बुद्धको दर्शनसँगै थिएटर फेस्टिभल



गौतम बुद्धको जीवनी र दर्शनलाई रंगमञ्चमार्फत प्रस्तुत गर्ने र बुद्धका सन्देश विश्वभर फैल्याउने उद्देश्यले आयोजित बुद्ध थिएटर फेस्टिभल–२०२३ सोमबारदेखि राष्टिझय नाचघरमा शुरु भएको छ।

६२औं विश्व रंगमञ्च दिवसको अवसर पारेर पर्यटन उद्योग तथा सहकारी मन्त्रालय बागमती प्रदेश, सांस्कृतिक संस्थान र डबली थिएटरले संयुक्तरुपमा आयोजना गरेको नाटक फेस्टिभल काठमाडौंको बौद्धस्थित सेचिन गुम्बाका १० जना लामाले मन्त्रोचारण गर्दै शुरु भएको थियो। महोत्सवको पहिलो दिन सांस्कृतिक संस्थानको प्रस्तुति नाटक चण्डालिका मञ्चन गरिएको थियो। माया थापाको परिकल्पना तथा निर्देशन रहेको यो नाटक एक अछूत युवतीले भिक्षुलाई पानी खुवाएपछि आफन्तले दिएको श्रापको कथामा आधारित थियो। पछि भिक्षुको आशीर्वादले श्रापबाट मुक्त भई उनीहरुको जीवनमा सुख र शान्ति छाएको कथा नाटकमा समेटिएको थियो।

नाटकमा शुशीला थापा, तीर्थराज पोखरेल, रेखा कटवाल, सुरेश थापा, श्रीकृष्ण शाही, नरहरि पराजुली, राम पुरी, सुरभि मगर, अनिशा न्यौपाने, बिना विश्वकर्मा र सलिना क्षत्रीले अभिनय गरेका थिए। दुर्गाप्रसाद खतिवडाको संगीत संयोजन र तीर्थराज पोखरेलको गीत रचना रहेको नाटकको वाद्यवादन समूहमा दुर्गाप्रसाद खतिवडा, नरेश प्रजापति र रोहित सुवेदी थिए भने गायनमा दीपेन्द्र बज्राचार्य र शिला विष्ट अली थिए। महोत्सव शुभारम्भ समारोहमा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले महान् दार्शनिक गौतम बुद्ध नेपालमै ओझेल परेको बेला उनको जीवनी, दर्शन र सन्देशलाई राष्टिझय एवं अन्तर्राष्टिझय रुपमा चिनाउन बुद्ध थिएटर फेस्टिभल आयोजना हुनु गौरवको विषय भएको बताए।

समारोहमा उपस्थित पाहुनालाई स्वागत गर्दै सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले तेस्रो संस्करणसम्म आइपुग्दा परिपक्वता आएकाले आगामी संस्करणदेखि यस महोत्सवलाई अन्तर्राष्टिझय रुपमा आयोजना गरिने बताए। बुद्ध दर्शनका अनुयायीहरु विश्वभर छन्। रंगमञ्चमार्फत उनीहरुलाई बुद्धभूमि नेपालमा आकर्षित गर्न आगामी संस्करणदेखि बुद्ध थिएटर फेस्टिभललाई अन्तर्राष्टिझयस्तरमा लैजाने छौं, महाप्रबन्धक राईले भने।

फेस्टिभल निर्देशक पुष्कर गुरुङले विश्व रंगमञ्च दिवसका अवसरमा इन्टरनेसनल थिएटर इन्स्टिच्युट (आईटीई) को तर्फबाट इजिप्टका विश्वचर्चित रंगकर्मी समिहा अयुवद्वारा प्रेषित सन्देश वाचन गरेर सुनाए। सो अवसरमा ५० हजार रुपैयाँसहितको यो वर्षको डबली अवार्ड रंंगकर्मी अनुप बराललाई प्रदान गरिएको थियो। प्राडा अभि सुवेदीलगायतले हस्तान्तरण गरेको अवार्ड बराल पत्नी अभिनेत्री दिया मास्केले ग्रहण गरेकी थिइन्।

पर्सी शुक्रबारसम्म चल्ने महोत्सवको दोस्रो दिन मंगलबार प्रशान्त बगालेद्वारा निर्देशित थ्री लाफिङ मंक्स मञ्चन गरिएको छ भने बुधबार निकिता गुरुङ निर्देशित प्रतिविम्ब र गीता थापा निर्देशित पताक्षर, बिहीबार वर्षा भण्डारी निर्देशित पश्चाताप र सस्मिल मगर निर्देशित अम्रपाली मञ्चन गरिने आयोजकले जनाएका छन्। महोत्सवको समापनका दिन शुक्रबार वीरेन्द्र हमालद्वारा निर्देशित चक्षु मञ्चन गरिनेछ।

प्रतिक्रिया दिनुहोस्