कोरोना बढेसँगै नाकामा परीक्षण शुरू गरिँदै, बुस्टर डोजमा जोड दिँदै स्वास्थ्य मन्त्रालय



काठमाडौं । गत सातादेखि एकाएक कोरोना संक्रमण बढ्न थालेपछि सीमा नाकाहरूमा पुनः कोभिड–१९ परीक्षण कार्यलाई निरन्तरता दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले नेपाल समाचारपत्रलाई दिनुभएको जानकारीअनुसार सीमा नाकामा कोरोना महामारीको बेलामा बनाइएका संयन्त्रहरू सक्रिय बनाउन लागिएको हो ।

जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गराउन विभिन्न सञ्चार माध्यमबाट सचेतना फैलाइएको जानकारी दिँदै उहाँले संक्रमण फैलन नदिन मन्त्रालय सक्रिय रहेको बताउनुभयो । जोखिममा रहेका व्यक्तिलाई जोगाउन परिवारकै भूमिका बढी हुने जिकिर गर्दै उहाँले भन्नुभयो– ‘कोरोनाविरुद्धको खोपको बुस्टर मात्रा रोग प्रतिरोधात्मक क्षमतामा कमी भएका, दोस्रो मात्राको खोप लगाएको ६ महिना पूरा भएका या बुस्टर मात्रा लगाएको ६ महिना पूरा भएका ५५ वर्षमाथिका जेष्ठ नागरिकहरूलाई कोरोना संक्रमणबाट बचाउने उद्देश्यले पुनः बुस्टर मात्रा दिने कार्यक्रम ल्याएको छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभर थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल ९ सय १५ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३७ तथा एन्टिजेन विधिबाट ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार गत ३ दिनमा १७ जना संक्रमित निको भएर घर फर्किसकेको छ । अहिले देशभरि सक्रिय संक्रमितको संख्या १ सय २३ जना रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा ४ वर्षभित्रमा कोरोना महामारीका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ । नेपालमा हालसम्म ६० लाख २० हजार १ सय ३८ जनामा पीसीआर परीक्षण गरिएको छ भने १५ लाख ३९ हजार २ सय ८ जनाको एन्टिजेन परीक्षण गरिएको छ । पीसीआरबाट १० लाख १ हजार ३ सय २५ जना र एन्टिजेनबाट १५ लाख २ हजार ३ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यही चैत्र ८ गते १ हजार ३ सय ८७ जनामा पीसीआर र एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमितको संख्या शून्य रहेको थियो । त्यसअघि २०७९ पौष २३ गते ५ सय ५५ जनामा कोरोना परीक्षण गर्दा ३ जनामा संक्रमित पुष्टि भएको थियो भने सोही दिन १ जनाको उपचारकै क्रममा मृत्यु भएको थियो । यसपछिका दिनमा कोरोना संक्रमण दर न्यून रहँदै आएकोमा गत सातादेखि बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ३० मार्च २०२३ सम्ममा ६८ करोड ३६ लाख ६४ हजार ३ सय २३ जना पुगेको छ भने कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६८ लाख २९ हजार ३ सय ६६ रहेको छ । त्यसै गरी यो अवधिमा विश्वभरि कोरोना संक्रमणबाट निको हुनेको संख्या ६५ करोड ६६ लाख ४३ हजार ६ सय ३४ रहेको छ ।

चार वर्षको अवधिमा अमेरिकामा १० करोड ६१ लाख ६३ हजार ४ सय ८ जना सक्रिय संक्रमित भएकोमा ११ लाख ५४ हजार ३ सय ५३ जनाको मृत्यु भएको विश्वको तथ्यांकमा उल्लेख छ । कोरोना उदगम स्थल चीनमा भने १६ करोड जनसंख्याको कोरोना परीक्षण गरिएको र तीमध्ये ५० लाख ३ हजार ३ सय जनामा कोरोना संक्रमण पुष्टि भएको तथ्यांकले देखाएको छ । चीन कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या केवल ५ हजार २ सय ७२ जना मात्र रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्