स्वर्णिम वाग्लेको विद्रोह : तावाबाट हाम फालेर भुङ्ग्रोमा !



नेपालको अर्थराजनीतिमा आफूलाई क्रमशः स्थापित गर्दै आएका युवा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेद्वारा नेपाली कांग्रेस पार्टी परित्यागपश्चात राजनीतिक वृत्तभित्र पक्ष विपक्षमा बहस जारी छ ।

कतिपयले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनको ‘किचेन क्याबिनेट’को अन्याय अत्याचार सहेर, दबिएर, पिसिएर अपमानित हुँदै बस्नुभन्दा विद्रोह गरेर नयाँशक्ति निर्माणमा लागेको उपयुक्त भन्दै वाग्ले कदमको समर्थन गरेको पाइन्छ ।

त्यस्तै, वाग्लेले हतारमा निर्णय गर्न पुगे, पार्टीभित्र बसेर पनि विद्रोह गर्न सकिन्छ, राजनीतिमा धैयता र सहनशीलता पनि आवश्यक हुन्छ, एउटा झरीमै बर्खा सकिँदैन । पर्खन सक्नुपर्छ भन्ने मध्यमार्गी धार पनि छ । साथसाथै वाग्लेमा उच्च महत्वाकांक्षा रहेको, अस्थिर, योगदान नभए पनि पार्टीले पटक–पटक अवसर दिँदा नपुगेको, प्रयोजित व्यक्ति भन्दै उनको विद्रोहलाई विरोध गर्ने स्वर पनि प्रशस्तै छ ।

शेरबहादुर देउवा र उनको समूहले वाग्लेमाथि के अन्याय गर्यो, कसरी उनी अपमानित भए र वाग्लेकै शब्दमा पाँच दशक लामो आफ्नो परिवारको विरासत रहेको र आफू पनि २०४२ देखि सहभागी रहेको पार्टी परित्याग गर्नुपर्ने अवस्थामा पुगे भन्ने विषयलाई वाग्लेले नै स्पष्ट गर्न सक्छन् । तर, पछिल्लो एक दशकमा नेपाली कांग्रेसको अर्थराजनीतिमा सुनिँदै र चिनिँदै आएका थुप्रै नाममध्ये डा. स्वर्णिम वाग्ले पनि एउटा हो ।

नेपाली काग्रेसको इतिहासमा गोरखाका वाग्ले परिवार विभिन्न कालखण्डमा सहभागी रहँदै आएको पढ्न र सुन्न पाइन्छ तर एक दशक अघिसम्म डा. स्वर्णिम वाग्ले नेपालको राजनीतिमा सुनिएको नाम भने होइन । संविधान सभाको दोस्रो निर्वाचनपश्चात नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले एमालेसँगको गठबन्धनपश्चात सरकार गठन गरेपछि वाग्ले चर्चामा आएका हुन् ।

सरकारलाई आर्थिक नीति र योजना निर्माणमा सहयोग गर्ने निकाय राष्ट्रिय योजना आयोगमा नियुक्ति पाउन धेरै कांग्रेसी विद्धानहरुले जोडबल गरेका थिए । लामो रस्साकस्सीपछि तत्काली प्रधानमन्त्री कोइरालाले राष्ट्रिय योजना आयोग गठन गरेका थिए । प्राडा गोविन्दराज पोखरेलको नेतृत्वमा गठित आयोगमा सहभागी सबै नयाँ अनुसार थिए ।

कांग्रेस र एमालेका सिफारिसमा नियुक्ति पाएका पदाधिकारीहरू नयाँ भए पनि कोही पूर्वपरिचित नै थिए भने कोही नौला नाम थिए । तिनै नौलो नाममध्ये डा. स्वर्णिम वाग्ले पनि एउटा हुन् । नेपालको अर्थराजनीतिमा नौलो नाम प्रवेश पाएपछि सबैतिर कौतुहल्ता भयो । नियुक्तिको लामो समयपछि मात्र उनले पदबहाली गरेका हुन् । सायद, विश्वबैंकमा बुझबुझारथ गरेर आउँदा ढिलाइ भएको हुनसक्छ ।

नेपालको प्रमुख दातृनिकाय विश्वबैंकको माथिल्लो पदमा जागिर खाँदै गरेको र अर्थशास्त्रको धुरन्धर विद्धानका रूपमा उनको परिचय स्थापित गरियो । त्यो परिचयलाई उनले अहिलेसम्म पनि कायमै राखेका छन् । तत्कालीन योजना आयोगमा दुईखाले प्रवृत्तिका पदाधिकारी देखिन्थे । एउटा समूह अवकाशपछिको जीवन बिताउन आएका र अर्को समूह केही गरौं भन्ने जोश भएका थिए । डा. वाग्ले तिनै जोश भएका समूहमा थिए ।

नेपालको योजना निर्माण र कार्यान्वयनमा ‘रिफर्म’ गर्नुपर्छ भन्ने त्यो समूहको विचार थियो । तर, तत्कालीन अर्थमन्त्री डा. रामशरण महत जो राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भइसकेका कयौंपटक अर्थ मन्त्रालय सम्हालिसकेका थिए । डा. महतले राष्ट्रिय योजना आयोगलाई खासै वास्ता गरेको देखिँदैन्थ्यो । प्रधानमन्त्रीले पत्याए पनि सायद अर्थमन्त्रीले पत्याएका थिएनन् कि !

सुशील कोइरालाको सरकार रहेकै बेला २०७२ सालको भूकम्प गयो । देशमा ठूलो जनधनको क्षति भयो । भूकम्प जाँदा प्रधानमन्त्री कोइराला विदेश भ्रमणमा थिए भने बाँकी रहेको सिंगो काग्रेस नेतृत्व र पार्टीको विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरू बसुन्धाराको दियालो फूडल्यान्डमा थिए ।

अहिलेका राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा रहेको कांगे्रसको नीति विभागद्वारा आयोजित उक्त कार्यक्रममा देशको वर्तमान अवस्था र आगामी दिनमा सरकारले दिनुपर्ने आर्थिक नीतिका बारेमा गर्मागर्मी बहस भइरहेको थियो । गगन थापा, रमेश लेखकलगायत थुप्रै नेताले तत्कालीन अर्थमन्त्री डा. महतलाई ¥याख¥याख्ती पारेका थिए । कार्यक्रमको दोस्रो चरणमा योजना आयोगका तर्फबाट पनि प्रस्तुती दिने सूची थियो । दुर्भाग्य, पहिलो चरणको कार्यक्रम चलिरहेका बेला नै भूकम्प गयो र कार्यक्रम बिथोलियो ।

हलबाट बाहिर निस्किन कांग्रेस नेतृत्वमा भागदौड मच्चिएको थियो । यद्यपि, ठूलो क्षति भने त्यहाँ भएन । त्रास भने कायमै थियो । एकैछिनमा चक्रपथमा साइरन बजाउँदै एम्बुलेन्स, सेना तथा प्रहरीका गाडी दौड्न थाले ।

पार्टी प्यालेसकै चौरमा बसेर डा. वाग्लेले ल्यापटप खोली भूकम्पको बारेमा प्राम्भिक जानकारी उपस्थित मन्त्री र पार्टी नेतालाई दिएका थिए । ठूलो भूकम्प गएको र धरहरा भत्किएको लगायतका प्रारिम्भक जानकारी पाएपछि चौरमा बसेका तत्कालीन सञ्चारमन्त्री डा. मिनेन्द्र रिजाललगायतका मन्त्रीहरु मन्त्रिपरिषद्को आपत्कालीन बैठक बस्नुपर्ने भन्दै सिंहदरबारतर्फ लागेका थिए ।

बास्तवमा डा. वाग्लेलाई नेपालको अर्थराजनीतिक वृत्तमा सोही भूकम्पले नै स्थापित गराएको हो भन्दा अतिसयोक्ति हुँदैन । भूकम्पबाट जनधनको क्षति भएपछि पुनस्र्थापना र पुर्निर्माणमा कसरी अगाडि बढ्न सकिन्छ, आवश्यकता के हो ? बजेट कति चाहिन्छ, आन्तरिक स्रोतबाट कति सम्भव छ ? दातृ निकायबाट सहयोग र अनुदान ल्याउन सकिन्छ ? भन्ने विषयमा अध्ययन गरी प्रतिवेदन तयार गर्न सरकारले राष्ट्रिय योजना आयोगलाई जिम्मेवारी दिएको थियो ।

डा. पोखरेल र डा. वाग्लेलगायतका समूहले अन्नपूर्ण होटलमा हप्तौ बसेर ‘विपद्पछिको आवश्कता’ (पोस्ट डिजास्टर निडस् एसिस्मेन्ट (पीडीएनए) रिपार्ट तयार गरेको थियो । उक्त रिपोर्ट असार महिनामा भएको दातृ सम्मेलनमा सरकारले प्रस्तुत गरेको थियो । सोही रिपोर्टका आधारमा भूकम्पपछिको पुनर्निर्माणका आधारमा दातृनिकायहरूद्वारा झण्डै पाँच खर्ब रुपियाँको सहयोगको प्रतिबद्धता नेपालले प्राप्त गरेको थियो । डा. वाग्ले लामो समय दातृनिकायमा कार्यरत रहेको हुँदा उक्त प्रतिवेदन दाताले खोजेजस्तो भएको भन्दै प्रशंसा पनि भयो ।

लगत्तै नयाँ संविधान जारी भयो, कोइरालको सरकार ढल्यो । नाकाबन्दी लाग्यो । राजनीतिक वृत्तमा धेरै उथलपुथल भए ।
पुष्पकमल दाहालको दोस्रोपटक सरकार गठनका बेला माओवादी– कांग्रेस गठबन्धनमा वाग्ले पुनः राष्ट्रिय योजना आयोगमा कांग्रेसको नेतृत्व गर्दै वरिष्ठ सदस्य भए । पुष्पकमल दाहालपछि शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भयो । त्यसमा डा. वाग्ले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भए । पछिल्ला दुई कार्यकाल वाग्लेका औसत नै थिए । ठूलो परिवर्तन देखिएन । पहिले कार्यकालकै उपलब्धि अहिलेसम्म छ ।

नेपालको राजनीति कांग्रेस अनुकूल नभइरहेको स्थितिमा वाग्ले फेरि दातृनिकायमा जागिर खान पुगे । नेपालमा रहँदा थिङ्क ट्यांकका नाममा गैरसरकारी संस्थामा आबद्ध रहँदै आएका छन् ।

यसपटक गत मंसिरमा निर्वाचन हुनुअघिसम्म उनी वैदेशिक निकायमा कार्यरत थिए । नेपालमा चुनावको सारगर्मी शुरू भइरहेको र सञ्चारमाध्यम तथा पार्टी पंक्तिबाट पनि नयाँ पुस्ताको आवश्यकतामा उनको नाम चर्चा रह्यो । चितवन, काठमाडौं जहाँबाट भए पनि चुनाव लड्ने योजनाका साथ नेपाल फर्किएका वाग्लेले टिकट पाएनन् तर महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको पार्टीको घोषणापत्र लेखनको मस्यौदा तयार गर्ने जिम्मेवारी उनैले पाए ।

पार्टीको घोषणापत्रको व्याख्या गर्ने, उम्मेदवार तथा नेतृत्व पंक्तिलाई प्रशिक्षण दिनेलगायतका चुनावी प्रचारमा उनको सक्रियता लोभलाग्दो थियो । निर्वाचनपश्चात उनले डा. शेखर कोइराला समूहमा बसेर नीति तथा योजना निर्माण संलग्न थिए । पछिल्ला दिनमा देशको अर्थतन्त्रमा देखिएका समस्याका बारेमा कोइरालाले गर्ने छलफलमा डा. वाग्ले र डा. पोखरेल सक्रिय थिए ।

अंग्रेजी तथा नेपाली दुवै भाषमा वाक पोटुता भएका र विषय विज्ञ भएका वाग्लेको देश विदेशको प्रख्याती उनको विज्ञताले दिलाएका कुरा दुई मत छैन । तर, उनलाई त्यो अवसर भने कांग्रेसले नै दिएको हो भन्दा गलत पनि हुँदैन ।

नेपाली कांग्रेसमा डा. शेखर कोइराला समूहमा डा. वाग्ले र डा. पोखरेलको भूमिका निर्णायक थियो । तर, बिहीबार डा. वाग्लेको निर्णयले नेपालको राजनीतिलाई सतहीरुपमा बुझ्ने हामी जस्तालाई अचम्भित बनाएको छ ।

नेपालको पछिल्लो राजनीतिमा करिब ९ वर्षको अवधिमा तीन पटकसम्म पार्टीको तर्फबाट राज्यको नीति निर्माणको तहमा नियुक्ति र पार्टीको नीति तय गर्ने र कार्यकर्ता उत्पादन गर्ने जस्तो भूमिका पाउँदै आएका डा. वाग्लेमाथि के साच्चै पार्टीले अन्याय गरेको छ ? सामान्यता, नेपालको राजनीतिमा विशेषगरी कांग्रेसमा संस्थापन इतर पक्षले प्राप्त गर्ने उक्त अवसरका आधारमा होइन । कांग्रेसमा जुनी बिताएर पनि अवसर नपाएकाहरूलाई त्यो अवसर नै ठूलो हो ।

डा. वाग्ले तनहुँको उपनिर्वाचनमा सहभागी हुने तयारी गरेका छन् । जहाँ उनको ठाउँ गोविन्द भट्टराईले कांग्रेसको टिकट पाएका छन् । शेरबहादुर देउवाका हजार गलत निर्णय भए पनि यो निर्णय औसतमा उपर्युक्त नै देखिन्छ । भट्टराई नेविसंघको सभापति हुँदा गगन थापा त्रि–चन्द्र क्यापम्सको इकाईमा थिए भने विश्वप्रकाश उनकै केन्द्रीय समितिमा । पार्टी राजनीतिमा निरन्तर सक्रिय रहे पनि सँगै र पछिल्लो पुस्ताले फड्को मार्दा पनि भट्टराईले पार्टीमा न्यून अवसर प्राप्त गरेका व्यक्ति हुन् ।

डा. वाग्ले मात्रै होइन शेरबहादुर देउवाबाट पीडितका संख्या धेरै छ तर भट्टराईलाई टिकट दिँदा वाग्लेलाई अन्याय भने भएको छैन । आफ्नोभन्दा फरक विचार राख्ने, अर्को पक्षसँग निकट सम्बन्ध राख्नेलाई भित्तामा पुर्याउने कांग्रेस प्रवृत्तिले डा. वाग्लेलाई अपमानित गराएको हुनसक्छ । मंसिरमा धेरैको सदायता हुँदाहुँदै पनि टिकट नदिनु र अहिले राष्ट्रपतिको अवैतानिक आर्थिक सल्लाहकार वा उपनिर्वाचनमा टिकट नपाउनुले पनि उनको मन कुँडिएको हुन सक्छ ।

डा. वाग्लेको विद्रोहको कारण यति मात्रै कारण हो कि अरु पनि छन् । त्यो त डा. वाग्लेले नै स्पष्ट पार्लान् । तर, सरसर्ती हेर्दा सहतमा देखिएको कारण यति मात्र हो । पार्टीमा सक्रिय हुने आफ्नो चाहानालाई पार्टी नेतृत्वले बाटो छेक्न थालेपछि विद्रोह गर्नु एउटा पक्ष होला तर उनी संलग्न रहेको समूह जसलाई हुर्काउन बढाउनेमा योगदान रह्यो त्यो समूहले उनको संरक्षणमा कति पहल गर्यो । त्यो पनि मूल्यांकन हुनुपर्छ ।

कांग्रेसीहरुमध्ये डा. वाग्लेले प्राप्त गरेको अवसर कम होइन तर पर्याप्त पनि छैन । उनले डा. कोइराला समूह निर्णायक तहमा पुगेपछि फर्किने जुन आशय व्यक्त गरेका छन् । त्यो बाक्यले नै उनलाई विरोधाभाषमा धकेलेको छ ।

निश्चय पनि पार्टी राजनीतिमा क्षमता, योगदानको कदर भएको छैन, त्यो अहिले देखिएको हरेक पार्टीको गुप्तरोग हो । पार्टीको विकृति विसंगति र गलत निर्णयविरुद्ध नेतृत्वसँग औला उठाएर बोल्ने आँट कमै नेतामा छ ।

कांग्रेस विधानअनुसार पार्टी शेरबहादुर देउवाको नेतृत्व अब चार वर्ष बाँकी छ, त्यसपछि देउवाबाहेकको व्यक्ति सभापति हुनेछन् ।
उमेर र कार्यकर्ताको चेतका आधारमा अर्को चुनाव र महाधिवेशनसम्म कांग्रेसको पुरानो पुस्ताको ठूलो संख्या बाहिरन्छ, त्यसपछि अहिलेको परिवर्तनकारी समूह नै नेतृत्वमा आउने हो । त्यसबेलासम्म पर्खन सक्ने धैर्यता वाग्लेमा देखिएन ।

अर्को कुरा जुन समूहबाट नयाँ राजनीतिक यात्रा तय गर्दै छन् । त्यो दल देउवा प्रवत्तिभन्दा भिन्न छ त ? त्यहाँ आन्तरिक लोकतन्त्र छ ? कुन विचार र नीतिले कार्यकर्तालाई बाँधेको छ ? जुन पार्टीको निर्णय एउटा व्यक्तिको लहडमा चल्छ, जुन दलको मार्गदर्शक सिद्धान्त स्पष्ट छैन, अरु पार्टीको असन्तुष्टिलाई बोक्दैमा त्यो पार्टीबाट परिवर्तनको अपेक्षा गर्नु ‘तावाबाट उफ्रिएर भुङ्ग्रो’ पर्ने माछाको कथाजस्तै वाग्लेको राजनीतिक जीवन नहोला भन्न सकिँदैन ।

मंसिरमा कांग्रेसबाट टिकट नपाएर रन्थनिएका बेला केपी ओलीले रोजेको ठाउँबाट टिकट दिन्छु भनेर र रवीन्द्र मिश्र एवम् उज्ज्वल थापाले पार्टी खोल्न लामै समयसम्म फकाउँदा नफकिएका डा. स्वर्णिम वाग्लेलाई रवि लामिछानेको के कुराले आकर्षित गर्यो ? र उनी लामिछानेलाई नेता मान्न तयार भए त्यो रहस्य गर्भमै छ । देउवा गुटबाट अपमानित भएका तर शेखर कोइराला गुटबाट पुल्पुलाइएका डा. वाग्लेले लामिछाने प्रवृत्तिबाट कस्तो महशुस गर्लान् ? नेपालको राजनीतिमा आशा गरिएका व्यक्तिमै छिट्टै निराशा उत्पन्न भई राजनीतिबाटै संन्यास प्राप्त नहोस् शुभकामना ।

प्रतिक्रिया दिनुहोस्