नेपालमा वातावरणीय अपराध 



चीनमा मा औषधि बनाउन गैँडाको सिंङ र  वनस्पतीको माग तथा तिब्बतका सम्भ्रान्त वर्गका व्यक्तिहरूले पहिरनमा प्रयोग गर्नका लागि आफ्नो हैसियत अनुसार चितुवा देखि बाघको छालाको माग छ र त्यसको आपूर्ति का लागि बाघको छालाका लागी भारत र नेपालमा पाइने एक सिंङ्गे गैँडा, बाघ र वनस्पतिको गैर कानुनी व्यापारले निरन्तरता पाएको छ।
मुख्य बजार चीन भएको कारणले भारत, नेपाल र चीनका बीचमा अपराधीहरूले संगठित चेन विकासित गरेका छन् । यसमा सिकार गर्ने समूह, जंगलमा गएर संकलन गर्ने समूह देखि जंगली जनावरका अंग ओसार पसार गर्ने सम्मका गिरोह छन् र यिनीहरू आवश्यकता र सहजता  अनुसार एक अर्का सँग गैर कानुनी कारोबारमा संलग्न हुने गर्दछन्।
अर्को तर्फ भारत र पाकिस्तानमा शौकिनहरुले ईगुवाना, बाँदर, सर्प, चिता र अन्य विचित्र (Exotic) किसिमका विदेशी जनावर पाल्ने रहर सुरु भएको छ त्यसमा कति जनावर ल्याउन सरकारले स्वीकृति दिएको छ भने कति स्वीकृति दिएको छैन त्यस्ता जनावरको माग आपूर्ति दक्षिणी अमेरिका र अफ्रिकाका सम्मका चरा र चिम्पान्जी लगायत जनावरको हवाई मार्ग बाट हुने तस्करीमा नेपाल पनि ट्रान्जिटका रूपमा पनि प्रयोग भई राखेको छ।
नेपालका जंगलमा भएको काठ, नदीजन्य बालुवा र पहाडका ढुंगाको राजनैतिक र प्रशासनिक मिलेमतोमा हुने चोरी निकासीले वातावरणीय प्रभाव पारी राखेको छ यसको उदाहरण मेलम्ची लगायत नेपालका केही स्थानमा देखा परिराखेको हामीले देखे का छौँ । नदी र ताल तलैयामा हुने गैर कानुनी जिलेटिन, करेन्ट र विषको प्रयोग द्वारा माछा मार्ने प्रचलनले भविष्यमा यसका डरलाग्दा वातावरणीय असर देखिनमा कुनै शंका छैन।
वातावरणीय अपराध सम्बन्धी नेपालमा देखिएका समस्याहरुकाे बुँदागत रूपमा बुझ्दा सजिलो हुन्छ।
चोरी सिकारी 
नेपालमा चोरी सिकारी हुने मुख्य कारण सिकारको शौक, मासु र जनावरका अंगको व्यापार हुन।पहिलाको तुलनामा हेर्ने हो भने शौक र मासु खानका लागि गरिने सिकारमा धेरै कमी आएको छ तर सूचना र प्रविधिको विकास र अपराधीहरू संगठित हुँदै गएको कारण व्यापारिक उद्देश्यका लागि गरिने सिकारमा आशा गरिए जस्तो नियन्त्रण आएको छैन यसको उदाहरण यस भन्दा अघि पनि चितवनमा गैँडाको चोरी सिकारीमा पक्राउ परेकाहरू पटके रूपमा पक्राउ परेको तथ्यांकले देखाउँछ ।केही वर्ष नेपालले बाघ र गैँडाको चोरी सिकारीमा नियन्त्रण गरेर Zero Poaching न मनाएको पनि होइन।तर फेरि गैँडाको चोरी सिकारीले निरन्तरता पाएको यस वर्षका चितवन राष्ट्रिय निकुञ्जका घटनाले पनि देखाएको छ।
वन्य जन्तुका अंगको चोरी निकासी 
सबैलाई जानकारी भएकै हो मुख्यतः धेरै जस्ता वन्यजंतुको अंगको तथा रक्तचन्दन लगायतका वनस्पतिको माग चीनमा छ भने केहीको माग गल्फ तथा विश्वका अन्य मुलुकमा पनि छ।यो माग आपूर्ति गर्न अपराधीहरुले भारत, नेपाल, भुटान,चिन तथा आवश्यकता अनुसार अन्य मुलुकमा समेत  संगठित सञ्जाल विकसित गरेका छन्।कहिले भारतमा मारेर नेपाल लिएर आएको जनावरका अंग नेपालमा पक्राउ गरिएको छ भने नेपालका जीवजन्तुको अंग भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका समाचार हामीले पढी राखेका हुन्छौँ।नेपालको र नेपाल भएर जाने आखेटो पहार मुख्यतः परापूर्वदेखि चली आएका नेपाल र चीनका बीचका व्यापारिक मार्ग प्रयोग भएको देखिन्छ जस्तै टिंकर , ओलांग्चुंङ्गगोला, मुस्ताङ लगायत अन्य नाकाहरू जहाँ सुरक्षा निकायको प्रत्यक्ष पहुँच पनि सजिलो छैन र अर्को तर्फ निगरानीका पनि  अप्ठ्यारा हरू छन् तस्करहरुले त्यस्ता ठाउँ प्रयोग गरी राखेका छन्।
दुर्घटनामा वन्यजन्तुको मृत्यु
राजमार्ग र मानव निर्मित निर्माणका कारण बर्सेनि सयौँका संख्यामा वन्यजन्तुले ज्यान गुमाई राखेका छन्।राजमार्गमा बाटो क्रस गर्दा सार्वजनिक र निजी यातायातमा ठोकिएर बाघ, चित्तल लगायतका जनावरको मृत्यु भएका घटनाहरू एकातिर छन् भने अर्को तर्फ यात्रा गर्नेहरुको सुरक्षाको जोखिम अर्को महत्त्वपूर्ण विषय हो ।चितवनमा करेन्ट प्रयोग गरेर लगातार भई राखेको गैँडाको हत्या र चितवनको निर्माणाधीन संरचनामा परेर अनाहकमा गैँडाले ज्यान गुमाएको घटना राष्ट्रिय चासो र सरोकारको विषय भएको थियो।सरकारको यश तर्फ पनि ध्यान जान जरुरी छ अन्यथा बाघ र एक सिंङ्गे गैँडा एका देशको कथा न बनुन्।
काठ चोरी निकासी 
आफ्नो आवश्यकताका लागी तथा नेपालको आन्तरिक र भारतको माग पूर्ति गर्नका लागि हुने काठ चोरी निकासीमा पहिलाको तुलनामा धेरै  हदमा भए पनि नियन्त्रण भएको देखिन्छ।माओवादी द्वन्द्व कालमा सुरक्षा संयन्त्र असुरक्षाका कारण खुम्चिँदै जाँदा काठ चोरी निकासी अचाक्ली बढेको थियो जुनकी सुरक्षा निकाय पुनः आफ्नो ठाउँमा स्थापित हुँदा निस्सन्देह  नियन्त्रण आएको छ पूर्ण रूपमा भने होइन।अर्को तर्फ निर्माण तथा व्यापारिक स्वार्थका नाममा गरिने जंगल फडानी भने कायम नै छ त्यो नियन्त्रणका लागि सरकारी निकाय भन्दा पनि समाचार सम्प्रेषण गरेर पनि नियन्त्रण गर्ने काम सञ्चार जगतले गरेको हामीले बिर्सन हुँदैन।
नदी र पहाड बाट बालुवा चोरी निकासी
विकास निर्माण बढे सँगै यसको चोरी निकासीमा वृद्धि भएको छ र यसको माग आपूर्ति नेपालका लागि मात्रै होईनकी छिमेकी भारतको बजारमा समेत भई राखेको छ।भैरहवाका तत्कालीन प्रहरी उपरीक्षक विक्रम सिंह थापाले सार्वजनिक रूपमा विरोध गरेर त्यस बेला बालुवा निकासीको बेतिथिलाई नियन्त्रण गरेको मेरो  सम्झनामा छ।तर गणतन्त्र स्थापना पश्चात् स्थानीय निकाय गठन भए पछि राजनैतिक संरक्षणमा आपसी मिलेमतोमा चोरी निकासीले व्यापकता पाउँदै गएको छ।समय छदै यसमा नियन्त्रण गरिएन भने भारतको उत्तराखण्ड राज्य र यस वर्ष पाकिस्तानमा देखिएको विध्वंस जस्ता डरलाग्दा वातावरणीय प्रभाव  देखिने अवश्यम्भावी छ।
नदी र पहाड बाट ढुंगा चोरी निकासी 
निर्माणका लागि नेपालमा मात्रै होइन भारत सम्म को माग आपूर्ति गर्न नेपालका नदीको बहाव समेत मोडेर तथा पहाड बाट जथाभाबी गैर कानुनी रूपमा ढुंङ्गा उत्खनन गरिँदा त्यसको कारणले बाढी र पहिरोको स्वरूप परिवर्तन भएको छ र बर्सेनि यसले डरलाग्दो रुप ग्रहण गर्दै गई राखेको छ। समयमा नियन्त्रण गर्न सकिएन भने भविष्यमा यसको परिणाम भोग्न हामी सबै तैयार बसे हुन्छ।
नदी, खोला, तालमा माछा मार्ने
विष, करेन्ट, जिलेटिन प्रयोग गरेर माछा मार्ने गाउँ घर तिरको पुरानो प्रचलन हो यसरी माछा मारिँदा यसले माछा मात्रै मार्दैन त्यस ठाउँमा भएका सम्पूर्ण जलचर नष्ट गर्दछ।सँग सँगै करेन्ट र जिलेटिन प्रयोग द्वारा माछा मार्ने क्रममा बर्सेनि मृत्यु तथा विस्फोटका कारण अंगभ‌ंग भएका घटना समाचारमा हामीले देखि राखेका हुन्छौँ।
नियन्त्रणका उपाय
वन मन्त्रालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय लगायतका सरोकार भएका सरकारी निकाय हरू बिच कार्यगत समन्वय बसाल्न जरुरी छ।
-आवश्यकता अनुसारको साधन श्रोतको वितरण
-सुरक्षा निकाय तथा निजामतीको तालिममा वातावरणीय अपराध सामेल गर्ने
-वन विभागका कर्मचारीहरुमा प्रमाणको महत्त्व र सफल अपराध अनुसन्धानका लागी क्षमता विकास गर्ने
-संगठित अपराधी समूहको नियन्त्रणका लागि अन्य राष्ट्र सँग कार्यगत समन्वय स्थापित गर्ने
-प्रहरीको प्रदेश अनुसन्धान समूह भित्र  वातावरणीय अपराध हेर्ने जिम्मेवार इकाई गठन गर्ने
-समय र आवश्यकता अनुसार जिम्मेवार सरकारी निकाय लाई समेट्दै जाने गरी रणनीति बनाउने
अपराध नियन्त्रण र अनुसन्धान प्रहरीको प्रमुख दायित्व भएता पनि केन्द्रीय अनुसन्धान ब्युरो गठन न हुँदा सम्म वन्यजन्तु अपराध प्रहरीको प्राथमिकतामा पर्दैन थियो।केन्द्रीय अनुसन्धान ब्युरोमा वन्य जन्तु अपराध हेर्नका लागि नै भनेर छुटै पिलर गठन गरे पश्चात् केही हद सम्म भए पनि वन्य जन्तु अपराधले प्रहरीको तल्लो निकायमा पनि प्राथमिकता पाउँदै गएको छ।
वन्यजन्तु अपराध अनुसन्धान , नियन्त्रण र यस अपराधमा संलग्न संगठित गिरोह भत्काएर उल्लेख्य भूमिका खेले बापत केन्द्रीय अनुसन्धान ब्युरो समय समयमा राष्ट्रिय र अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानित भएको छ। सरकारी निकायबीचको थोरै भए पनि समन्वय र सुरक्षा निकायको पहलका कारण बाघ लगायतका जीवको संख्या वृद्धि भएको छ र अर्को तर्फ जनावरको वृद्धिका कारण खेतीपाती र मानवीय क्षतिका घटनामा वृद्धि हुँदै गएको हामीले देखि राखेका छौँ यसले मानव र वन्यजन्तुका बिचको द्वन्द्व बढ्दै गएको छ वन्यजन्तु द्वारा मानव हत्या   र त्यसको असर बिस अथवा करेन्ट प्रयोग गरेर बाघ, हात्ती तथा गैँडाको हत्या भएको उदाहरण हाम्रा सामु छन्, दोहोरो हत्याको नियन्त्रणका जिम्मेवारी सरकारले नै लिनु पर्छ र यसको न्यूनीकरणका एकीकृत उपाय पनि लागू गर्न जरुरी छ ।
हाम्रो छिमेकमा उत्तराखण्डको जोशिमठमा घर बाटो डरलाग्दो गरी चर्किएको समाचार हाम्रा सामु छ र त्यसको कारण अनियन्त्रित प्रकृति दोहन हो भनेर विज्ञहरूले भनी सकेका पनि छन्। नेपालमा ऐन नियम तथा नीति न भएको होइन तर राजनैतिक शक्तिको प्रयोग तथा लोभ पापी राजनीतिकर्मी र कर्मचारीका लोभका कारण दोहनमा नियन्त्रण गर्न न सकेको मात्रै हो। नियन्त्रणमा  सरकारले यथोचित ध्यान पुर्‍याउन सकेन भने नेपाली जनले भविष्यमा प्राकृतिक प्रकोपको परिणाम भोग्न तैयार भएर बसे हुन्छ।
लेखक -नेपाल प्रहरीका पूर्व डिआईजी हुनुहुन्छ

प्रतिक्रिया दिनुहोस्