवालय बहुमुखी क्याम्पस भवन निर्माण गर्ने योजना छ ।

जनप्रतिनिधि विकास निर्माण, सेवा प्रवाह र सुशासन स्थापित गराउन कत्तिको संवेदनशील भएको पाउनुभएको छ ?

जनप्रतिनिधिहरूले विकास निर्माण लगायत सेवा प्रवाह र सुशासन स्थापित गर्न योजन छनोट गरी समुदायका नागरिकलाई सँगसँगै लिएर काम गरिरहनुभएको छ ।

प्रशासनिक नेतृत्वको हैसियतले जनप्रतिनिधिसँग कसरी सहकार्य गरिरहनुभएको छ ?

जनप्रनिनिधि, शाखाका कर्मचारीहरुसँग समन्वय सहकार्य गरी योजनाहरु तय गर्ने गरेको छु । नागरिकलाई न्यायोचित रूपमा कार्यक्रम वितरण, अनुगमन मूल्यांकन गर्ने क्रममा साथ सहयोग लिने पनि गरेको छु ।

जनप्रतिनिधि र कर्मचारीको सम्बन्धचाहिँ कस्तो हुनुपर्छ ?

कर्मचारीले चाहेर मात्र केही गर्न सक्दैन । जनप्रनिनिधि र कर्मचारीको सम्बन्ध नङ र मासुको जस्तै छ । शिवालयको सन्दर्भमा पालिकालाई समृद्ध बनाउन जनप्रतिनिधि, कर्मचारी एक–आपसमा सहयोगको आदान–प्रदान गरी अगाडि बढेका छौं ।

विकास निर्माणमा जनसहभागिता कत्तिको पाउनुभएको छ ?

विकास निर्माणकार्यमा जनताको सहभागिता पाएकै छौं ।

शिवालयमा बेरुजु र सार्वजनिक खरिदको अवस्था के–कस्तो छ ?

संस्थागत रूपम भएको बेरुजु थोरै छ । त्यसलाई मितव्ययी गर्दै घटाएका छौं । सार्वजनिक खरिद समितिबाट मूल्याङ्कन भइसकेपछि मात्र रकम निकासा गर्ने गरेका छौं । पेस्की रकम गएका योजना आयोजनामा काम सम्पन्न गरी बेरुजु फछ्र्योट गर्ने गरेका छौं ।

यहाँका मुख्य समस्या के छन् ?

भौगोलिक विकटता भएकाले कतिपय स्थानमा यातायात सेवाको पहँुच नपुगेकाले मान्छेले सामान ढुवानी गर्नुपर्ने अवस्था छ । निर्माण भएका सडकको स्तरउन्नति अत्यावश्यक छ । साधन स्रोत पर्यात नहुँदा अधिकांश वडा बस्तीमा नेट इन्टरनेट छैन । विद्युतीकरण फस्टाउन सकेको छैन । पर्याप्त मात्रामा जनशक्ति छैन ।

हाल नयाँ कामचाहिँ के गरिरहनुभएको छ ?

प्रदेश र संघीय सरकारले दिएको मार्गनिर्देशन अनुसार वडा बस्तीमा आधारभूत स्वास्थ्य संस्था स्थापना, शैक्षिक गुणस्तरमा वृद्धि गर्ने काम गरिरहेका छौं ।

प्रदेश र केन्द्रीय सरकारसँग सम्बन्ध कसरी स्थापित गरिरहनुभएको छ ?

प्रदेश र संघीय अनुदानका कार्यक्रमहरु स्थानीय पालिकाद्वारा सञ्चालन हुने भएकाले सहकार्य तथा समन्य गरिरहेका छौं । निर्माणाधीन योजनाहरु अधिकांश प्रदेश र केन्द्रीय सरकार मातहत रहेका छन् । त्यसले गर्दा पनि प्रदेश र केन्द्रीय सरकारसँग अन्तरसम्बन्ध राम्रो बनाइराखेका छौं ।

प्रदेश र केन्द्रीय सरकारबाट कत्तिको साथ–सहयोग पाउनुभएको छ ?

प्रदेश र केन्द्रीय सरकारबाट सहयोग पाएकै छौं । शिवालय बहुमुखी क्याम्पस, १० शय्याको अस्पताल भवन, विद्यालयका भवन, सडक निर्माणका लागि बजेट प्राप्त गरेका छौं । माथिल्लो सरकारको सहयोगले प्रशासनिक क्षेत्रको विकास निर्माणमा सुधार भएको छ ।

शिवालयले भोग्नुपरेका मुख्य समस्या के छन् ?

विद्युत्, सडक, सञ्चार, इन्टरनेट, खानेपानी, शिक्षा तथा कृषि क्षेत्रमा मुख्यरूपमा समस्या छ । विकट बस्ती भएकाले स्थानीय सरकार आधुनिक प्रविधिसँग जोडिन सकेको छैन ।

स्थानीय तहको स्रोत वृद्धि गर्न के गरिरहनुभएको छ ?

हाल स्थानीय तहसँग आयस्रोतको निकै कमी छ । रोजगारीका अवसरहरु सिर्जना गरी शिक्षा, स्वास्थ्य, कृषिलाई प्रवद्र्धन गर्ने योजना छ । किसानलाई आधुनिक प्रविधिमा जोड्दै उत्पादित वस्तु बजारीकरण गर्न पकेट क्षेत्र निर्धारण गर्नलागेका छौं । उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्न किसानलाई व्यवसायप्रति आकर्षित गर्न लागेका छौं । जल, जमिन, जडीबुटीको संरक्षण गरेर आयस्रोत वृद्धि गर्ने लक्ष्य लिएका छौं ।

प्रतिक्रिया दिनुहोस्