इटालीको विजयी सुरुवात



लन्डन, (एजेन्सी) । इटालीले युरो २०२४ को छनोट खेलमा विजयी सुरुवात गरेको छ ।

माल्टालाई २–० ले पराजित गर्दै इटालीले छनोटमा पहिलो जित निकालेको हो । यसअघि इटाली पहिलो खेलमा इंग्ल्यान्डसँग २–१ ले पराजित भएको थियो । इटालीको जितमा माटियो रेटेगुई र माटियो पेसिनाले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो । माल्टामा आइतबार राति भएको खेलको १५औं मिनेटमा माटियोको गोलबाट इटालीले १–० को अग्रता लिन सफल भयो । उनले सान्द्रो टोनालीको पासमा गोल गर्न सफल भएका थिए ।

खेलको २७औं मिनेटमा माटियो पेसिनाले गोल गर्दै इटालीको अग्रता दोब्बर पारे । पेसिनाले पनि सान्द्रो टोनालीकै पासमा गोल गर्न सफल भएका थिए । दोस्रो हाफमा थप गोल निस्कन नसक्दा इटालीलाई पहिलो हाफको दुई गोल नै जितको लासग पर्याप्त बन्यो । यस जितसँगै समूह ‘सी’ मा इटालीले दुई खेलबाट तीन अंक जोडेको छ । पराजित माल्टाले दुई खेल खेल्दा जित र अंकविहीन बनेको छ ।

त्यसैगरी अर्को खेलमा कप्तान ह्यारी केन र विंगर बुकायो साकाको गोलमा इंग्ल्यान्डले पनि युरो २०२४ को छनोट खेलमा सहज जित निकालेको छ । घरेलु मैदानमा इंग्ल्यान्डले युक्रेनमाथि २–० को सहज जित निकालेको हो । दुवै गोल पहिलो हाफमा नै भएको थियो । वेम्वली स्टेडियम लन्डनमा आइतबार राति भएको खेलमा घरेलु टोलीले बल पोसेसन राख्दै पाहुना टोलीमाथि दवाव बढाउँदा ३७औं मिनेटमा अग्रता लिन सफल भएको थियो ।

कप्तान ह्यारी केनले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए । उनले बुकायो साकाको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि पहिलो गोलको लागि असिस्ट प्रदान गरेका साकाले ४०औं मिनेटमा साकाले गोल गर्दै इंग्ल्यान्डलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । उनले जोर्डन हेन्डरसनको पासलाई सदुपयोग गरे ।

दोस्रो हाफमा दुवै टोलीले केही अवसर सिर्जना गरेपनि थप गोल निस्कन नसक्दा पहिलो हाफको खुई गोल नै इंग्ल्यान्डको जितमा पर्याप्त बन्यो । छनोटमा इंग्ल्यान्डको यो लगातार दोस्रो जित हो । यसअघि इंग्ल्यान्डले इटालीलाई पराजित गरेको थियो । यस जितसँगै समूह ‘सी’ मा शीर्षस्थानमा रहेको इंग्ल्यान्डको दुई खेलबाट ६ अंक पुगेको छ । पराजित युक्रेन भने अंकविहीन छ ।

त्यस्तै, भेट्रान फरवार्ड तथा कप्तान क्रिष्टियानो रोनाल्डोको अर्काे उच्च प्रदर्शन प्रेरित पोर्चुगलले युरो २०२४ को छनोट खेलमा सानदार जित दर्ता गरेको छ । पोर्चुगलले घरेलु टोली लक्जेमवर्गमाथि उसकै मैदानमा ६–० को सानदार जित निकाल्दै लगातार दोस्रो जित आत्मसात गरेको हो । पोर्चुगलको फराकिलो जितमा कप्तान रोनाल्डोले दुई तथा जोआओ फेलिक्स, बर्नाडो सिल्भा, ओटाभियो र राफयल लियोले समान एक गोल गरेका थिए । पोर्चुगलले पहिलो हाफमा चार तथा दोस्रो हाफमा दुई गोल थप्दै सानदार जित निकाल्न सफल भयो । लक्जेमवर्गमा आइतबार राति गोलको वर्षा भएको एकपक्षीय खेलको नवौं मिनेटमा रोनाल्डोको गोलबाट पोर्चुगलले अग्रता लिन सफल भयो ।

उनले नुनो मेन्डेसको हेडरलाई फाइनल टच दिएका थिए । खेलको १५औं मिनेटमा फेलिक्सले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे । बर्नाडो सिल्भाको क्रस पासलाई उनले हेडरमार्फत फारपोस्टमा गोल गर्न सफल भएका थिए । १८औं मिनेटमा बर्नाडो सिल्भाले गोल गरेपछि पोर्चुगल खेलमा ३–० ले अघि बढ्यो । उनले जोओ पाल्हिन्हाको पासलाई सदुपयोग गरे । ३१औ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि पोर्चुगलले पहिलो हाफमा ४–० को आरामदायी अग्रता लिन सफल भयो । पछिल्लो दुई खेलमा रोनाल्डोको यो चौथो अन्तर्राष्ट्रिय गोल हो । उनले यसअघि लिचेस्टाइनविरुद्ध पनि दुई गोल गरेका थिए ।

यससँगै रोनाल्डोले १ सय ९८ खेलमा १ सय २२ अन्तर्राष्ट्रिय गोल गर्न सफल भएका छन् । उनी सर्वाधिक अन्तर्राष्ट्रिय क्याप जित्ने तथा पुरुषतर्फ सर्वाधिक बढी गोल गर्ने खेलाडी हुन् । खेलको ७७औं मिनेटमा परिवर्तित खेलाडी ओटाभियोले गोल गरेपछि पोर्चुगल ५–० ले अघि बढ्यो । ७५औं मिनेटमा फेलिक्सको स्थानमा मैदान छिरेका उनले दोस्रो मिनेटमा नै अर्का परिवर्तित खेलाडी राफयल लियो पासमा गोल गर्न सफल भए । ८५औं मिनेटमा राफयल लियो पेनाल्टीमा चुकेपनि ८९औं मिनेटमा गोल गर्दै पोर्चुगललाई ६–० को सानदार जित दिलाए । लियो ७५औं मिनेटमा ब्रुनो फर्नान्डेसको स्थानमा मैदान छिरेका थिए ।

यस जितसँगै पोर्चुगलले समूह ‘जे’ मा लगातार दोस्रो जित निकाल्दै शीर्षस्थानमा रहेको छ । पोर्चुगलको दुई खलेबाट ६ अंक पुगेको छ । पराजित लक्जेमवर्ग एक अंक जोडेर पाँचौं स्थानमा छ । यही समूहको अर्काे खेलमा स्लोभाकियाले बोस्निया हर्जगोभिनालाई २–० ले तथा आइसल्यान्डले लिचेस्टाइनलाई ७–० ले पराजित गरेको छ । यस नतिजासँगै स्लोभाकिया चार अंक जोडेर दोस्रो स्थानमा रहेको छ । बोस्निया र आइसल्यान्डको समान तीन अंक छ । लिचेस्टाइन अंकविहीन हुँदै पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्