आठ संस्थाका पदाधिकारीलाई निर्माता संघको सम्मान



नेपाल चलचित्र निर्माता संघले बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गरी फिल्म क्षेत्रसँग सम्बन्धित संघ संस्थाका पदाधिकारीलाई सम्मान गरेको छ।

संघका अध्यक्ष नवल खड्काको सभापतित्व तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यता, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको विशेष आतिथ्यतामा सम्पन्न समारोहमा संघले हालै फिल्म क्षेत्रसँग सम्बन्धित आठ संघ संस्थाका नव निर्वाचित पदाधिकारीलाई सम्मान गरेको हो। सो अवसरमा नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र नृत्य संघ, नेपाल चलचित्र द्वन्द्व कलाकार संघ, चलचित्र पत्रकार संघ नेपाल र नेपाल आदिवासी जनजाति चलचित्र महासंघलाई सफल कार्यकालको शुभकामनासहित सम्मान गरिएको हो।

समारोहमा बोर्डका अध्यक्ष भुवन केसीले फिल्म क्षेत्रको समस्या समाधानका लागि दिनरात नभनी मेहनत गरिरहेको दाबी गर्दै फिल्म क्षेत्रको काम आपूmले भन्दा चाँडै कसैले गर्न सक्ने भए बोर्डबाट राजीनामा दिन तयार भएको बताए। केसीले फिल्म क्षेत्रको लागि नियम बनाएर मन्त्रालयमा पठाए पनि फाइल अगाडि बढ्न नसकेको कारण फिल्मकर्मीको माग छिटो समाधान गर्न नसकेको बताए। त्यसैगरी, फिल्म निर्माता अशोक शर्मा, विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राई, दयाराम दाहाललगायतले फिल्म क्षेत्रका विभिन्न विषयमा चर्चा गरे। आयोजक निर्माता संघका अध्यक्ष नवल खड्काले सबै संघ संस्थालाई एक ढिक्का भएर अघि बढ्न मद्दत मिलोस् भन्ने उद्देश्यले बधाई तथा सम्मान कार्यक्रम आयोजना गरिएको बताए।

प्रतिक्रिया दिनुहोस्