देशभरकै स्थानीय तहभन्दा विराटनगरले बढी राजस्व उठाएको छ : प्रमुख प्रशासकीय अधिकृत कोइराला



-विष्णुप्रसाद कोइराला
प्रमुख प्रशासकीय अधिकृत
विराटनगर महानगरपालिका, मोरङ

विष्णुप्रसाद कोइराला विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुनुुहुन्छ । प्रस्तुत छ, उहाँसँग महानगरले अघि बढाइरहेका योजना, सुशासन तथा चुनौतीका विषयमा जिल्ला संवाददाता हरिहर नेपालले गरेका कुराकानीको सम्पादित अंश :

तपार्इंको स्थानीय तहले विकास निर्माण र सेवा प्रवाहलाई कसरी अगाडि बढाइरहेको छ ?

कोशी प्रदेशकै एकमात्र महानगरपालिका विराटनगरले विकास निर्माण र सेवा प्रवाहलाई सानदार तरिकाले अघि बढाइरहेको छ । हरेक कुरामा हरेक सेक्टरमा महानगरलाई आईटीमैत्री बनाइएको छ । सुशासन कायम गरेका छौं । महानगरबासीलाई सेवा प्रवाहमा हामीले कुनै पनि कसूर बाँकी राखेका छैनौं ।

बजेट एवं नीति तथा कार्यक्रममको कार्यान्वयन गर्न के–कस्ता योजना बनाउनुभएको छ ?

कार्यान्वयनका योजनाहरु बनाएर नै कामहरु अघि बढाइएको छ । कार्यक्रमहरु सहज रूपमा अघि बढिरहेका छन् । आम्दानी प्रतिशत पनि बढेको छ । संघ, प्रदेश र स्थानीय तहमा रहेका ७ सय ६१ वटै सरकारभन्दा हाम्रो राजस्व बढेको छ । गत आर्थिक वर्षभन्दा हाम्रो राजस्व २५ प्रतिशतले बढेको छ । म दाबीका साथ भन्छु यो देशभरमै बढी हो । बेरुजु फछ्र्यौटमा हाम्रो ७२ प्रतिशत सफलता रहेको छ । यी दुवै रेकर्डेड हुन् । देशव्यापी आर्थिक मन्दी चलिरहेको अवस्थामा विराटनगरले हरेक क्षेत्रमा उल्लेखनीय काम गरिरहेको छ ।

हाम्रो बजेट खर्च पनि अत्याधिक रहेको छ । अहिलेसम्म हामीले ३३ प्रतिशत बढी पुँजीगत खर्च गरेका छौं भने झन्डै ५० प्रतिशत चालू खर्च भएको छ । ९ महिना पुग्न लाग्यो, सानो महानगर हो तर हरेक इन्डिकेटरहरुमा हामी अब्बल छौं । वित्त आयोगको दृष्टिमा हामी दोस्रो छौं । सुशासन होस्, विकास निर्माण होस्, बेरुजु होस्, सूचकहरु होस्, आम्दानी होस्, खर्च होस् हामी हरेक कुरामा अघि रहेका छौं ।

विराटनगर महानगरपालिकालाई नमुनायोग्य बनाउन विशेष कुनै कार्यक्रम ल्याउनुभएको छ ?

छन् नि, अवश्य हामीसँग गौरवका आयोजना रहेका छन् । अनि ती सबै ठेक्का लागेर कार्यान्वयनमा गएका छन् । एउटा प्रोसेसमा रहेको छ । बहुप्राविधिक शिक्षालय, कार्यालय सजावट, शहर सौन्दर्यीकरण, आन्तरिक सुशासन, सरुवा बढुवा ओ एन्ड एम गर्ने लगायतका काम कार्यान्वयनमा रहेका छन् । यसै गरी अर्काे वर्षका लागि हामीले आवश्यक तयारी समेत गर्न थालिसकेका छौं ।

बजेट नीति तथा कार्यक्रम सुन्दा र हेर्दा उत्कृष्ट रहे पनि कार्यान्वयन नहुने समस्या छ, विराटनगरमा चाहिँ कस्तो अवस्था छ ?

हाम्रोमा त्यस्तो समस्या बिल्कुल रहेको छैन । अब शतप्रतिशत त नहोला तर भनेजस्तो सुशासन त युरोप, अमेरिका जस्ता देशहरुमा पनि त नहोला तर हाम्रो इन्डिकेटर तुलना गर्नुभयो भने देशभरका पालिकाभन्दा हामी कम छैनौं, उत्कृष्ट नै रहेका छौं ।

कुनै बेलाको दोस्रो ठूलो शहर विराटनगर अहिले कसरी पछाडि प¥यो ?

सूचकहरुले के देखाए त्यतातर्फ भन्दा पनि मलाई चाहिँ विराटनगर पछि परेजस्तो लाग्दैन । हामी क्षेत्रफलमा सानो छौं । ७७ वर्गकिलोमिटर क्षेत्रफल भएको महानगर श्रेष्ठता भएन भन्दा त्यति न्यायसंगत् हुन्छ जस्तो लाग्दैन । महानगरमा सबैभन्दा पछि विराटनगर महानगर घोषणा भयो । यसले पनि त असर गर्छ नि । अब भूगोलमा सानो भन्नुहोला, अर्काे आम्दानीमा भन्नुहोला तर अरूको क्षेत्रगत तुलनामा विराटनगर महानगरपालिकाको क्यापिसिटी चाहिँ धेरै अगाडि रहेको छ ।

जनप्रतिनिधि विकास निर्माण, सेवा प्रवाह र सुशासन स्थापित गराउन कतिको संवेदनशील भएको पाउनुभएको छ ?

यस विषयमा हामी एकदमै संवेदनशील रहेका छौं । हामीबीचमा सहकार्य पनि त्यति नै राम्रो रहेको छ । किनभने मेयर एक पार्टीको उपमेयर अर्काे पार्टीको हुनुहुन्छ । यहाँ एकदिन पनि गड्याङगुडुङ भएको छैन । हामीले शान्त तरिकाले स्थानीयलाई साथमा लिएर काम गरिरहेका छौं । कामहरु समन्वयात्मक रूपमा सम्पन्न भएका छन् ।

स्थानीय तहलाई जनप्रतिनिधिले कर्मचारी भर्ती केन्द्र बनाए भन्ने आरोप लाग्छ, विराटनगरमा कस्तो छ ?

त्यस्तो अवस्था थियो तर अब हट्दै गएको छ । अहिले आवश्यकता अनुसार मात्रै कर्मचारी करारमा नियुक्त भएका छन् । हामीले भरसक कर्मचारी नियुक्ति गर्दा स्थायी कर्मचारीलाई नै पहिलो प्राथमिकता दिने गरेका छौं ।

विकास निर्माणमा जनसहभागिता कतिको पाउनुभएको छ ?

यसमा मैले एकदमै राम्रो जनसहभागिता पाएको छु । आफ्नो ठाउँको विकास र भइरहेका विकास निर्माणमा आवश्यक सुझावदेखि खबरदारी गर्नमा समेत स्थानीयको सहभागिता उल्लेखीय रहेको छ । अब कोशी प्रदेशकै राजधानीका नगरवासी भएपछि विकास र सुशासनमा पनि त्यति नै सचेत रहेका कारण महानगरलाई अब जवाफदेही बनाउन मद्दत गर्ने विश्वासमा छु ।

काम गर्दै जाँदा आएका समस्या के छन् ? काम गर्दा समस्या भएन भने, चुनौती भएन भने पदको गरिमा कसरी बढाउने ? अब काम गर्दा व्यवस्थापन गर्नुपर्दछ । हाम्रो भूमिका एकदमै ठूलो देख्छु म । केन्द्रका प्रतिनिधि, मेयर उपमेयरको नजिकको पात्र, कार्यपालिकाको सञ्चालन लगायतमा सबैसँग मिलेर सबैको भावना बुझेर व्यवस्थापकीय भूमिका निभाउनुपर्छ । यो भनेको समन्वयकारी ‘डिप्लोम्याटिक पोस्ट’ हो । यहाँ ठूलो भएर पनि हुँदैन, सानातिना कुरा पनि मिलाइ दिनुपर्दछ ।

विराटनगरले प्रदेश र केन्द्रीय सरकारसँग अन्तरसम्बन्ध कसरी स्थापित गरिरहेको छ ?

गर्नु नै पर्ने विषयमा सहकार्य र समन्वय अत्यावश्यक हुन्छ नै । तर, सहयोग र योजना भित्र्याउने कुराहरुमा चाँहि हामी अलिक चुकेका छौं कि जस्तो लाग्छ । यहाँ प्रदेश राजधानी छ । यहाँ देश हाक्ने प्रधानमन्त्रीदेखि मन्त्री प्रशस्त हुनुहुन्छ । मन्त्रीहरु त प्रायः कहिल्यै टुट्दैनन् । नाम लिनै परेन महत्वपूर्ण मन्त्रालयमा हुनुहुन्छ । तर, किन हो हामी सायद साना भएकाले होला हाम्रो बलबुताले भ्याएकै छैन । यो मामिलामा हामी कमजोर छौं । यसलाई हामीले सुधार गर्नुपर्छ ।

महानगरले भोग्नुपरेका मुख्य समस्या के छन् ?

अहिलेसम्म राम्रो पक्ष भन्नुपर्छ , हामीले समस्या अप्ठ्याराहरु भोग्नुपरेको छैन ।

संघीय शासन सफलताका लागि स्थानीय तहको भूमिका कस्तो हुनुपर्छ ?

यसमा स्थानीय तह त सबैभन्दा ठूलो र महत्वपूर्ण भूमिकामा रहेको छ । बिनास्थानीय तह संघीयता कसरी कार्यान्वयन होला र ? स्थानीय सरकार भनेको जनताको आफ्नो घर हो, त्यसैले यो सबैभन्दा बलियो छ । यो त स्थायी सरकार हो । यहाँ ५ वर्ष परिवर्तन नै हुँदैन । संवैधानिक रूपमा आफैं बजेट बनाउने, आफैं कार्यान्वयन गर्ने, आफैं स्रोत खोज्ने काम स्थानीय तहले गर्छ । यसले शिक्षा, स्वास्थ्यलगायत हरेक क्षेत्र हेर्छ । स्थानीय तहले सबै अधिकार पाएको छ । यसको प्रयोग गर्न चाहिँ सक्नुपर्छ ।

विराटनगरलाई देशभरमा प्रख्यात बनाउन विशेष योजना ल्याउने बारेमा सोच्नुभएको छ कि ?

विराटनगर आफैंमा ऐतिहासिक नगरी हो । यो औद्योगिक क्षेत्र हो । यसलाई परिचयको कुनै आवश्यकता नै छैन । पछिल्लो समय यो शिक्षा स्वास्थ्यको ठूलो हब बन्दै गएको छ । औद्योगिकीकरणसँगै विराट राजाको दरबारले यहाँको धार्मिक पर्यटनलाई धेरै बल पु¥याएको छ । हामी पहिलो प्राथमिकताका साथ ऐतिहासिक विराट राजाको दरबारलाई धार्मिक पर्यटनको हब बनाउन लागिरहेका छौं । दरबारको संरक्षण सम्वद्र्धन र प्रवद्र्धनमा हामी लागेका छौं । त्यहाँको ऐतिहासिक पोखरीलाई पुनर्निर्माण गरिरहेका छौं । यो पर्यटकको केन्द्र बन्नेछ । यस्तै, छिट्टै नै हामी विराटनगरमा स्तरीय विशाल पार्कको निर्माणमा जुट्नेछौं ।

महानगरको स्रोत वृद्धि गर्न के गरिरहनुभएको छ ?

कर छुट दिएर राजस्व उठाइहेका छौं । पोहोरभन्दा २५ प्रतिशत बढी राजस्व उठाइसकेका छौं । गत आर्थिक वर्षमा झन्डै ५० करोड उठेकोमा अहिले नै ४५ करोड उठिसकेको छ । हाम्रो लक्ष्य १ अर्ब रहे पनि ६२⁄६५ करोडसम्म उठाउने हाम्रो प्रक्षेपण रहेको छ ।

विराटनगरमा आकाशेपुलको डीपीआर बनिसकेका थिए, ती योजना कहाँ अलपत्र प¥यो ?

आकाशेपुल ६ लेनको सडकको अनुमतिबिना पोल्टिकल स्टन्डका लागि मात्रै बनाइएको रहेछ । त्यति बेला यो शुरु मात्रै भयो टुंगोमा नपुगेको देखियो । र, यो किन अलपत्र प¥यो भन्ने जवाफ चाहिँ पूर्वमेयर भीम पराजुली र वर्तमान मेयर नागेश कोइरालाले मात्रै दिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्