काठमाडौं । ‘हेभीवेट’ का उम्मेदवारहरूका कारण रोचक बनेको उपनिर्वाचनका लागि आज शुक्रबारदेखि औपचारिक रूपमा प्रचारप्रसार शुरू भएको छ ।
यही वैशाख १० गते चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि बिहीबार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी चिह्न वितरण गरेसँगै आजदेखि औपचारिक प्रचारप्रसार शुरू भएको हो । उपनिर्वाचनले राष्ट्रिय राजनीतिको अंक गणितमा तात्विक फेरबदल नगर्ने स्थिति हुँदाहुँदै पनि उम्मेदवारहरूको व्यक्तित्वले गर्दा उपनिर्वाचनले राष्ट्रिय रुपमा तरङ्ग उत्पन्न गरेको छ ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा विजयी भई उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले सांसद पद खारेज भएपछि चितवन क्षेत्र नं २ बाट पुनः उम्मेदवारी दिनुभएको छ ।
रामचन्द्र पौडेल राष्ट्रपति भएपछि खाली तनहुँ क्षेत्र नं १ हालै नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका अर्थविद् स्वर्णिम वाग्लेले उम्मेदवार दिएपछि सो क्षेत्र पनि चर्चाको केन्द्रबिन्दुमा रहेको छ ।
रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि रिक्त रहेको बारा क्षेत्र नं २ को उपनिर्वाचन जनता समाजवादी पार्टीका अध्यक्ष एवं पटकपटक उपप्रधामन्त्री भएका उपेन्द्र यादवको उम्मेदवारीले थप चाख लाग्दो बनाएको छ ।
उपनिर्वाचन हुने सम्बन्धित क्षेत्रमा बाहेक सामाजिक सञ्जालदेखि विभिन्न सार्वजनिक वृत्तमा तीन जनाको चर्चाले चुनावी माहोल बनाउँदै लगेको छ । घरदैलो, आमसभा, माइकिङलगायत चुनावी प्रचारप्रसारका गतिविधि शुरू हुने भएपछि आयोगले शुक्रबारदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता लागू गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन आचारसंहिताको पालनाको महत्वपूर्ण हुने बताउँदै आचारसंहिता लागू गरिएको जिकिर गर्दै आयोगका प्रवक्ता पौडेलले भन्नुभयो– ‘गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी लागू गरिएको आचारसंहितालाई केन्द्रित गरेर तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन आचारसंहिता लागू हुनेछ ।’
निर्वाचन आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्र्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र सो निकायका पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी लागू हुनेछ । त्यस्तै, स्थानीय कार्यपालिका र सोका सदस्य, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारीहरूलाई पनि सो आचारसंहिता लागू हुनेछ । राजनीतिक दल तथा राजनीतिक दलको भातृ संगठन उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति र अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्तालाई आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।
त्यस्तै, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी, मतदाता र विकास साझेदार संस्थालाई पनि आचारसंहिता लागू हुने बताइएको छ । आयोगका अनुसार सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी, निजी क्षेत्र, वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदारलाई पनि आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।
आयोगका अनुसार बिहीबार बिहान ९ बजेदेखि १ बजेसम्मका लागि तोकिएको उम्मेदवारी फिर्ता लिने समयमा कसैले पनि उम्मेदवारी फिर्ता नलिएपछि अन्तिम नामावली प्रकाशित गरिएको थियो । राजनीतिक दलको तर्फबाट चितवन क्षेत्र नं २ मा २४ जना, तनहुँ क्षेत्र नं १ मा ९ जना र बारा क्षेत्र नं २ मा ३६ जना र स्वतन्त्रबाट ३६ जना गरी जम्मा ६९ जनाको उम्मेदवारी परेको थियो । त्यसमध्ये चितवन क्षेत्र नं २ र बारा क्षेत्र नं २ मा क्रमशः १२ र ९ जनाको स्वतन्त्र उम्मेदवारी परेको थियो । तनहुँमा भने स्वतन्त्र उम्मेदवारी परेको छैन ।
तनहुँ क्षेत्र नं १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा क्षेत्र नं २ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै वैशाख १० का लागि आयोगले उपनिर्वाचनको मिति घोषणा गरेको थियो । नागरिकता विवादका कारण सर्वोच्च अदालत रवि लामिछानेलाई पदमुक्त गरेसँगै चितवन क्षेत्र नं २ मा उपनिर्वाचनको घोषणा गरिएको थियो ।











प्रतिक्रिया