माइग्रेनको आयुर्वेदिक उपचार



डा. रामदेव पण्डित आयुर्वेद चिकित्सक

माइग्रेनसम्बन्धी आम मानिसमा धेरै किसिमका भ्रमहरु छन् । धेरैले त यो रोग लागेपछि कहिल्यै पनि निको हुँदैन भन्ने सोच राखेको पाइन्छ । माइग्रेनको रोगी सधैँभरि दुखाइसँग नै बाँच्नुपर्छ भन्ने धारणा पनि धेरै रहेको पाइन्छ । कतिपयले त माइग्रेनलाई मानसिक रोग पनि ठानिरहेका हुन्छन् । माइग्रेनमा खाइने औषधिको साइड इफेक्ट धेरै हुन्छ भनेर औषधि नखाई टाउको दुखाएर नै जीवन व्यतीत गर्नेहरु पनि धेरै भेटिन्छन् । यी सबै एकदमै गलत धारणा हुन् ।

विश्व स्वास्थ्य संघका अनुसार हरेक महिना १५ दिनसम्म टाउको दुख्ने व्यक्तिहरुको जनसंख्या विश्वमा १.७ देखि ४ प्रतिशत रहेको छ । विश्वमा निकै कम व्यक्तिहरुको मात्र टाउको दुख्ने समस्यालाई स्वास्थ्यकर्मीहरुले पहिचान गर्न सकेको पाइन्छ । यसकारण सामान्यतः टाउको दुखाइको समस्यालाई व्यापक बेवास्ता गरिन्छ, राम्रोसँग पहिचान गरिँदैन र उपचार पनि गराइँदैन । अतः टाउको दुख्ने समस्या अहिले विश्वव्यापी समस्याका रुपमा लिन थालिएको छ ।

जीवनमा एकपटक पनि टाउको नदुखेको व्यक्ति यस धर्तीमा शायदै कोही होला । टाउको दुख्ने समस्या स्नायु प्रणालीका समस्याहरुमध्ये अति सामान्य समस्या हो । टाउको दुख्नुको अनेक कारण हुन्छन् । व्यक्तिगत एवं सामाजिक दबाबको पीडा, अपाङ्गता, खराब गुणस्तरको जीवन, आर्थिक समस्या आदि कारणले गर्दा पटक–पटक टाउको दुख्ने समस्या हुन्छ ।

आयुर्वेदका आचार्य सुश्रुतका अनुसार शिरको त्यो रोग जसमा टाउको आधा भागमा १५ दिन अथवा १० दिन वा अचानक फुट्नेजस्तो गरी पीडा वा घोच्ने गरी हुने दुखाइ, पीडा, चक्कर आउनु अर्धावभेदक अर्थात् माइग्रेन हो ।माइग्रेन प्रायः किशोर अवस्थाबाट शुरु हुन्छ र ३५ देखि ४५ वर्ष उमेर समूहलाई बढी प्रभावित गर्दछ । महिलाको शरीरमा हर्मोनल उतारचढाव बढी हुनाले (गर्भावस्था, मिन्सुरेसन, मेनोपज आदि हुने भएकोले) पुरुषभन्दा महिलाहरुमा माइग्रेनको समस्या बढी देखिन्छ । सामान्यतया पुरुषलाई भन्दा महिलालाई दुई गुणा बढी माइग्रेन हुने गरेको पाइन्छ ।

आयुर्वेदका प्रसिद्ध वैद्य आचार्य वागभटले शिरसम्बन्धी रोगहरुलाई १० प्रकारका हुन्छन् भनी बताएका छन् । उनले माइग्रेनलाई अर्धावभेदक नामले अष्टाङ्ग संग्रह पुस्तकमा व्याख्या गरेका छन् । वागभटले अधिक सुख्खा खाना, अत्यधिक भोजन, लामो समय भोकै बस्नु, पूर्वतिरबाट आएको हावामा लामो समय बस्नु, अति चिसो खानपिन गर्नु, अति मैथुन गर्नु, दिसापिसाब आदिको प्राकृतिक वेगहरुलाई रोक्नु, अत्यधिक परिश्रम गर्नु, अत्यधिक कसरत गर्नाले माइग्रेन हुने बताएका छन् ।

आधुनिक चिकित्सा विज्ञानमा टाउको दुखाइलाई ४ प्रकार मानिन्छ । १. माइग्रेन, २. टेन्सन टाइप हेडेक, ३. कलस्टर हेडेक र ४. मेडिकेसन ओभरयुज टेन्सन हेडक । माइग्रेन त्रिदोषज (वात, पित्त र कफ सबै प्रभावित) अर्थात् तिनै दोषको कारण उत्पन्न हुने रोग हो । वातले स्नायु प्रणाली र पित्तले रक्तनलीहरुलाई प्रभावित बनाई माइग्रेन उत्पन्न हुन्छ ।

वातप्रधान माइग्रेनको लक्षण पित्तप्रधान माइग्रेनको लक्षण कफप्रधान माइग्रेनको लक्षण
१. छालाको
सुख्खापन
२. कब्जियत
३. टाउकोमा
तीव्र वेदना १. आँखा रातो हुने वा चिलाउने
२. प्रकाशको
उपस्थितिमा टाउको
दुख्ने
३. चिडचिडाहट हुने
४. नाकबाट रगत बग्ने १. थकान
२. डिप्रेसन
३. टाउको दुखाइ
(ब्लुकब्लुक
वेगसहित)

बढ्दो तनावले मस्तिष्कमा सीधा असर पार्छ । कहिलेकाहीँ मस्तिष्कले त्यस्ता पदार्थ रिलिज गर्छ, जसले टाउको दुखाइ माइग्रेन पनि पैदा गर्छ । अतः तनावको कारण पनि माइग्रेनको समस्या हुन्छ । अत्यधिक या अपर्याप्त निद्राका कारण पनि माइग्रेन हुन्छ । कफीको अत्यधिक प्रयोग पनि माइग्रेनको कारण भएको देखिएको छ ।

अत्यधिक कफी सेवनलाई एकैपटक बन्द गर्दा पनि माइग्रेन सिर्जना हुने गर्दछ ।

वातावरणमा आउने परिवर्तनहरुले पनि माइग्रेन हुन्छ ।
निरन्तर लामो समयमा हल्लायुक्त स्थानमा बस्नु पनि माइग्रेनको कारण हुने देखिएको छ । तापमानमा हुने परिवर्तनको कारण पनि अत्यधिक टाउको दुखाइ हुनसक्छ । अधिक प्रकाश एवं अत्यधिक गर्मीमा जीवनयापनले पनि माइग्रेन हुने गरेको पाइन्छ । धूमपान र मदिराको अधिक सेवन पनि माइग्रेनको कारक हो । थरी–थरीका चकलेटहरु, मसलेदार खानेकुराले पनि माइग्रेन हुने गर्दछ ।
माइग्रेन हुनु आफैँमा एउटा मेडिकल कन्डिसन हो । कोही–कोहीमा यो वंषाणुगत पनि हुने गर्छ । यदि परिवारको अघिल्लो पुस्ताको कुनै सदस्यलाई माइग्रेन थियो भने पछिल्लो पुस्तालाई पनि माइग्रेन हुने सम्भावना ८० प्रतिशत हुने गर्छ ।

माइग्रेनका लक्षणहरु:
 टाउकाको नसा धड्किरहेको अनुभव हुन्छ ।
 टाउकाको एउटा भागबाट दुख्न शुरु हुन्छ र पूरै टाउकोमा चर्को दुखाइले आक्रान्त बन्छ ।
 माइग्रेनको दुखाइले दैनिक नियमित कामको तालिका बिग्रिन्छ ।
 माइग्रेनले अत्यधिक आँखा दुख्नुका साथै आँखा चिम्लिँदा जलन हुन्छ ।
 कहिलेकाहीँ बान्तासमेत हुने गर्छ ।
 तीव्र प्रकाश, ध्वनि र गन्ध परिवर्तनप्रति निकै संवेदनशील हुने हुन्छ ।
 दुखाइले छटपटी सिर्जना गर्छ ।
 शरीरमा थकान महसुस हुन्छ, राम्रोसँग निद्रा पर्दैन ।
 माइग्रेनले मुडमा तीव्र परिवर्तन आउँछ ।
 विनाकारण अकस्मात उदास र उत्साहित गराउँछ ।
 माइग्रेनको दुखाइ हुनुभन्दा पहिले खानाप्रति निकै आशक्ति जाग्छ ।
 पटक–पटक पिसाब लागेको अनुभूति हुन्छ ।
पहिले–पहिले माइग्रेनलाई भास्कुलर (रक्तनलीगत) रोग भनिन्थ्यिो । तर अहिले यसलाई न्युरोलोजिकल (स्नायुगत) रोग भन्ने गरिन्छ । माइग्रेन एक विशिष्ट प्रकारको टाउको दुखाइ हो, जुन दुखाइ निकै कडा हुने गर्दछ । यस प्रकारको टाउको दुखाइले दैनिक जीवनका प्रायः सबै काम गर्न असहज हुन्छ । समग्रमा जीवनयापनलाई नकारात्मक बनाउँछ ।
माइग्रेनको कारण पत्ता लगाउन सकिएमा माइग्रेन पूर्णरुपमा निको हुनसक्ने रोग हो भन्ने विषय सबैले बुझ्नु आवश्यक छ । माइग्रेनको कारण र ट्रिगर गर्ने तत्वको पहिचान एवं त्यसको त्याग, उचित औषधिको सेवन, उचित जीवनशैली तथा व्यायाम, योग, ध्यान प्राणायाम, सप्लिमेन्टहरु, एक्युपन्चर तथा एक्युप्रेसर आदिको सम्यक प्रयोगले माइग्रेनलाई जित्न सम्भव छ ।
आयुर्वेदिक उपचार:
माइग्रेनको चिकित्सामा पहिला टाउकोमा जमेर रहेको फोहोर निकाल्न शिरोविरेचन (जस्तै– नस्य, रक्तमोक्षण आदि) गर्नुपर्दछ । त्यसपछि पूरै शरीरको फोहोर सफा गर्न शोधन गरिन्छ अनि औषधिको धूप वा धुवाँको प्रयोग गरिन्छ ।

सम्यक खानपिन र जीवनशैली:
तेल, घिउ वा बोसो नराखी पकाइएको खाना खान प्रोत्साहन गर्नुपर्छ । खानामा अधिकांश भाग फलफूल र सब्जीको प्रयोग गरिनुपर्छ । सब्जीहरुको ताजा रस वा सुप, फलफूल जस्तै– स्याउ, आँप आदिको जुस अधिक मात्रामा सेवन गर्नुपर्छ । दिनको एकपटक वा दुईपटकभन्दा बढी भोजन लिनुहुँदैन । अंगुर, कागती, बन्दा आदिको बढी प्रयोग गर्नुपर्छ । मही र सलादको दैनिकजसो प्रयोग गर्नुपर्छ । ६ देखि ८ घन्टा अनिवार्य रुपमा सुत्नुपर्छ । धूमपान र मद्यपान छोड्नुपर्छ । दैनिक प्रातः भ्रमणमा जानुपर्छ । घरबाहिरको फास्ट फुड, क्यान्ड फुड, चकलेट आदि खान बन्द गर्नुपर्छ ।
दिनभरिमा कम्तीमा ३ देखि ४ लिटर पानी पिउनुपर्छ । अधिक चिया वा कफी पिउन छोड्नुपर्छ । दैनिक रुपमा घिउ, गाईको दूध र नरिवलको पानी पिउनु लाभदायक हुन्छ । खानेकुराले पनि माइग्रेन निम्त्याउने गर्दछ, जुन हरेक व्यक्तिका लागि फरक–फरक हुने गर्दछ । यसको मतलब यो होइन कि खानेकुराले गर्दा नै माइग्रेन हुन्छ । व्यक्ति विशेषका लागि केही खानेकुरा त्यस्ता हुन्छन्, जसले टाउको दुखाउन मद्दत गर्दछ । अतः माइग्रेनको रोगी खानपिनप्रति पनि सचेत रहनुपर्छ ।

योग र पञ्चकर्म:
माइग्रेनमा हुने टाउको दुखाइका लागि गहिरो श्वासप्रश्वासको क्रियालाई प्रभावकारी विधि मानिन्छ । योगनिद्राको प्रयोगले पनि तत्काल राहत दिन्छ । सावधानीपूर्वक खुट्टा माथि र टाउको तल पारी गरिएका आसनहरुले माइग्रेनमा लाभ हुन्छ ।
पञ्चकर्म विधिमा शिरोविरेचनका लागि नाकलाई उत्तेजित बनाउने औषधियुक्त नस्य विधिको प्रयोग गरिन्छ । यसले नाकभित्रको फोहोरको सफाइ गर्दछ । त्यसपछि फेरि केही औषधियुक्त (असुरो, मरिच आदि) रस नाकमा महसहित राखिन्छ, जसले दुखाइ शान्त गर्न सहयोग गर्दछ । त्यस अतिरिक्त महानारायण तेल वा तिलको तेल नाकमा राखेर पनि नाक सफा गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्