काँकडभिट्टा–लौकही सडक खण्डमा ७१ वटा खोला



भद्रपुर। 

पूर्व पश्चिम राजमार्गको काँकडभिट्टा–लौकही सडक निर्माणका क्रममा ७१ खोलाहरु पर्ने भएका  छन् । ती सबैमा पुल निर्माण गर्नुपर्ने अध्ययनले देखाएको छ । अहिले भइरहेका अधिकांश पुललाई समेत प्रयोगमा ल्याउने गरी सडकको चौडाइ अनुसार थप गरी नयाँ पुल बनाउने तयारी गरिएको बुझिएको छ । जसमा ३९ आरसीसी टी–बीम पुल, २३ आरसीसी स्ल्याब पुल, दुई वटा बक्स पुल, सातवटा भेन्टेड पाइप ब्रिजहरु निमार्ण गरिने भएको छ ।

यस्तै, ६ वटा पुल भने ल्यान्डमार्क ब्रिजका रुपमा निर्माण हुने बताइएको छ । यसका लागि भने आयोजनाले ठेक्का आह्वान गरिसकेको छ । यी पुलको लम्बाई ३१८ मिटरदेखि ७०३ मिटरसम्म हुनेछ । जसमा निन्दा ३२७ मिटर, बिरिङ ३९८ मिटर, कन्काई , ७०३ मिटर, रतुवा  ५८२ मिटर, बक्रा ३१८ र लोहेन्द्रा ३८४ मिटर लम्बाईको हुनेछन् । यसैगरी, यो सडकखण्डमा १० वटा आकाशे पुल र साना खालका अन्डरपास २० वटा निर्माण हुने जनाइएको छ ।
६ लेनको सडक निर्माणका लागि ठेक्का प्रक्रियामा रहेकाले अब बन्ने सडकमा सर्भिस रोड पनि दुवै साइटमा निर्माण गरिनेछ । सहरी क्षेत्रमा भने साइकल लेन, फुटपाथ तथा आकाशे पुल वा अन्डरपास पनि निर्माण हुनेछ ।

जनावरहरुको आउजाउका लागि वन क्षेत्रमा वन्यजन्तुमैत्री क्रसिङ ब्रिज, ड्रेनेजहरु, स्लोप प्रोटेक्सन तथा अफ रोड सेफ्टीहरु निर्माण हुने डिजाइनमा छ । सहरी क्षेत्रमा क्यारिज–वे चार लेनको दुवैपट्टी ७.५÷७.५ मिटरको हुनेछ भने फुटपाथ तथा साइकल लेन दुवैपट्टी ५.५०÷५.५० मिटरको निर्माण गरिनेछ । सर्भिस लेन सडकको दुवैतिर ६.५०÷६.५० मिटरको हुनेछ । सहरी क्षेत्रमा सडक फुटपाथसहित ६ लेनमा विस्तार गरिनेछ ।

सडक विस्तार गर्न निर्माण कम्पनीले निर्माण सामग्रीहरु स्थानीय स्रोतबाट खरिद गर्नुपर्ने सर्त राखिएको छ । १२ वटा ठाउँमा आयोजनाका लागि क्याम्प निर्माण गरिनेछ । आयोजनाका अनुसार साइट क्लियर भएपछि सन २०२३ भित्रमा ठेकेदारलाई निर्माण कार्यका लागि जिम्मा दिइनेछ । आयोजनाका अनुसार यो सडक  विस्तार कार्य सन २०२६ सम्ममा पूरा भएर सञ्चालनमा आउनेछ । यस सडक परियोजनाबाट १२ देखि १५ लाख मानिसहरु लाभान्वित अध्ययनले देखाएको छ ।
सडक विस्तारका क्रममा ३६७ धरधुरीको ३७७ वटा निजी संरचनाहरुलाई प्रत्यक्ष रुपमा असर गर्ने देखिएको छ । यस्तै, २६९ वटा सामुदायिक संरचनाहरु, १४२ वटा चौतारी, २२ वटा मठमन्दिर, ४० प्रहरी चौकी लगायतका निजी तथा सार्वजनिक संरचनाहरुलाई असर गर्नेछ ।

यसैगरी यस आयोजनामा वन क्षेत्रबाट ४ हजार ३५३ र अन्य रोडसाइडबाट ८ हजार १९५ वटा रुख काट्नु पर्ने बताइएको छ । अहिलेसम्मकै खर्चिलो हुने अनुमान गरिएको यो सडक खण्ड निर्माणका लागि करिब ४६ अर्ब लागत लाग्ने अनुमान गरिएको छ । सडक विस्तार गर्ने काम अगामी वर्षदेखि सुरु हुने भएको छ ।

 आयोजनालाई ५ प्याकेजमा ठेक्का लगाइनेछ । हाल ठेक्काका लागि काम गर्न इच्छुक निर्माण कम्पनीहरूले बुझाएका आर्थिक प्रस्ताव मूल्याङ्कनका क्रममा छन् । एसियाली विकास बैङ्क (एडिबी) आयोजना निर्देशनालयका इन्जिनियर राकेश महर्जनले सडक विस्तारका लागि ठेक्का प्रक्रिया थालिएको र आगामी आर्थिक वर्षदेखि निर्माण कार्य सुरु हुने बताउनुभएको छ ।

प्याकेज–१ मा पर्ने काँकडभिट्टादेखि ४५ किलोमिटरसम्मको सडक विस्तार गर्न इबारासकम÷कालिका जेभी प्राविधिकरूपमा छनोट भएको छ । त्यसपछिको ८५ किमी दोस्रो प्याकेजमा छ । त्यसमा काम गर्न ३ वटा निर्माण कम्पनीहरू प्राविधिकरूपमा छनोट भएका छन् । जसमा इबारासकम–कालिका, कोभेक–टुन्डी जेभी र चाइना स्टेट सेभेन्थ ग्रुप छन् ।

तेस्रो प्याकेजमा ९५ किमीमा काम गर्न कोभेक र चाइना स्टेट सेभेन्थ निर्माण कम्पनी प्राविधिकरूपमा छनोट भएका छन् । चौथो प्याकेजमा ३ वटा पुलहरू निर्माण गर्ने योजना छ । यसमा ३ सय मिटरभन्दा लामो पुल निर्माण हुने बताइएको छ । यसका लागि सीआरजीसी–२ र टुन्डी जेभी प्राविधिकरूपमा छनोट भएका छन् । यो प्याकेजमा निन्दा, बिरिङ र कन्काई पुल निर्माणका लागि ठेक्का आह्वान गरिएको थियो । यसैगरी अन्तिम अर्थात् पाँचौँ प्याकेजमा पनि ३ वटा पुल निर्माण गर्ने योजना छ । जसमा सीआरजीसी–२ टुन्डी जेभी र चाइना स्टेट सेभेन्थ प्राविधिकरूपमा छनोट भएका छन् । यो प्याकेजमा रतुवा, बक्राहा र लोहन्द्रा पुल निर्माणका लागि पनि ठेक्का आह्वान गरिएको थियो ।

प्राविधिकरूपमा छनोट भएका यी कम्पनीहरूले पेस गरेको आर्थिक प्रस्तावमा जसको कम लागतको कबोल पर्छ, त्यही निर्माण कम्पनीले सडक विस्तार र ६ वटा पुल निर्माणको ठेक्का पाउनेछन् । यसका लागि आयोजनाले अहिले आर्थिक प्रस्तावको मूल्याङ्कन गरिरहेको इन्जिनियर महर्जनले बताउनुभयो । काम गर्न इच्छुक निर्माण कम्पनीले पेस गरेका आर्थिक प्रस्तावहरू आगामी २ महिनाभित्रै खोलिनेछ । त्यसपछि एडिबीले स्वीकृत गरेपछि ठेक्का सम्झौताको प्रक्रिया सुरु हुन्छ । त्यहीअनुसार समय लाग्ने महर्जन बताउनुहुन्छ ।

त्यसैले यो सडक विस्तारको काम आगामी वर्षबाट मात्र सुरु हुने देखिएको छ । आयोजनाका अनुसार काँकडभिट्टा–लौकही सडक विस्तार कार्य तीन वर्षमा सम्पन्न हुने अनुमानित लक्ष्य छ । ठेक्का पाउने कम्पनीले सम्झौताको समयबाट ३६ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने र थप १२ महिना मर्मत सम्भारको समेत जिम्मा लिनुपर्ने सर्त छ । यस्तै, पुल निर्माणका लागि भने पाँच वर्ष समयावधि छुट्टाइएको छ । त्यसपछिको थप २४ महिनासम्म मर्मत सम्भारको जिम्मा पनि सम्बद्ध निर्माण कम्पनीले लिनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्