गण्डकीमा घुम्ती सिनेमा



चलचित्र विकास बोर्डले गण्डकी प्रदेशका गोरखा, लमजुङ, कास्की, पर्वत र बाग्लुङमा दोस्रो चरणको घुम्ती सिनेमा तथा सिनेमा साक्षरता अभियान कार्यक्रम सम्पन्न गरेको छ।

बोर्डले फिल्म हल नभएका क्षेत्रमा विद्यालयको भवन, सामुदायिक भवन, क्लब एवं खुल्ला स्थानमा फिल्म प्रदर्शन गरेको हो। कार्यक्रममा स्थानीय विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकको बाक्लो उपस्थिति रहेको बोर्डको दाबी छ। साथै, विद्यालय बाहेकका अन्य स्थानमा स्थानीयवासी, समाजसेवी, जनप्रतिनिधि, व्यवसायी, कर्मचारीलगायतको उपस्थितिमा फिल्म प्रदर्शन गरी यसबारेमा जागरण ल्याउन बोर्डले राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र पुरस्कार तथा अन्य विभिन्न पुरस्कारबाट पुरस्कृत भएका शिक्षामूलक, सन्देशमूलक, सामाजिक फिल्म प्रदर्शन गरी फिल्म हेर्न प्रोत्साहन गर्नेलगायतका विषयमा छलफलसमेत गरिएको थियो।

सम्बन्धित गाउँपालिका र नगरपालिकाका प्रमुखको प्रमुख आतिथ्यता तथा चलचित्र विकास बोर्डका अधिकृत हरिसिंह रैखोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अग्नीदहनका निर्माता कोविदशरण उपाध्याय, फिल्मकर्मी एवं चलचित्र विकास बोर्डअन्तर्गत आदिवासी जनजाति प्रवद्र्धन समितिका सदस्य वीरबल घले र स्थानीय सहजकर्तालगायत विभिन्न जिल्लाका स्थानीय अन्य सहजकर्ताले कार्यक्रमका बारेमा प्रकाश पारेका थिए भने बोर्डको तर्फबाट अभियानका बोर्डका अधिकृत गिरिश शर्माले जानकारी गराएका थिए। सातै प्रदेशमा फिल्म नभएका स्थानमा घुम्ती सिनेमामार्फत स्वदेशी फिल्म क्षेत्रको विकास, विस्तार र संवद्र्धन गर्न कार्यक्रम आयोजना गरिएको बोर्डले जनाएको छ। कार्यक्रममा ऐना झ्यालको पुतली, आमा, पचे गोरे (गुरुङ भाषा), गोपी, अग्निदहन र वृत्तचित्र ग्रेटर नेपाल प्रदर्शन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्