पत्रकारिता क्षेत्रले अल्पायुमै गुमाएको एक नक्षत्र



जनता प्रसारण तथा प्रकाशन लिमिटेडका ग्रुप एडिटर, रेडियो जनताका स्टेसन मेनेजर अनन्य मित्र दीपेन्द्र दोङ तामाङ हामीबीच रहनुभएन भन्दा पनि आफैँलाई पत्यार लागेको छैन तर सत्य हो उहाँ रहनुभएन भन्नुपरेको छ । १५ दिनअगाडि अफिसमा सँगै चिया खाएको तर अर्को दिन ब्रेन हेमरेज भएको पीडादायी खबर मित्र दोङकी श्रीमती चाँदनी मेडमले सुनाउँदा पनि पत्याउन गाह्रो भएको थियो । किनकि अघिल्लो दिन जनता टेलिभिजननजिकै कर्नरमा चिया खाँदासम्म कुनै संकेत पनि थिएन । बिहान घरमा ‘खाने बेला भयो, पस्किँदै गर, म बाथरुम गएर आउँछु’ भनी बाथरुम पस्नुभएका दीपेन्द्र २० मिनेटसम्म ननिस्किएपछि चाँदनी मेडम बाथरुमको ढोका ढकढक्याउन जानुभयो । तर्सिएलान् भनी ढिलो–ढिलो गरी ढोका बजाउँदै गर्दा रेस्पोन्स नभएपछि ढोका निकै ढकढक्याउनुप¥यो । दीपेन्द्रले पटक्कै रेस्पोन्स गर्नुभएन अनि ढोका फोरियो । दीपेन्द्र बाहिर निस्कने बेला ढोका खोल्न नसकेर मोबाइल गर्न खोज्दाखोज्दै थचक्क बस्न पुग्नुभएछ, बाथरुमको एक साइडमा कक्रक्क परेर बसेकोजस्तो पूरै बेहोस अवस्थामा । शरीर पछारिएको पनि छैन । मोबाइल पनि केही नभएको, किनकि गाह्रो भएर परिवारलाई मोबाइल गर्न खोज्दाखोज्दै नसकेको अवस्थाजस्तो देखिएको चाँदनी मेडमको भनाइ छ ।

बेहोस अवस्थामा रहनुभएका पत्रकार दोङलाई दीर्घायु अस्पताल हुंँदै मेडिसिटी लगियो । १४ दिन उपचार गरियो । चिकित्सकले कहिले रेस्पोन्स गर्न थालेको बताउने त कहिले केही भन्न सकिन्न भन्दै समय बित्यो । हामीले चिकित्सकलाई पनि पटक–पटक भेट्यौं । चाँदनी मेडमले पनि वास्तविक कुरा बताइदिनुस् भन्नुभयो तर चिकित्सकले केही भन्न सकिन्न रोग खतरा हो भनिरहे । आखिर शुरुकै दिन ब्रेन डेथ भैसकेको भन्ने कुरा जानकारीमा आएको छ । १४ दिनका दिन बिहानसम्म पनि मुटु चल्दै छ भन्दै थियो अस्पताल । एकजना चिकित्सकसँग मोबाइलमा सम्पर्क गर्दा ‘अस्पतालले जे भने पनि पर्सनल्ली भन्नुपर्दा दीपेन्द्रको ब्रेन डेथ भैसकेको छ, अब रिकभर हुँदैन, भेन्टिलेटर पाइप निकाल्न भन्नुभए हुन्छ’ भनियो । त्यसपछि त …. ।

म पनि चाँदनी मेडमले फोन गर्दा बिहानै काभ्रे पुगिसकेको थिएा । फर्किन केही समय लाग्यो । अफिसबाट अध्यक्ष डा. विजय पौडेल एवं अन्य साथीहरु, चलचित्र पत्रकार साथीहरु, पहिले सिटिजन रेडियोमा सँगै काम गरेका साथीहरु र दोङ परिवार सबै जम्मा भई अस्पतालबाट प्रक्रिया पु¥याएर निकाल्ने काम भयो । अनि तामाङ संस्कारअनुसार बौद्ध पीपलबोटभित्र तामाङ गुम्बामा मित्र दीपेन्द्रको शव राखिएको छ । लामा गुरुहरुले पाठ गर्ने काम १३ गते सम्म हुने रहेछ । तीन दिनसम्म मुटु चलेकै हुन्छ भन्ने मान्यताका आधारमा अन्त्यष्टि नगरिने रहेछ । भर्खर ४४ वर्षको लक्का जवानको शरीर बोल्दै नबोल्ने गरी कपडामा बेरिएर अस्पतालबाट निस्कन्छ भन्ने एकरत्ति पनि सोचिएको थिएन । परिवारको असैह्य पीडा, साथीहरु सबै भावविह्वल तर के गर्ने, जस्तो पनि सहनुपर्दो रहेछ । चाँदनी मेडम ११ वर्षको छोरालाई भन्नै सकिएको छैन कसरी भन्ने होला भन्दै छटपटाइरहनुभएको छ । १३ गते बिहान ११ बजे राष्ट्रिय नाचघरमा श्रद्धाञ्जलिका लागि राखेर सोही दिन स्वयम्भु घाटमा अन्तिम दाहसंस्कार कार्यक्रम तय गरिएको जानकारी गराइएको छ ।

दुई दशकअगाडि नै म नेपाल समाचारपत्र दैनिकको समाचार महाशाखाको नेतृत्वदायी जिम्मेवारीमा रहँदारहँदै नागरिक समाजका अगुवा डा. अर्जुन कार्की, डा. नेत्र तिम्सिना, शर्मिला कार्कीले व्यवस्थापन हेर्नुभएको सिटिजन रेडियोमा उहाँहरुको आग्रहमा हप्ताको केही दिन बिहान कार्यक्रम दृष्टिकोण चलाउने गर्थें (हाल म्यानेजमेन्ट परिवर्तन भएपछि सो रेडियोको नाम अन्नपूर्ण भएको छ) । त्यतिखेरदेखि नै दीपेन्द्रसँग राम्रो दोस्ती गाँसिएको थियो । दोङ त्यतिखेरै स्टेसन मेनेजर । पछि समाचारपत्रमा पनि सँगै भयौँ । अनि विगत दुई वर्षयता जनता प्रसारण तथा प्रकाशन लिमिटेडमा म समाचार प्रमुख, मित्र दीपेन्द्र ग्रुप एडिटर एवं रेडियो जनताको स्टेसन म्यानेजर । हामी अफिसलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने कुरामा निकै घोत्लिन्थ्योँ । मित्र दीपेन्द्रलाई चिया निकै मन पर्ने । दिनको जति पटक चिया खान पनि तयार हुने । म धेरै चिया नखाने तर साथ दिने गर्थें । जब चिया खान मन लाग्छ ‘ए टंक दाइ, म रेडियोबाट ओर्लिंदै छु, चिया खान जाऊँ भन्ने । अफिसमा मित्र दीपेन्द्रविना चिया खाइएन नै भन्दा पनि हुन्छ । पछिल्लो समय मित्र दीपेन्द्रसँग जनता प्रसारण तथा प्रकाशन लिमिटेडमा बिहानको सिफ्टमा मात्र भेट हुन्थ्यो र पनि दीपेन्द्र बाहिर निस्कने बेला चिया खान जाऊँ भनिहाल्नुहुन्थ्यो ।

उहाँ अढाइ महिनायता साँझको सिफ्ट मध्यान्ह दैनिकको कार्यकारी सम्पादक एवं सीईओको भूमिकामा पनि हुनुहुन्थ्यो । कामको लोड बढेको कुराले उहाँले केही असहजजस्तो महसुस त गर्नुभएको थियो । फागुनको दोस्रो हप्तापछि मैले चिया खाँदै गर्दा धेरै लोड खेप्नुहुंदैन है भन्दा उहाँले ठीक छ सल्लाह गरौँला दाइ भन्नुभएको थियो । यतिसम्म कि न्यूज रुममा काम गरिरहेको अवस्थामा दीपेन्द्र अफिस गेटमा आइपुग्दा न्यूज रुमका सहकर्मी साथीहरुले ऊ तपाईंको परम मित्र आइपुग्नुभो भन्ने गर्नुहुन्थ्यो । त्यो मित्रता र सामीप्यता नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल इन्जामा पनि थियो । म इन्जा ग्लोबलको उपाध्यक्ष एवं एसियाको अध्यक्ष छु भने उहाँ महासचिब हुनुहुन्थ्यो । तीन हप्ताअगाडि मात्रै उहाँसहित साथीहरुको सक्रियतामा इन्जा डे सम्पन्न गरिएको थियो । आज तिनै साथी हामीबीच हुनुहुन्न भन्न पनि मनले मानेकै छैन । उहाँले अन्तिम चिया गफमा ‘यसपटक इन्जा डे कार्यक्रम चार वर्षयताकै भव्य भयो, बसेर समीक्षा गर्ने होइन त ?’ भन्नुभएको थियो तर सोको समीक्षा गर्न नपाउँदै मित्रलाई गुमाउनुपरेको छ ।

कोही पनि अमर त छैन, एकपटक जाने नै हो । तर त्यो उमेरमा जाने कुरा यति अकल्पनीय भएको छ कि त्यसको कुनै सीमा नै छैन । मनले मान्न सकेकै छैन । वास्तवमा मित्र दीपेन्द्रको निधनले पत्रकारिता क्षेत्रले एक कर्मठ, लगनशील र सक्रिय व्यावसायिक पत्रकार गुमाएको छ । रेडियो क्षेत्रसँगै चलचित्र पत्रकारितामा उहाँको सक्रियता उत्तिकै थियो । पत्रकारितामा बहुआयामिक मित्र दीपेन्द्रको अकल्पनीय निधनले परिवारका लागि असह्य वज्रपात नै भएको छ भने हामीजस्ता साथीहरुलाई पनि स्तब्ध बनाएको छ । हामीले अति असल मित्र गुमाएका छौँ ।

असह्य पीडामा रहनुभएका चाँदनी मेडम, छोरी, सानो छोरा एवं समस्त परिवारलाई यो शोकलाई शक्तिमा रुपान्तरण गर्ने शक्ति मिलोस् भनी प्रार्थना गर्दछु । मित्र दीपेन्द्रप्रति हार्दिक श्रद्धा–सुमन । परिवारजनमा समवेदना । १४ दिनमा २० लाख रुपियाँभन्दा बढी मेडिसिटीलाई बुझाएर सेतो कपडामा बेरिएका मित्र दीपेन्द्रलाई शवको रुपमा देख्नुपरेको छ ।

सरकारी अस्पतालमा बेड खोज्दा पाइँदैन । सरकारी अस्पतालकै चिकित्सक पनि निजीमा काम गर्छन् । उनीहरुले पनि सरकारीमा पुग्दा यहाँ गाह्रो छ, फलानो अस्पताल लैजानुस् भन्न गाह्रो मान्दैनन् । किनकि त्यहाँ जाँदा तिनै चिकित्सक हुन्छन् । त्यो कुरा राज्यलाई थाहा छ र पनि थाहा नपाएजस्तो गरिएको छ । किनकि राज्य सञ्चालकहरुले नै शिक्षा र स्वास्थ्यमा लगानी गरेका छन् र सबैभन्दा नाफामूलक व्यापार नै शिक्षा र स्वास्थ्य भएको छ ।

मित्र दीपेन्द्रको परिवारले शिक्षण अस्पतालमा उपचारका लागि प्रयास गर्दा आईसीयुको बेड छैन तर नेता वा उच्चपदस्थ अधिकारीको सोर्स लगाए बेड पाइन्छ भन्ने कुरा अस्पतालकै जिम्मेवार अधिकारीले भने । आर्थिक अवस्था कमजोर भएका र पहुंँच नभएकालाई उपचार पाउन पनि गाह्रो हुने मुलुकमा हामी छौँ । आर्थिक हिसाबले सम्पन्न भए पनि नेता र उच्चपदस्थ अधिकारी भए राज्यले नै खर्च गरेर उपचार गर्न विदेश लैजाने गरिन्छ । विदेश नलगे पनि सरकारीमा होइन तिनै व्यापारिक अस्पतालमा लगेर उपचारका लागि राज्यको खर्च भरिन्छ ।

अन्त्यमा, सबैका लागि सर्वसुलभ शिक्षा र स्वास्थ्य भन्ने आवाज मिडियामार्फत बुलन्द गर्दागर्दै मित्र दीपेन्द्रको अल्पायुमै निधन भएको छ । यदि राज्यका जिम्मेवार निकायले दोङजस्ता जो–कोही नेपालीको अकालमा मृत्यु हुँदा उपस्थिति देखाएर वा शब्दमार्फत सच्चा श्रद्धाञ्जलि दिने हो भने नेपाली नागरिकले सर्वसुलभरुपमा उपचार पाउने व्यवस्था गर्नुपर्छ । अनि मात्र मृतात्माप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ र पदमा बसेको आफ्नो जिम्मेवारी पनि पूरा हुनेछ, यही छ कामना । पुनः मित्र दीपेन्द्र तपाईंको शरीर हामीबीच नरहे पनि हाम्रो मानसपटलमा सधैँ अमर रहनुहुनेछ ।

(वरिष्ठ पत्रकार टंक पन्त जनता टेलिभिजनका समाचार प्रमुख एवं नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल इन्जा एसियाका अध्यक्ष हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्