निर्देशक समाजमा जनकदीपको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन



नेपाल चलचित्र निर्देशक समाजमा निर्विरोध रुपमा कार्यसमिति पदाधिकारी चयन भएका छन्।

समाजको शनिबार राजधानीमा सम्पन्न निर्वाचनसहितको १५औं वार्षिक साधारणसभाले जनकदीप पराजुलीको अध्यक्षतामा निर्विरोध कार्यसमिति पदाधिकारी चयन भएको हो। साधारणसभाले दुई सह सदस्य बाहेकको पदाधिकारीमा निर्विरोध कार्यसमिति चयन गरेको हो। नेपाली फिल्म निर्देशनको क्षेत्रमा योगदान पुड्डयाएका निर्देशकहरुलाई सम्मान गर्दै सम्पन्न भएको साधारणसभामा अध्यक्ष पदकी अर्की उम्मेदवार सुचित्रा श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि समाजका निवर्तमान महासचिव पराजुली निर्विरोध निर्वाचित भएका हुन्। अन्य पदमा पनि समझदारी बनेपछि दुई सह सदस्य बाहेकका पदमा निर्विरोध पदाधिकारी निर्वाचित भएका छन्।

कुल १५ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा सुभाष गजुरेल र दीपशिखा खड्का, महासचिवमा अरुणकुमार प्रधान, सचिवमा देवेन्द्र पाण्डे, कोषाध्यक्षमा समुद्र भद्म र सह कोषाध्यक्षमा राज बस्न्यात निर्विरोध निर्वाचित भएका छन्। त्यसैगरी, सदस्यमा दीपक वली, सौरभ चौधरी, अम्बर ओली, सत्यराज चौलागाईं, उत्सव केसी, अमृतमान महर्जन निर्विरोध निर्वाचित भए। दुई सह सदस्यका लागि भएको निर्वाचनमा भने सीमा गुरुङ र रामकुमार श्रेष्ठ निर्वाचित भएका छन्।

समाजको अध्यक्षमा निर्वाचित भएपछि पराजुलीले समाजलाई बौद्धिक र सिर्जनात्मक ढंगले अघि बढाउने, प्रविधिमैत्री बनाउने, अक्षयकोष सञ्चालन गर्नेजस्ता कार्यका साथ हरेक निर्देशकले मेरो संस्था भन्न सक्ने किसिमले काम गर्ने बताए। समाजको पहिलो कार्यसमिति बैठकले कमल एक्चे मगर र भीषण राईलाई सदस्य पदमा मनोनीत गरेको छ।

प्रतिक्रिया दिनुहोस्