वैदेशिक रोजगारलाई निःशुल्क ‘टेलिमेडिसिन’ सेवा



नेपालको आयस्रोतको प्रमुख माध्यम भनेको वैदेशिक रोजगारबाट आउने रेमिट्यान्स नै हो । वैदेशिक रोजगारीमा योग्य हुन सीप जानेको र तालिमप्राप्त स्वस्थ व्यक्ति हुनुपर्छ । श्रमिकका रुपमा वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य परीक्षणको गुणस्तरीयता कायम गरिनुपर्छ । यस्तो स्वास्थ्य परीक्षणका लागि सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थालाई सरकारले मापदण्ड तोकेकै छ ।

नियमको पालना गर्नु स्वास्थ्य संस्थाको दायित्व हो । सरकारले जे–जति मापदण्ड तय गरेको छ त्यो भन्दा फरक विषयको परीक्षण गर्नुप¥यो भने सरकारको स्वीकृति लिनुपर्ने नियम रहेको छ । तर सरकारले तोकेको मापदण्ड पूरा भयो कि भएन भनी हेर्ने निकायले जनस्वास्थ्यजस्तो गम्भीर विषयमा ध्यान दिनु पनि उत्तिकै जरुरी छ । लाखौं रुपियाँ खर्चेर विदेशिएका श्रमिकहरु त्यहाँ पुगेर स्वास्थ्य परीक्षण गराउँदा समस्या देखिएर काम नै गर्न नपाई थप खर्च गरेर नेपाल फर्किन बाध्य छन् । यो गम्भीर विषयमा सरकारले ध्यान दिनुपर्छ ।

वैदेशिक रोजगारीमा विदेशिन बाध्य नेपाली श्रमिकहरुको स्वास्थ्य अवस्थाको विषयमा चासो दिई स्वास्थ्य समस्या समाधानका लागि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा शुरु हुनु स्वागतयोग्य विषय हो । यही चैत्र १५ गतेदेखि शुरु भएको निःशुल्क ‘टेलिमेडिसिन’ सेवा नेपालमा रहेका आफ्ना परिवारको जीविकोपार्जनलाई सहज बनाउन विदेशी भूमिमा रातदिन खट्ने नेपाली श्रमिकहरुका लागि संजीवनी बुटी बन्न सकोस् । विदेशमा बसेर स्वास्थ्य बिमा गर्न नसक्ने र बिमा गरेकाले पनि कामको चापले गर्दा सेवा लिनबाट वञ्चित भएका नेपालीहरुलाई लक्षित गरी स्वास्थ्य समस्या सम्बोधन गर्न शुरु गरेको ‘टेलिमेडिसिन’ सेवा विदेशमा रहने सबै नेपालीको पहुँचमा पुग्न सकोस् । नेपाल सरकार तथा वैदेशिक रोजगार बोर्ड सबै श्रमिकहरुको स्वास्थ्य समस्याको समयमै समाधान गर्ने प्रमुख निकाय बन्न सकून् ।

यो सेवा सार्वजनिक बिदाका दिनबाहेक नेपालमा कार्यालय सुचारु रहने दिन बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन गरिने भएको छ । स्वास्थ्य सेवा लिनका लागि नेपाली श्रमिकले मोबाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ को भाइबर, ह्वाट्सएप वा इमोलगायत सामाजिक सञ्जालबाट फोन गर्न सक्ने व्यवस्था मिलाएको र सबै विदेशी निकायमा जानकारी गराइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । यो सेवालाई परीक्षणका रुपमा मात्र नभई सबै नेपाली नागरिकको स्वास्थ्य सेवा पाउने नैसर्गिक अधिकारको रक्षा गर्ने किसिमले दीर्घकालीन बनाइयोस् । स्वस्थ नागरिक भएमा श्रम गरेकै भरमा देशको रेमिट्यान्स बढ्न र श्रमिकको आर्थिक उपार्जन बढ्न मद्दत पुग्नेछ ।

यो सेवा बिरामी श्रमिकबाट टेलिमेडिसिनका मेडिकल अधिकृतलाई दिइएको सूचनाका आधारमा विशेषज्ञ सेवा आवश्यक हो÷होइन पहिचान गरी आवश्यकता अनुसार मेडिकल अधिकृतको सिफारिसमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा उपलब्ध गराइनेछ । सेवा लिने श्रमिकका लागि ‘प्रेस्कृप्सन’ अनलाइनमार्फत उपलब्ध गराउने र रिपोर्ट उपलब्ध गराउन लाग्ने खर्च हाललाई बोर्डले व्यहोर्ने निर्णय गर्नुले नेपाली श्रमिकमा राहत पुग्ने अपेक्षा गरिएको छ । यो सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाई राज्यको दायित्व पूरा गर्न नेपाल सरकार नचुकोस् । यो सेवा विश्वकै लागि उदाहरणीय बनी नेपाललाई मेडिकल टुरिजम हब बनाउन पनि माध्यम बन्न सकोस् ।

प्रतिक्रिया दिनुहोस्