विकास निर्माणलाई प्राथमिकता दिएका छौं : अध्यक्ष सूर्यबहादुर कुँवर



सूर्यबहादुर कुँवर
अध्यक्ष
बिरुवा गाउँपालिका, स्याङ्जा

जनताको स्थानीय आवश्यकता र दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने र ५ वर्षसम्म नै स्थिर रहने भएकाले पनि संघीयतामा स्थानीय सराकारको महत्व केन्द्रीय र प्रदेश सरकारको तुलनामा बढी छ । स्थानीय सरकारहरुले पनि स्थानीय आवश्यकता र सम्भावनालाई ख्याल राखेर विकास निर्माण र जनकल्याणका कार्यहरुलाई अगाडि बढाइरहेका छन् । यसै सन्दर्भमा रहेर बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरसँग पालिकामा केन्द्रित रहेर जिल्ला संवाददाता अमृत अर्यालले गरेको कुराकानीको सम्पादित अंश :

गाउँपालिकाको नेतृत्व सम्हालिरहँदा के–कस्ता चुनौती र अवसर आएका छन् ?

विकास निर्माणका कार्यक्रम बढी उपभोक्तामैत्री देखिन्छ, जसका कारण उपभोक्ताहरुले केही ठाउँमा राम्रोसंँग कार्यसम्पादन नगरेको देखिन्छ । पालिकामा सञ्चालन भएको नमुना कृषि कार्यक्रमले अपेक्षित प्रतिफल दिन नसकेको देखिन्छ । सम्भावनाका रूपमा स्थानीय पाठ्यक्रम जारी भएको छ । पाठ्यपुस्तक निर्माण गरेर स्थानीय पाठ्यक्रमको कार्यान्वयन भएको छ । पहिलेको सरकारले सडकहरु कालोपत्रे गर्न नसके पनि ग्रामीण सडकलाई प्राथमिकतामा राखेर स्तरोन्नति गरेको हुँदा अहिले सबै वडामा सवारीसाधन सहज रूपमा पुग्न सक्छन् । त्यसलाई बाह्रैमहिना चल्ने गरी स्तरोन्नति गर्ने दायित्व र अवसर हामीलाई प्राप्त भएको छ ।

बिरुवा आउने मुख्य सडकमार्ग राङखोला–बिरुवा सडक खण्डको अवस्था अझै नाजुक छ नि, किन होला ?

राङखोलादेखि धोवादी भञ्ज्याङसम्मको करिब ६ किलोमिटर सडकको अवस्था नाजुक भएको कुरा साँचो हो । त्यसमा हाम्रो आफ्नै स्रोत–साधनले कालोपत्रे गर्न सम्भव थिएन, त्यस कारण पालिकाले त्यसमा लगानी नै गरेन । यो सडकको विकासका लागि लागि २८ करोडको डीपीआर बनिसकेको छ । सडकको अवस्था सुधार गरी आवागमन सहज गराउने हेतुले म ६ पटक भन्दा बढी प्रदेश सरकारका विभिन्न निकायमा पुगिसकेको छु । अब यही आर्थिक वर्षभित्र बहुवर्षीय योजनाका रूपमा सडकको काम शुरु हुँदै छ । पक्कै पनि अर्को आर्थिक वर्षमा सडकको अवस्थामा राम्रो सुधार हुनेछ ।

स्थानीय सरकारले अगाडि सारेका महत्वपूर्ण नीति, योजना तथा कार्यक्रम के–के छन् ?

पालिकाभित्रका सडकहरुलाई वर्गीकरण गर्ने काम सकिसकेका छौं । गौरवको आयोजनाका रूपमा ज्याग्दी करिडोरलाई अगाडि बढाएका छौं । राङखोलादेखि बिरुवासम्मको सडकलाई पालिकाको पहिलो प्राथमिकतामा राखेर योजना र स्तरोन्नति प्रक्रिया अगाडि बढाएको छ । वडा र पालिका जोड्ने र अन्य पालिकासँग जोडिने सडकलाई रणनीतिक महत्वका सडकका रूपमा विकास गर्ने गरी काम थालिसक्यौं । जनताको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै पालिकाका ६ वटै स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सञ्चालन गरिसकेका छौं । दुईवटा स्वास्थ्य संस्थामा मात्रै बर्थिङ सेवा सञ्चालनमा रहेकोमा थप ३ वटा स्वास्थ्य चौकीमा बर्थिङ सेवा सञ्चालनको चरणमा छ । शैक्षिक विकासको निम्ति १० वटा बालविकास केन्द्रलाई नमुना बालविकास केन्द्रका रूपमा विकास गर्न लागिपरेका छौं ।

यो पहिलो वर्षलाई हामीले नीति तथा योजना निर्माणको वर्षका रूपमा लिएका छौं । पालिकाभित्रको कृषि सम्भाव्यताको अध्ययन गर्ने, डिजिटल प्रोफाइल निर्माण गर्ने, जमिनको वर्गीकरण गर्ने र प्राप्त तथ्यांकका आधारमा आवधिक योजना निर्माण गर्ने गरी अगाडि बढेका छौं । पहुँचका आधारमा योजना बाँड्ने प्रवृत्तिको अन्त्य गर्दै आवधिक योजनाको आधारमा विकास योजना कार्यान्वयन गर्ने र सबै क्षेत्रको समानुपातिक विकास गर्ने हाम्रो लक्ष्य छ । घर नक्सापासलाई अनिवार्य गरेका छौं र सडकको मापदण्डअनुसार आवास वा अन्य संरचना निर्माण गर्न पाइने बनाएका छौं ।

स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेका छौं । व्यावसायिक कृषि उत्पादनलाई विशेष प्राथमिकतामा राखेर पालिकालाई कृषिमा आत्मनिर्भर गराउने हाम्रो लक्ष्य छ । वैदेशिक रोजगारीमा जाने र जग्गा जमिन बाँझो राख्ने प्रवृत्तिको पनि न्यूनीकरण गरिनेछ ।

सामाजिक, आर्थिक र पूर्वाधार विकासको पाँचवर्षे रणनीति के बनाउनुभएको छ ?

पालिकाको वर्तमान अवस्था पत्ता लगाउन तथ्यांक संकलन गरिरहेका छौं । वर्तमान अवस्था थाहा भएपछि मात्र ५ वर्ष पछाडिको स्पष्ट मार्गचित्र तय हुनेछ । यद्यपि, पालिकास्तरको अस्पताल, पालिकास्तरीय रंगशाला, बहुमुखी क्याम्पस निर्माण तथा सञ्चालन हुनेछन् । गौरवको र पहिलो प्राथमिकताको सडक कालोपत्रे हुनेछन् । रणनीतिक महत्वका सडकहरु बाह्रैमहिना चल्ने गरी स्तरोन्नति हुनेछन् । मुख्य–मुख्य ठाउँमा जहाँ पुलको आवश्यकता छ त्यहाँ पुल निर्माण हुनेछन् ।

धेरैजसो पालिकामा कर्मचारी र जनप्रतिनिधिबीच तालमेल नभएको पाइन्छ । यहाँको अवस्था के छ ?

हाम्रो पालिकामा मैले सहज अनुभूति गरेको छु । हामीकहाँ राम्रो तालमेल छ । १६ वर्षसम्म माध्यमिक विद्यालयको प्रशासनिक नेतृत्व सम्हालेकाले जनप्रतिनिधि कर्मचारीको भावना बुझेर नै अगाडि बढेको छु । सामाजिक, राजनीतिक, बौद्धिक व्यक्ति एवं संघ–संस्थासँग कसरी तालमेल मिलाउनुपर्छ भन्ने कुरा मैले २६ वर्षको शिक्षण अनुभवमा राम्रोसँग सिकेको छु । मेरो कार्यकालमा बेमेल वा द्वन्द्वको कुरा होला भनेर कल्पना समेत गरेको छैन ।

पालिकाको काम गर्न कत्तिको चुनौती छ ?

काम गर्ने क्रममा चुनौती त आउँछन् नै । अहिले गाउँपालिकामा कुनै आर्थिक अनियमितता, भ्रष्टाचार भयो भन्ने गुनासो आउन दिएको छैन । जनतालाई जसरी हुन्छ सहजै सेवा दिइरहेका छौं । मालिक होइन कि सेवक बन्न आएकाले जनताले पनि सहयोग गरेका छन् ।

संघ र प्रदेशको सहयोग कस्तो रहेको छ ?

संविधानले नै संघ र प्रदेशले स्थानीय तहलाई दिनुपर्ने अधिकार जुन प्रस्ट तोकेको छ, त्यो पूरै नभए पनि संघ र प्रदेशसँग बाझिने कानुन हामीले बनाएनौं । मिल्दोजुल्दो आफूलाई प्राप्त अधिकारमा रहेर काम गरेका छौं । बजेटिङको काम गर्दा केही कठिनाइ भने आइपर्दोरहेछ ।

अन्त्यमा, केही भन्नु छ कि ?

‘समृद्ध बिरुवा, सुखी बिरुवावासी’ को नारालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न लागिपरेका छौं । किसानले आफ्नो उत्पादन समयमै बजारसम्म ल्याउन सक्ने वातावरण बनेको छ । हिजोको विकटतालाई आज निकटतामा ल्याएका छौं । यसका लागि सम्पूर्ण विरुवाबासीलाई रचनात्मक सल्लाह, साथ, सहयोग र खबरदारी गरिरहन अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस्