भ्रष्टाचार रोक्न माथिबाटै अभियान



मुलुकमा भ्रष्टाचार र कुशासनको जालो खतरनाक किसिमले बढिरहेको छ । यहाँका प्रायः सबै क्षेत्रहरु भ्रष्टाचारको जालोमा पर्ने अवस्था आउनु मुलुकको लागि ठूलो विडम्बना हो । केही समयदेखि स्मार्ट टेलिकममा देखिएको बदमासीले सीमा नाघेको छ । उसले राज्यलाई बुझाउनुपर्ने करोडौं दस्तुर विभिन्न बहाना बनाएर तिरेको छैन भने लाइसेन्स नवीकरण गर्नसमेत आलटाल गर्दै आइरहेको छ । स्मार्ट टेलिकमले केही राजनीतिक शक्तिलाई प्रभावमा पारेर राज्यलाई तिर्नुपर्ने दस्तुरसमेत मिनाहा गराउने प्रपञ्च पनि रच्दै आएको छ । यो सरासर भ्रष्टाचार र अनियमिता मच्चाउने दुष्कर्म हो । यस्तो कार्यलाई सरकारी अधिकारीहरुले जुनसुकै हालतमा पनि रोक्न सक्नुपर्छ । स्मार्ट टेलिकमले राज्यको विधि, पद्धति र नियमलाई चुनौती दिन मिल्दैन । राज्यका जिम्मेवार निकायले उसमाथि कानुन अनुसार कारबाही गर्न चुक्नुहुँदैन । स्मार्ट टेलिकमको अनियमितता प्रकरण त मुलुकको एउटा प्रतिनिधिमूलक घटना हो । यस्ता कैयौँ अनियमितता र बेथितिका चाङ यत्रतत्र छन् ।

हामीकहाँ भ्रष्टाचार र कुशासनको खियाबाट समृद्धिको ढोका नराम्ररी मक्किएको छ । यहाँको राजनीतिक नेतृत्वले सुशासन कायम गर्ने विषयलाई कहिल्यै पनि व्यावहारिकरुपमा अघि बढाउनै सकेन । भाषणमा शून्य सहनशीलताको नारा ओकल्ने तर व्यवहारमा भने ठीक उल्टो गर्ने प्रवृत्ति व्यापक हुँदै आइरहेको छ । धनदौलत र पैसा आउने देखेपछि पदमा बसेका उच्च अधिकारीहरु जतिसुकै आपराधिक कुकर्म गर्न पनि तयार देखिन थाल्नु मुलुकको लागि दुर्भाग्य हो । हाम्रा शासक–प्रशासकमा देखिएको भ्रष्ट प्रवृत्ति र संस्कारले गर्दा आमनागरिक विभिन्न खाले समस्या भोग्न बाध्य भइरहेका छन् ।

भ्रष्टाचारको मुख्य जड भने राजनीतिलाई नै मानिन्छ । राजनीतिक तहबाट हुने भ्रष्टाचार र राजनीतिक संरक्षणमा हुने भ्रष्टचार नै नेपालजस्तो देशको लागि ठूलो चुनौती भएको देखिन्छ । राजनीतिक दलका नेताहरुले विभिन्न आपराधिक तथा भ्रष्ट व्यक्तिबाट सहयोग तथा चन्दा लिने काम गर्ने गरेका छन् । त्यस्ता व्यक्तिबाट चन्दा र सहयोग लिएर भोलि पदमा गएपछि उनीहरुको माग अनुसारको कामसमेत गरिदिनुपर्ने हुन्छ । यसका कारण भ्रष्टाचार अत्यधिक बढ्न पुगेको हो ।

विश्लेषकहरुका अनुसार समकालीन विश्वमा आर्थिक समृद्धिमा चामत्कारिक प्रगति हासिल गर्दै आएको चीनले भ्रष्टाचारीहरुमाथि कठोर कदम चाल्न सक्नाले नै त्यस्तो प्रगति गर्न सकेको हो भने दक्षिण–पूर्वी एसियाका मलेसिया तथा सिंगापुरजस्ता राष्ट्रले छोटो अवधिमा नै मुलुकलाई कायाकल्प गराउन सक्नुको प्रमुख कारण पनि ती देशले अपनाएको विधिको शासनको कडाइपूर्वकको पालना र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति नै हो ।

अब सबैभन्दा पहिला प्रधानमन्त्री, मन्त्री र सचिवबाटै सुशासनको थालनी भएको सन्देश दिन सक्नुपर्छ । किनकि भ्रष्टाचार रोक्ने कार्य माथिबाट शुरु हुनुपर्छ । मुहान सफा भएमात्रै तल बग्ने पानी पनि सफा हुन्छ । मुहान सफा गरेपछि मात्रै भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध कठोर कदम चाल्न सक्ने वातावरण आफैँ बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्