लन्डन टु पेरिस नआउँदै चित्रा निर्माणको घोषणा



निर्देशक घनश्याम लामिछानेले आफूद्वारा निर्देशित पछिल्लो फिल्म लन्डन टु पेरिस प्रदर्शन नहुँदै चित्रा नामक नयाँ फिल्म निर्माण घोषणा गरेका छन्।

उनीद्वारा निर्देशित लन्डन टु पेरिस प्रदर्शनको तयारीमा छ। फिल्मको प्रदर्शनपश्चात् चित्रा सुटिङ प्mलोरमा जाने उनले बताए। लामिछानेले धौली, पञ्चेबाजा, अग्नीदहनलगायतका फिल्म निर्देशन गरिसकेका छन्।

फिल्मको हालै कास्ट एन्ड क्रिउ घोषणा गरिएको हो। आगामी भदौबाट छायांकनमा जाने फिल्ममा अभिनेता अर्पण थापा र निर्माता सन्तोष अधिकारी मुख्य भूमिकामा देखिनेछन्। पारिवारिक कथामा निर्माण हुने फिल्मको छायांकन नेपालका विभिन्न भागमा गरिनेछ। फिल्मले एक सामान्य बाबु र छोरीको कथा प्रस्तुत गर्ने निर्देशन लामिछानेले बताए।

चित्रा एसाप इन्टरटेनमेन्टको प्रस्तुति तथा सन्तोष अधिकारी फिल्म्स्को ब्यानरमा निर्माण हुने फिल्ममा भावना पन्तको लगानी तथा अजय अधिकारीको कथा छ। अजयको कथामा मनीष गौतमले पटकथा तथा संवाद बुनिरहेका छन्। फिल्ममा कथाकार अधिकारीको गीत रचना र सुरेश राईको संगीत रहनेछ। उनले निर्माण गरेको फिल्म तीन जन्तु प्रदर्शनको तयारीमा छ।

प्रतिक्रिया दिनुहोस्