म्याग्दीमा एसइईका केन्द्राध्यक्षलाई नियुक्तिपत्र वितरण तथा अभिमुखीकरण



 म्याग्दी ।

शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीको आयोजनामा हिजो (मङ्गलवार) सदरमुकाम बेनीमा नियुक्तिपत्र वितरण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नजिकिएको माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०७९ सञ्चालन गर्नका लागि केन्द्राध्यक्षहरुलाई नियुक्तिपत्र दिनुका साथै अभिमुखीकरण गरिएको हो ।

जिल्लामा एसइई परीक्षा केन्द्र तोकिएका विभिन्न ९ वटा केन्द्रमा खटाइएका केन्द्राध्यक्षहरुलाई नियुक्तिपत्र वितरण गरिएको शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले जनाएको छ । इकाईका अनुसार केन्द्र तोकिएको प्रकाश माध्यमिक विद्यालयमा लेखबहादुर हमाल, बेनी सामुदायिकमा दीपक श्रेष्ठ, न्यु वेष्ट प्वाइन्ट आवासीय माविमा डिलबहादुर दाहाल, धवलागिरि मावि सिङ्गामा भूवनप्रसाद रेग्मी रहनुभएको छ ।

यसैगरी मंगला मावि बाबियाचौरमा गमबहादुर खत्री, जनप्रिय मावि दरबाङमा दिवाकर सुवेदी, हेम मावि सिबाङमा शेरबहादुर केसी, मुक्तिधाम मावि राखुभगवतीमा टेकबहादुर केसी र मुक्तिमार्ग मावि घारमा ठगराज बरुवाललाई केन्द्राध्यक्ष तोकिएको छ । तोकिएका परीक्षा केन्द्रमा खटिएका केन्द्राध्यक्ष सबैलाई जिल्ला परीक्षा समन्वय समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले नियुक्तिपत्र प्रदान गर्नुभएको थियो ।

केन्द्राध्यक्षहरुलाई नियुक्तिपत्र प्रदान गर्दै संयोजक पौडेलले परीक्षामा विद्यार्थीहरुले ढुक्कसँग लेख्न सक्ने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले परीक्षा सञ्चालन तथा व्यवस्थापनको कार्यलाई अनुशासित बनाउनुपर्ने बताउँदै त्यसका लागि सरोकारवाला निकाय सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रहरी नायव उपरीक्षक मदन कुँवरले परीक्षालक्षित सुरक्षा योजनासहितको मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम जिल्ला परीक्षा समन्वय समितिका संयोजक पौडेलको अध्यक्षता, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापाको स्वागत र प्राविधिक सहायक सरिता राना खाम्चा मगरको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रमको अवसरमा केन्द्राध्यक्षहरुलाई परीक्षा सञ्चालनसम्बन्धी विभिन्न विषयहरुमा अभिमुखीकरण गरिएको थियो । यस वर्षको एसइई परीक्षा आउँदो शुक्रवारदेखि सञ्चालन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्