विवाह इतर सम्बन्धको शंका र महिला हिंसा



डा. राजेन्द्र भद्रा

केही महिनापहिले (मंसिर २०७९) ‘कुटपिट र त्यसपछि भएको महिलाको मृत्युसम्बन्धी धरानबाट आएको एक समाचारले हामी सबैलाई स्तब्ध बनायो । आफ्नो पतिसँग सल्किएको भनेर उर्मिला राईसहित अन्य केही व्यक्तिहरूले उषा राईलाई कुटपिट गरेको र केही समयपछि त्यसैको कारणले नै उनको मृत्यु भएको खबर आएको थियो ।

घटना सार्वजनिक भएको केही समयपछि प्रहरीले आरोपितलाई हिरासतमा लियो । उषा एक एकल महिला भएको र उनी स्वरोजगारमा संलग्न भएको कुरा पनि प्रकाशमा आयो । उषाको मृत्युपछि उनले न्याय पाउनुपर्छ भन्ने माग राखेर सडकमा नारा–जुलुससहितका प्रदर्शनहरु पनि भए ।

यस घटनामा विवाहभन्दा बाहिर यौनसम्बन्ध राखेको आरोप लागेका पुरुषको विचार वा पक्ष भने खासै चर्चामा आएन । यो घटनाको विश्लेषण गर्ने हो भने, यौनको सन्दर्भमा अनेक पाटोलाई समेटेको छ र सबै पक्षलाई समेट्न यस लेखमा सम्भव पनि नहोला । तर यहाँ मुख्य रुपमा भन्नुपर्दा विवाह इतर सम्बन्धको आरोप एक एकल महिलालाई लगाई निर्घात तरिकाले कुटपिट गरिएको र पछि उनको ज्यान नै समेत त्यसकै कारण गएको पाइन्छ । यौनको दृष्टिले हेर्दा यो घटनामा विवाह इतर सम्बन्धको शंका, त्यसमा एकल महिलाको यौन जीवनसँग गाँस्ने कार्य र एकल महिलामाथिको हिंसा छ ।

विवाह इतर सम्बन्धको शंका

यस सन्दर्भमा कुरा गर्दा उनीहरुबीच विवाह इतर सम्बन्ध थियो वा थिएन भन्ने सम्बन्धमा यसै भन्न सकिने स्थिति भएन । तर आफ्नो पतिसँग ती एकल महिला उषाको यौनसम्बन्ध भएको भनेर अरुसमेतको सहयोगमा उनीमाथि सांघातिक तरिकाले कुटपिट गरेको घटनाले उषा र आक्रमण गर्ने महिलाका पतिबीच गैरवैवाहिक यौनसम्बन्ध भएको उनको शंका थियो भन्ने कुरामा भने कुनै सन्देह रहेन ।

पूर्वीय समाजमा विवाह एक निकै बलियो बन्धन मानिन्छ र एक–अर्काप्रति समर्पित रहने गरेको पाइन्छ । यो सम्बन्ध विश्वास र अपेक्षाहरूमा आधारित हुन्छ । हुन त वैवाहिक सम्बन्ध विच्छेद धेरै हुने पश्चिमा समाजमा पनि यस्तो वैवाहिक समन्ध दिगो नहोला कि भन्ने शंका गरेर विवाह गरिएको हुँदैन । कतिपय स्थितिमा विवाह इतर सम्बन्ध नभएको हुनसक्छ तर पनि शंका गर्ने गरिएको हुनसक्छ ।

धरानबाट आएको उक्त घटनासम्बन्धी समाचारको सन्दर्भमा उहाँको शंका गरेका आधारहरू के–के थिए भन्न नसकिए पनि सामान्यतया विवाह इतर सम्बन्धका के–कस्ता लक्षण हुन सक्छन् भन्ने बारेमा चर्चा गर्न सकिन्छ ।

आफ्नो पतिको अर्को कुनै महिलासँग विवाह इतर सम्बन्ध थियो भन्ने सन्दर्भमा शंका गरिनुको कारण के थियो भन्ने कुरा आफ्नै ठाउँमा छ । तर छोटकरीमा भन्ने हो भने, विवाह इतर सम्बन्ध भएमा सर्वप्रथम त वैवाहिक सम्बन्धमा नै केही असामञ्जस्यता देखिन थाल्छ । कलह बढ्दै जान्छ अनि बिस्तारै दूरी बढ्दै जान्छ । घरभन्दा बढी बाहिर नै समय बिताउन थाल्ने र पति वा पत्नीले आफ्नो पति वा पत्नीसँग सामिप्यता नखोज्ने हुन्छ ।

विवाहका सम्बन्धमा आएका अनेक समस्याः जस्तै कि वैवाहिक सम्बन्धको सन्दर्भमा गरिनुपर्ने कार्य वा जिम्मेवारीप्रति उदासीन हुने, यौनसन्तुष्टि प्राप्तिमा कमी हुने वा कम सहयोग हुने, विवाद भएमा जसरी पनि जित्नै पर्ने स्थिति हुने हुन्छ । यी सबैले आपसी सम्बन्धलाई बिगार्न नै सहयोग गर्दछन् । पति र पत्नीबीचमा हिंसा हुने स्थिति पनि उत्पन्न हुन्छ ।

विवाह इतर सम्बन्ध नभएको स्थितिमा पनि अनावश्यक रुपमा शंका गरिनु र चियोचर्चो गरिनुले पनि वैवाहिक सम्बन्धमा समस्या ल्याउन सक्छ ।कतिपय स्थितिमा पति वा पत्नीले अर्को व्यक्तिको साथ खोजेको पनि हुनसक्छ । यदि तपाईंको पति वा पत्नीले तपाईंको विवाह इतर सम्बन्धलाई लिएर शंका गर्ने गरेको छ भने निम्न व्यवहार प्रदर्शन गर्न सक्ने हुन्छ:
ó कामपछि घर फर्कंदा केही ढिला भएमा एकदमै रिसाउने ।
ó साथीसंगती वा नातेदारसँग कुराकानी गरेको नरुचाउने ।
ó व्यवसायसँगको सन्दर्भमा विपरीत लिंगी व्यक्तिसँग मैत्रीपूर्ण व्यवहार गरेको नरुचाउने ।
ó बारम्बार तपाईं कहाँ र कोसँग हुनुहुन्छ भनेर टेलिफोन गर्ने वा अनुगमन गर्ने ।
ó र, अहिलेको सामाजिक सञ्लालको प्रचलन भएको सन्दर्भमा त्यसमा पनि पति वा पत्नीको चियोचर्चो गर्ने आदिजस्ता कार्यहरु भइरहेका हुन्छन् ।
यस्ता स्थितिहरु व्यक्ति तथा परिस्थिति अनुसार फरक–फरक हुने हुन्छन् । त्यसकारण यो घटनामा के भएको हो भन्ने कुरा यकिनका साथ भन्न सकिन्न । तर पनि सामान्यतया यसरी विवाह इतर सम्बन्ध नभएको स्थितिमा पनि शंका गर्नुका कारणहरू नियाल्दा देखिने केही प्रमुख कुराहरू यस प्रकार छन्:
अधिक स्वामित्व भाव (possesiveness), आत्मविश्वासमा कमी, एक–आपसी विश्वासको कमी हुनु वा असुरक्षाको भावनाजस्ता मानसिक कुराले वैवाहिक सम्बन्धलाई बिगार्न सक्छ । सम्बन्ध बिग्रिएपछि विवाह इतर सम्बन्धको सम्भावना पनि बढ्छ नै । यसमा हाम्रो मानसिकताको महत्वपूर्ण पक्ष रहेको पाइन्छ ।

महिलामाथिको हिंसा

विकासवादी मनोविज्ञानको तहमा हेर्दा यौनसाथीको रोजाइको सन्दर्भमा विशेष गरी पोथी जातिको हकमा उनीहरूले भाले जातिबाट उच्च स्तरको वंशाणु र आफ्नो तथा सन्तानको सुरक्षाको अपेक्षा गरेको पाइन्छ । यस परिदृश्यमा अर्को प्रतिस्पर्धी आए आफ्नो व्यक्ति तथा स्रोतमाथिको एकछत्र पहुँच गुमाउनुपर्ने हुनसक्ने भएकाले सो प्रतिरक्षा गर्न सक्दो प्रयास गर्दछ ।

तर यहाँ श्रीमान्को देहावसानपछि आफ्नो जीवनयापन गर्न र सन्तान हुर्काउन संघर्ष गर्दै गरेकी एक एकल महिलामाथि हिंसाको प्रयोग गरेर आफ्नो शंकाको निवारण तथा समाधान गर्ने प्रयास गरेको देखियो । यो नैतिक होस् वा कानुनी, कुनै दृष्टिले पनि मनासिब र तर्कसंगत छैन । आर्थिक रुपमा कमजोर एकल महिला भएकोले उनीबाट प्रतिवाद हुने सम्भावना धेरै न्यून हुने हुँदा यस्तो हिंसा पनि त्यस्तो महिलामाथि गरिएको पाइन्छ । यस्तो हिंसाले समाधानतिर जानुको सट्टा झनै गम्भीर समस्यामा पारेको देखिन्छ ।

आफ्नो यौनजोडी साथै नभएको स्थितिमा पनि व्यक्तिमा यौनचाहना नहुने भने होइन । तर व्यक्तिले आफ्नो परिस्थिति अनुसार त्यसको व्यवस्थापन गर्ने गर्दछ । यसको अर्थ यो होइन कि उसले अर्को व्यक्तिसँग प्रणय सम्बन्ध स्थापित गर्छ र यौनसम्पर्क गर्दछ । तर सामाजिक यथार्थ के हो भने, पति–पत्नी दुवै नै साथसाथै भएको बेलामा खासै वास्ता नगर्ने भए पनि साथसाथै नभएको परिस्थितिमा र त्यसमा पनि एकल महिला भएको स्थितिमा स्पष्टरुपमा व्यक्त नगरे पनि यौनचाहनाको व्यवस्थापन कसरी गर्ला भनेर धेरैजसोको चासो रहेको हुन्छ ।

समाजका कपितय व्यक्तिले अघोषित रुपमा नै भए पनि त्यसको निगरानी गर्न थाल्छन् । व्यावसायिक होस् वा अन्य सामाजिक प्रयोजनको लागि होस्, भेटघाट भएको वा गरिएको स्थितिलाई शंकाको दृष्टिले हेर्दछ र त्यसै अनुसार काल्पनिक वा वास्तविक जे हो प्रमाण जुटाउन कोशिश थाल्छ । त्यसमा पनि आफ्नो पतिसँग भेटघाटको स्थिति छ भने आफ्नो सम्बन्धमा प्रगाढ विश्वास नभएका महिलाको हकमा असुरक्षाको भावना आउन सक्छ । अनि काल्पनिक नै भए पनि उसको यो शंका विश्वासमा बदलिन थाल्दछ र यसलाई रोक्न आफ्नो बुद्धि एवं बलले भ्याएसम्मको कार्य गर्दछ । माथिको घटनामा यस्तो नै भएको हुनसक्छ ।

शंकाले लंका जलाउँछ

नेपालीमा एक प्रचलित उखान छ– शंकाले लंका जलाउँछ । र, शंकाले बलियो सम्बन्धलाई पनि टुटाउन सक्छ । यो कुरा यस घटनाक्रमले पनि देखाउँछ । यो विषय एकदमै चुनौतीपूर्ण भएकोले निकै नै सोचविचार गरेर मात्र पहल गर्नुपर्दछ ।
अर्को व्यक्तिसँग पति वा पत्नी लागेको वा वैवाहिक सम्बन्धमा धोका दिएको शंका लागे पनि शान्त रही परिस्थितिको विश्लेषण गर्नुपर्दछ । यो आफ्नै असुरक्षा तथा आत्मविश्वासको कमी भएको कारणले हो वा होइन, खुट्याउन प्रयास गर्नुपर्दछ । टकरावको स्थितिको सामना गर्न निकै गाह्रो हुन्छ । त्यसैले यसको लागि तयारी गर्नुपर्दछ, नत्र झनै समस्या बढ्न सक्छ ।

तपाईंको जीवन साथीले अस्वीकार गरे पनि तपाईंलाई चित्त नबुझ्न सक्छ । तपाईंसँग पति वा पत्नीले धोका दिएको ठोस प्रमाण छ कि छैन र यो तपाईंको भावनात्मक उपज मात्रै हो कि साँच्चिकै हो, त्यो राम्ररी विचार गर्नुहोस् । तपाईंलाई आफूले विश्वास गर्ने कुनै व्यक्ति वा विशेषज्ञको सहयोग चाहिएमा त्यसको लागि पनि तयार रहनुहोस् । तपाईंसँग ठोस प्रमाण छ र विवाह इतर सम्बन्ध भएकै स्थिति छ भने कुरा अर्कै भयो, त्यसको चर्चा अन्य कुनै अंकमा गरौंला ।

यसदेखि बाहेक अन्य विचार गर्नुपर्ने कुरा पनि छन् । शंकाको भरमै वैवाहिक सम्बन्धलाई विखण्डको बाटोमा लाने वा नलाने राम्ररी सोच्नुपर्दछ । यो घरभित्रको समस्याको लागि घरभित्र नै समाधानको लागि प्रयास गरिनु मनासिब थियो । यसको लागि पति–पत्नी दुवैजनाले बेलैमा विचार गर्नुपर्ने केही कुराहरू पनि छन्, जसले गर्दा पछि धोका नपाइयोस् ।

ó पहिलो कुरा त दुवैजनाले जीवनसाथीको रुपमा प्रतिबद्धता जनाएर नै विवाह बन्धनमा गाँसिएको हो भन्ने मनन गर्नुपर्दछ । वैवाहिक सम्बन्ध दिगो राख्न पति–पत्नी दुवैजनाको मलजलको आवश्यकता पर्दछ र यसलाई सुमधुर बनाउन सक्दो प्रयास गर्नुपर्दछ ।
ó भावनामा नबहकीकन परिस्थितिलाई तर्कसंगत तरिकाले विश्लेषण गर्नुपर्दछ । पूर्वाग्रह नराखी खुलारुपमा कुराकानी गर्नुपर्दछ ।
ó आवश्यकता परे अनुसारको जिम्मेवारी बहन गर्नुपर्दछ । आपसमा सामञ्जस्यता ल्याउन सक्दो प्रयास गर्नुपर्दछ ।
अन्त्यमा, शंकाका भरमा नै अन्य महिलामाथि सांघातिक हमला गर्नु त कुनै हालतमा पनि मनासिब हुँदैन । यहाँ आवेगलाई नियन्त्रण गर्न नसक्दा दुवै परिवारको भविष्य नै अन्धकारमा धकेलिएको छ । कसैले त्यस्तो कार्य गर्न लाग्दा रोक्नुपर्ने स्थानमा साथी–संगतले हिंसालाई साथ दिनु आफैँमा उदेक लाग्दो छ ।

प्रतिक्रिया दिनुहोस्