
धनगढी । मनाङ मस्र्याङ्दी क्लब छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
धनगढी रंगशालामा सोमबार भएको खेलमा बागमती क्लबलाई २–१ गोल अन्तरले हराउँदै मनाङले अन्तिम चारमा स्थान बनाएको हो । मनाङलाई जित दिलाउन तिमोथे कोडु र साइजमोलले एक–एक गोल गरे । यता बागमतीका लागि सृजन गौतमले एक गोल फर्काए ।
खेलको ३७ औं मिनेटमा तिमाथेले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाए । बागमतीले खेलको ४१ औं मिनेटमा बराबरी गोल फर्कायो । बागमतीका लागि सृजन गौतमले बराबरी गोल फर्काए । पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको मनाङले दोस्रो हाफमा थप एक गोल गर्यो । मनाङका लागि खेलको ६६ औं मिनेटमा साइजमोलले गोल गर्दै टिमलाई २–१ गोलको जित दिलाए ।
जितसँगै मनाङले सेमिफाइनलमा स्थान बनाएको छ । अब मनाङले विदेशी टोली एभिनिर फुटबल क्लब क्यामरुनसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । उक्त खेल चैत १५ गते हुनेछ ।
प्रतियोगिताअन्तरगत मंगलबार आयोजक सुदूरपश्चिम–११ र विभागीय टोली नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् । मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । चैत ९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल १८ गते हुनेछ ।