हेल्थ टिप्स : गर्भावस्थामा के-के परीक्षण गराउनुपर्छ ?



नेपालमा केही समयअगाडिसम्म पनि कलिलै उमेरमै बिहा गर्ने, छिटो गर्भधारण गर्ने, गर्भवती बेला गर्भजाँच नगराउने, घरमै बच्चा पाउने, परिवार नियोजनका साधन नअपनाउने तथा धेरै बच्चा पाउने गरिन्थ्यो । नेपाली महिलाहरु पनि शिक्षित एवं कामकाजी हुन थालेसँगै ढिलो बच्चा पाउने एवं कमभन्दा कम बच्चा पाउने चलन आउन लागेको छ । त्यसमाथि तुलनात्मकरुपमा नेपालीहरुको आर्थिक स्तर पनि बढ्न थालेसँगै गुणस्तरीय स्वास्थ्य सेवाप्रति सेवाग्राही पनि चनाखो हुँदै गएका छन् ।

गर्भावस्थामा गर्भवती महिला र गर्भेशिशुको स्वास्थ्यलाई ध्यानमा राखी विभिन्न ल्याब परीक्षणहरु गराउनुपर्ने हुन्छ । यस्तैमा के शिक्षित, के अशिक्षित जो–कोही पनि गर्भावस्थाका बेला चेकअपका लागि जाने तथा आवश्यक ल्याब परीक्षणहरु गराउने चलन बढेको छ ।

अभैm पनि चिकित्सक वा नर्सकै सल्लाहमा गर्भ जाँचसम्बन्धी परीक्षणहरु गर्ने÷गराउने भए पनि आंशिकरुपमा सेवाग्राहीहरु गुगलमा हेरेर र आफूले सुनेका ल्याब परीक्षणहरुबारे जानकारी लिन आउँछन् । हुन त कतिपय प्राइभेट स्वास्थ्य संस्थाहरुमा अनावश्यक परीक्षण गराउने एवं उही परीक्षणहरु पटक–पटक दोहो¥याउने पनि गरिन्छ । त्यस कारणले पनि गर्भावस्थामा के–कस्ता ल्याब परीक्षणहरु गराउनुपर्ने हुन्छ भन्नेबारे जानकारी थाहा पाइराख्नु फाइदै हुन्छ ।

चालीस महिना लामो मानिसको गर्भलाई विभिन्न चरणमा बाँड्ने क्रममा गर्भावस्थाको १२ हप्तासम्मलाई प्रथम त्रैमासिक, १३ देखि २८ हप्तासम्मलाई दोस्रो त्रैमासिक र २९ देखि ४० हप्तासम्मलाई तेस्रो त्रैमासिक गरी बाँडिएको छ ।

गर्भावस्थाको सात महिनासम्म प्रत्येक महिना, ७ देखि ९ महिनासम्म प्रत्येक दुई हप्तामा तथा ९ महिना पूरा भएपछि सुत्केरी नभएसम्म प्रत्येक हप्ता गर्भजाँच गराउन आउन परामर्श दिइन्छ ।

विवाहित महिलामा महिनावारी रोकिएसँगै गर्भ आएको, नआएको घरमै पिसाब जाँच किटबाट पत्ता लगाउन सकिन्छ । घरनजिकै अल्ट्रासाउन्ड (भिडियो एक्सरे) को सुविधा छ भने अल्ट्रासाउन्ड गराउनुका थप फाइदाहरु छन् । पहिलो त्रैमासिकमा अल्ट्रासाउन्ड परीक्षणबाट गर्भमा रहेको भ्रूणको बनावट, गर्भावस्थाको अवधि निश्चित गर्न, मुटुको धड्कन, जुम्ल्याहा वा पाठेघरबाहिर गर्भ रहेको, गर्भ बिग्रेको, मोलर खालको गर्भ रहेको थाहा पाउन सकिन्छ ।

यसरी गर्भ रहेको निक्र्यौल भएपछि पहिलोपटकको चेकअपमा गर्भवती महिलाको शरीरमा हेमोग्लोबिन (रक्तअल्पता छ, छैन हेर्न), पिसाब, यौनरोगसम्बन्धी, रक्तसमूह, हेपाटाइटिस बी र एचआईभीसम्बन्धी जाँचहरु गराउनुपर्दछ । र, प्रत्येक तीन–तीन महिनामा हेमोग्लोबिन र पिसाबको जाँच दोहो¥याउनुपर्दछ । प्रत्येक पटकको चेकअपमा गर्भवती महिलाको शारीरिक तौल लिने, रक्तचाप नाप्ने र उनीहरुका गुनासो केही भए त्यसको निराकरण गरिन्छ ।

यसै क्रममा गर्भावस्थाको १६ हप्तादेखि २२ हप्तामा गर्भेशिशुको वृद्धि, गर्भावस्थाको अवधि, बच्चामा कुनै शारीरिक (पेट, ढाड, पेट, मुटुमा) विकलांग, सालको अवस्थिति थाहा पाउन अल्ट्रासाउन्ड गराउनुपर्दछ । र, तेस्रो त्रैमासिकमा गर्भेशिशुको वृद्धि, तिनको मोटामोटी तौल, सालको अवस्थिति तथा शिशुवरिपरिको पानीको मात्रा थाहा पाउन भने अल्ट्रासाउन्ड गराउनुपर्दछ । यदि पाठेघरभित्रको शिशुको वृद्धिदर निकै कम छ वा गर्भवती महिलामा उच्च रक्तचाप छ भने अल्ट्रासाउन्डसँगै डप्लरको सहायताले गर्भेशिशुमा केही नकारात्मक असर पुग्यो÷पुगेन जाँचिन्छ । जनमानसमा तथा सम्बन्धित दम्पतीमा पटक–पटक अल्ट्रासाउन्ड गर्नाले गर्भेशिशुमा नकारात्मक असर पुग्ला कि भन्ने चिन्ता हुने गर्दछ । यो केवल गलत अवधारणामात्र हो । अन्य खालको एक्सरेमा भैmँ विकिरण हैन कि अल्ट्रासाउन्डमा ध्वनि तरंगको सहायता लिइने भएकोले खासै नराम्रो असर गर्दैन ।

गर्भवती महिलामा मधुमेह छ कि वा गर्भवती अवस्थाका कारण मधुमेह विकसित भयो कि भनेर पत्ता लगाउन गर्भ अवधिको २४ देखि २८ हप्तामा ५० वा ७५ ग्राम ग्लुकोज ख्वाएर एक घन्टापछि रगतमा चिनीको मात्रा जाँच गराउनुपर्दछ । माथि उल्लिखित यी परीक्षणहरु गर्भावस्थामा गर्नुुपर्ने न्यूनतम ल्याब परीक्षणहरु हुन् ।

पहिलो त्रैमासिकमा गर्भवती महिलामा अपेक्षा गरेभन्दा धेरै उल्टी हुने समस्या हुँदा पिसाबमा एसिटोन भन्ने पदार्थ एवं रगतको जाँच गराउनुपर्दछ । गर्भावस्थाको पहिलो त्रैमासिकमा रगत बहनु वा हल्का रगत मिश्रित योनिश्राव हुनु भनेको गर्भ तुहिनुको पूर्वसूचना हो, त्यस्तो परिस्थितिमा अल्ट्रासाउन्डबाट निक्र्यौल गर्नुपर्दछ । यसै गरी पाठेघरबाहिर (इक्टोपिक) गर्भ रहेको वा भ्रूणको सट्टा अंगुरको दानाजस्तै हुने (मोलर) गर्भ पनि अल्ट्रासाउन्डबाटै पत्ता लगाइन्छ ।

यसको अलावा गर्भवती महिलाको शारीरिक तौल अनपेक्षित रुपमा बढ्यो, खुट्टा सुन्नियो भने वा रक्तचाप उच्च भएको पत्ता लाग्नासाथ प्रत्येक पटकको गर्भवती जाँचमा पिसाबमा एल्बुमिन भन्ने प्रोटिन छ÷छैन जाँच्नुपर्दछ । यदि गर्भवती महिलालाई साँच्चिकै उच्च रक्तचाप तथा यसका जटिलताहरु देखा परेको भए कलेजो तथा मृगौलाको कामसम्बन्धी, रगत बग्ने÷जम्ने क्षमतासम्बन्धी थप जाँचहरु एवं पटक–पटक भिडियो एक्सरे पनि गराउनुपर्दछ । गर्भवती महिलामा मधुमेह, मृगौलासम्बन्धी रोग वा अन्य कुनै मेडिकल समस्या छ भने सोही बमोजिम थप ल्याब परीक्षणहरु गराउनुपर्ने हुन्छ । गर्भवती महिलाको रगत निगेटिभ समूह र उनको श्रीमान्को रक्तसमूह पोजिटिभ छ भने पेटभित्रको बच्चामा कुनै नराम्रो प्रतिक्रिया भयो कि भनेर रगतको विशेष जाँच एवं अल्ट्रासाउन्ड गराउनुपर्दछ । गर्भवती महिलालाई मुटुको समस्या छ भने ईसीजी, इकोकार्डियोग्राफी (मुटुको भिडियो एक्सरे) का साथै गर्भेशिशुमा पनि कुनै मुटुको खराबी विकसित भयो कि भनेर गर्भेशिशुको इको जाँच गराउनुपर्ने हुन्छ ।

यसको अलावा गर्भवती महिला मधुमेह, मुटु एवं मृर्गौलाको रोगी, पेटभित्रको शिशु सानो शंका गरिएकी, शिशुवरिपरि पानी बढी वा घटी भएकी, जुम्ल्याहा बच्चा बोकेकी, पहिला पटक–पटक दोस्रो त्रैमासिकमा गर्भपतन भएकी भए गर्भवती महिलामा प्रत्येक ३ हप्ता वा ४ हप्ताको अन्तरालमा अनुभवी चिकित्सकबाट अल्ट्रासाउन्ड गराउनुपर्दछ ।

विशेष परिस्थितिमा रगतमा क्रोमोजोम, शिशुको वरिपरिको पानी निकालेर विभिन्न जाँच एवं डप्लर अल्ट्रासाउन्ड गर्न सकिन्छ । सुत्केरी व्यथा लाग्नुपूर्व वा सुत्केरी व्यथाको क्रममा बच्चाको मुटुको धड्कन तथा पाठेघर खुम्चिँदाको चाप नाप्ने जाँच पनि गर्न सकिन्छ । सुत्केरीपूर्व व्यथा लागेको खण्डमा, पाठेघरभित्रै शिशुको मृत्यु भएमा तथा सुत्केरीपश्चात् उच्च ज्वरो आएमा योनिश्राव, रगत, पिसाब एवं अल्ट्रासाउन्डको सहायताले कारण खुट्याउन मद्दत गर्दछ ।

पहिला पटक–पटक गर्भ खेर गएकी गर्भवती महिलामा गर्भावस्थाको शुरुतिर विभिन्न संक्रमण (टोक्सोप्लाज्मा, रुबेल्ला, साइटोमेगालो, हर्पिस), मधुमेह, रक्तनलीभित्रै रगत जम्ने समस्या, निगेटिभ रगत समूह छ÷छैन जाँच्नुपर्दछ । त्यसै गरी गर्भावस्थामा हेपाटाइटिस ‘ई’ संक्रमण खतरनाक साबित हुनसक्छ । त्यसैले जुनसुकै प्रकारको हेपाटाइटिस भए पनि ‘ई’ प्रकारको हेपाटाइटिसचाहिँ छ÷छैन जाँच्नुपर्दछ ।

(प्रा.डा. सुमनराज ताम्राकार, साधना हेल्थ चैत्र २०७९ बाट साभार)

प्रतिक्रिया दिनुहोस्