एकल साँझमा गुञ्जिए तुलसी पराजुली



चर्चित गायक तुलसी पराजुलीले क्यान्सर र मृगौला पीडितको सहयोगार्थ डेढ दर्जन गीत प्रस्तुतिसँगै हालै राजधानीमा एकल साँझ सम्पन्न गरेका छन्।

स्वास्थ्य र संगीतको संगम बनाउँदै गायक पराजुली डेढ दर्जन गीतसँगै नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा एकल साँझमार्फत प्रस्तुत भएका हुन्। गायक पराजुलीलाई एकल साँझमा गायिका प्रविशा अधिकारी, दीपा सुहाङ र खुशी थुलुङले साथ दिएका थिए। त्यसैगरी कोरसमा अर्जुन आले मगर र उपेन लिम्बूले साथ दिएका थिए। गायक तथा संगीतकार अशोक राईले वाद्यवादकको संयोजन गरेको कार्यक्रममा अकोडियनमा शीलाबहादुर मोक्तान, सारंगीमा भरत नेपाली, तबलामा भरत बुढाथोकी, ऋदम गीतारमा दीपक थापा, बेस गीतारमा देव चाम्लिङ, सहनाईमा धनबहादुर गुरुङ, अक्टोप्याडमा शशी भूषण, मादलमा पोषण घर्ती र नरेश प्रजापति, ढोलकमा राम सुश्लिङ, भ्वाइलिन कोअर्डिनेटर र सेक्सोफोनमा मनोहर सुनाम, भ्वाइलिनमा रविन कार्की ढली, मोहनकृष्ण कार्की ढली, नारायणदास कार्की ढली, केशव सुनाम, विकासनाथ योगी, किशोर कार्की ढली, विनिता कार्की ढली, किबोर्डमा राहुल भुजेल र बाँसरीमा गोपालदेव घतानी रहेका थिए।

राष्टिझय गीत वीरपूर्खाबाट एकल साँझ आरम्भ गरेका पराजुलीले हेर्दाहेर्दै बाटो हरायो, आधा माया, छोडेर जानेको मायाले मा¥यो, लेकैमा चौंरी, लेकैमा फूल्यो, पाटनैको पातलो चिउरा, तमोर खोला बाढी आयो, पिरतीले जोगी बनायो, वैंशको सत्यनाश, दोमाना बजार, खोटाङ जिल्ला दिक्तेल बजार, आकाशैको कालो बादल, मुसुक्कै हाँस्ने, कान्छीको छातालगायतका गीत सुनाएर संगीतप्रेमीलाई मोहित तुल्याएका थिए।

चौबिसे समाज धनकुटाका अध्यक्ष दुर्गा मादी देवानको सभापतित्वमा भएको उक्त कार्यक्रममा समाजका उपाध्यक्ष कार्यक्रम संयोजक गायक प्रकाश आचार्यले उपस्थित संगीतप्रेमी दर्शकहरुलाई स्वागत गरेका थिए ।

चर्चित गायक तुलसी पराजुलीको बारेमा प्रतिष्ठित गीतकार, निर्देशक एवं कलाकार लय संग्रौलाले शब्दचित्र प्रस्तुत गरेका थिए । संग्रौलाले धनकुटा डाँडाबजारमा जन्मिएको तुलसी पराजुलीका बाल्यकालदेखि सांगीतिक यात्राको बारेमा प्रस्तुत गरेका थिए।

गायक, गीतकार तथा वरिष्ट स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल र गायक पराजुलीकी माता टीकादेवी पराजुलीले संयुक्त रुपमा पानसमा दीप बालेर आरम्भ गरेको कार्यक्रममा डा. रिजालले स्वास्थ्य क्षेत्रमा दुःख पाएका असहायलाई एकल साँझमार्फत रकम कलेक्सन गरेर सहयोग गर्ने उद्देश्य लिएकोमा गायक पराजुलीप्रति आभार प्रकट गरेका थिए।

प्रतिक्रिया दिनुहोस्