आउँदो वर्ष पाठ्यपुस्तक अभाव नहुने



–एक सातापछि देशैभर बिक्री शुरू हुँदै
–१ करोड ३५ लाख थान छपाइ सकियो, १५ लाख थान छाप्न बाँकी
–कक्षा ६, ७ र १० को २८–२८ लाख, कक्षा ८ को २२ र ९ को २९ लाख थान छापियो
–वैशाख २ गते सबै विद्यार्थीको हातहातमा नयाँ किताब
–केन्द्रसहित ८ वटै कार्यालयमा पुस्तक पुग्यो
–सातै प्रादेशिक कार्यालय र एक प्रादेशिक प्रेससहित १ हजार १ सय बिक्रेताले बिक्री गर्दै
–प्रधामन्त्री सचिवालयदेखि शिक्षा सचिवसम्मलाई दैनिक तथ्याङ्क उपलब्ध
–प्रत्येक कक्षामा करिब ५–५ लाख विद्यार्थी

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले कक्षा ६ देखि १० सम्मका ९० प्रतिशत पाठ्यपुस्तक अर्थात् १ करोड ३५ लाख थान पाठ्यपुस्तक छपाइ पूरा गरेको छ । सरकारले केन्द्रलाई जिम्मा दिएको ६ देखि १० सम्मको करिब १ करोड ५० लाख थान पाठ्य पुस्तकमध्ये आइतबारसम्म १ करोड ३५ लाख थान पाठ्यपुस्तक छपाइ पूरा गरेको हो ।

केन्द्रले चैत १५ गतेभित्र ७ वटै प्रदेश कार्यालय र नेपालगञ्जमा रहेको प्रादेशिक प्रेस कार्यालयमा पुस्तक ढुवानी गरी एक साताभित्र अर्थात्् २० गतेबाट बिक्री खुला गर्ने भएको छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले चैत मसान्तभित्र सबै पाठ्यपुस्तक छपाइ पूरा गरी वैशाख १५ गतेसम्म सबै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पु¥याइने जानकारी दिनुभयो ।

केन्द्रले विराटनगर, जनकपुर, भरतपुर, धनगढी, नेपालगञ्ज, पोखरा, बुटवल सुर्खेत र काठमाडांैस्थित मुख्यालयको बिक्री केन्द्रबाट पाठ्यपुस्तक बिक्री गर्ने जनाएको छ । प्रबन्ध सञ्चालक झाले हुम्ला, जुम्ला, मुगु, कालिकोट, बाजुरा, मनाङ, मुस्ताङ, डोल्पालगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लामा चैत मसान्तभित्र पाठ्यपुस्तक पु¥याइसक्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘दुर्गम जिल्लामा पाठ्यपुस्तक ढुवानी गर्न नेपालगञ्ज र धनगढी प्रादेशिक कार्यालयको गोदाममा पाठ्यपुस्तक पु¥याइसकेका छौं ।’

प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि राष्ट्रियसभाको दिगो विकास तथा शुसासन समितिले हरेक हप्ता बैठक बोलाएर आगामी शैक्षिकसत्र २०८० साल वैशाख २ गतेबाट सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउन निर्देशन दिइसकेको छ । सोही निर्देशनको आधारमा जनकले छपाइसँगै बिक्री खुला गर्न लागेको हो । जनक शिक्षाले १ हजार १ सय बितरकमार्फत पाठ्यपुस्तक बिक्री गर्नेछ ।

केन्द्रका प्रबन्ध सञ्चालक झाले २४ सै घण्टा प्रेस सञ्चालन गरेर भए पनि समयमै पाठ्यपुस्तक पु¥याउने लक्ष्यअनुसार काम भइरहेको जानकारी दिँदै भन्नुभयो– ‘अब बाँकी रहेको १५ लाख थान पाठ्यपुस्तक छपाइ दुई हप्तामा सक्ने लक्ष्य लिएका छौं ।’ दैनिक झण्डै १ लाख २५ हजार थान पाठ्यपुस्तक उत्पादन भइरहेको जानकारी दिँदै प्रबन्ध सञ्चालक झाले भन्नुभयो– ‘तीन महिनादेखि सबै निकायको निरन्तर सहयोग र कर्मचारीले २४ सै घण्टा काम गरेका कारण पुस्तक छपाइ सम्भव भएको हो ।’

केन्द्रले हालसम्म कक्षा ६, ७ र १० को २८–२८ लाख, कक्षा ८ को २२ र ९ को २९ लाख थान पाठ्यपुस्तक छपाइ पूरा गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्रका लागि निजी क्षेत्रलाई कक्षा १ देखि ५ को पाठ्यपुस्तक छपाइ र बिक्री गर्ने जिम्मा दिइसकेको छ । निजी प्रकाशकले १ देखि ५ कक्षासम्म १ करोड २० लाख थान पाठ्यपुस्तक छपाइको जिम्मा दिएको छ ।

छाप्न बाँकी १५ लाख थानमध्ये पाठ्यक्रम परिवर्तन भएका कक्षा ५, ८ र १० का बढी छन् । ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६’ अनुरूप शैक्षिक सत्र विसं २०८० सम्म सबै कक्षामा नयाँ पाठ्यक्रम कार्यान्वयनमा आउने उल्लेख भएसँगै आगामी शैक्षिक सत्रबाट ३ वटा कक्षामा नयाँ पाठ्यक्रम लागु भएको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलले आगामी शैक्षिक सत्रमा पाठ्यपुस्तक अभाव नहुने ठोकुवा गर्दै भन्नुभयो–‘जनक शिक्षाले उपलब्ध गराएको तथ्याङ्कअनुसार आगामी शैक्षिक सत्रमा कुनै अभाव हुने देखिँदैन । त्यसैले, समयमै पाठ्यपुस्तक पुगिसक्ने आशा पलाएको छ ।’ उहाँले पुस्तक छपाइको प्रगतिबारे प्रधनमन्त्रीको सचिवालय र शिक्षा मन्त्रालयसहित ५ वटा सरकारी निकायले दैनिक तथ्याङ्क लिएका कारण पुस्तक अभाव नहुने देखिएको बताउनुभयो । जनक शिक्षाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, शिक्षा मन्त्रालय, जनक शिक्षाका अध्यक्ष एवं शिक्षा सचिव रामकृष्ण सुवेदी, शिक्षा तथा मानव स्रोत विकास केन्द्र र पाठ्यक्रम विकास केन्द्रका महानिर्देशकलाई दैनिक उत्पादन र तयारी अवस्थाबारे लिखित जानकारी दिने गरेको छ ।

सबै सरोकारवाला निकायको सहयोग र सल्लाहका कारण आगामी शैक्षिक सत्रमा पाठ्यपुस्तक अभाव हुने सम्भावना नरहेको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले भन्नुभयो । उहाँले केन्द्रका कर्मचारी दैनिक रूपमा अनुगमन गरेको कारण पनि पाठ्यपुस्तक छपाइको संख्या बढेको जिकिर गर्दै भन्नुभयो– ‘चैत १५ बाट बिक्री शुरू गर्ने योजना बनाएका छौं । वैशाखको दोस्रो साताभित्र सबै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्नेछ । केन्द्रले समयमै पीआरसी उपलब्ध गराएका कारणले पनि पाठ्यपुस्तक छपाइमा सहज भएको हो ।’

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले करिब ४ महिनाअघि सबै स्थानीय तहमा रहेका विद्यालयका विद्यार्थी संख्याको आधारमा स्थानीय तहमा रकम निकासा गरिसकेको छ । केन्द्रले ६ देखि १० कक्षासम्म प्रत्येक कक्षामा ५–५ लाख विद्यार्थी भएको अनुमान गरेको छ । सोही आधारमा शैक्षिक सत्र २०८० को लागि कक्षा १ देखि १० सम्म ३ अर्ब ४० करोड रुपियाँ बजेट विनियोजन भएको केन्द्रका महानिर्देशक पौडेलले बताउनुभयो । उहाँका अनुसार सो बजेट सोझै विद्यालयमा पुग्ने गरी स्थानीय तहमा पठाइसकेको छ ।
यसअघि चालु शैक्षिक सत्रमा कागज अभावको कारण समयमै पाठ्यपुस्तक पुग्न सकेको थिएन भने लगातार दुई वर्ष कोभिडका कारणले पुस्तक पुगेको थिएन ।

प्रतिक्रिया दिनुहोस्