मुलुक गम्भीर मोडमा



मुलुकको पछिल्लो अवस्थालाई नियाल्दा स्थिति गम्भीर मोडमा पुगेको छ । राजनीति गर्नेहरु बेइमान हुँदा मुलुकको अवस्था दिन–प्रतिदिन ओरालो लाग्दो अवस्थामा पुगेको छ । यहाँको आर्थिक अवस्था डरलाग्दो देखिन्छ तर पनि दलहरु सचेत भएका देखिँदैनन् । आफ्नो दुनो सोझ्याउन उनीहरु व्यस्त देखिन्छन् । एकले अर्कालाई गाली गर्ने तर मुलुकका लागि सिन्को नभाँच्ने दलहरुका कारण मुलुक दलदलमा फस्दै गएको देखिन्छ । अहिले देश बनाउने भन्दा पनि कति मन्त्रालय आफ्नो भागमा पर्छ र आफ्नाहरुलाई त्यहा पठाउने अनि कमाउने भन्ने सत्ता गठबन्धनको लालसाले मुलुक बर्बादीको बाटोतर्फ उन्मुख हुँदै गएको देखिन्छ । यसले दलहरु मुलुकको हितमा कति सक्रिय छन् भन्ने देखिन्छ । एकले अर्काको खेदो खन्ने र आफू पानीमाथिको ओभानो हुने दलका नेताहरुका कारण सबै क्षेत्र अस्तव्यस्त बन्नु पक्कै पनि राम्रो होइन ।

सकारात्मकभन्दा नकारात्मक सोचले ग्रस्त नेताहरुका कारण नै मुलुक ओरालो लाग्ने अवस्थामा पुगेको हो । भजनमण्डलीहरु नेताका भजन गाउनमा व्यस्त देखिन्छन् । अहिलेको अवस्था भनेको नेताहरुलाई सचेत गराउने अवस्था हो । त्यतातर्फ कसैको ध्यान गएको पाइँदैन । दलीय गतिविधिका कारण वाक्क बनेका जनताले पनि अब अर्को विकल्प सोच्न थालेको देखिन्छ तर पनि दलका नेता सचेत भएको पाइँदैन । अहिलेको दलीय गतिविधिका कारण गणतन्त्रमाथि प्रश्न उठाउने समूह सक्रिय हुँदै गएको छ । कतै दलका कारण गणतन्त्र नै धरापमा पर्ने त होइन भन्ने चिन्ता थपिएको छ । यसतर्फ सबै नेपाली सचेत हुनुपर्ने अवस्था सृजना भएको छ । लामो संघर्षपछि स्थापित गणतन्त्रलाई धरापमा पार्ने काम दलका नेताहरुकै कारण हुनु सुखद पक्ष होइन ।

आफैँले स्थापना गरेको व्यवस्था धरापमा पर्दै जाँदासमेत सचेत नहुने नेताबाट केही आशा गर्न सकिने ठाउँ नदेखिनु अर्को दुःखद पक्ष हो । व्यवस्थालाई नै धरापमा पार्न खोज्ने दलका नेताहरुलाई आम नेपालीले समयमा नै जवाफ दिन अवश्यक भइसकेको छ । मुलुकमा बेला–बेलामा भएको आन्दोलनमा सहभागी भएर ज्यान गुमाएकाहरुका आत्माले समेत दलका नेताहरुलाई गिज्याइरहेको भान हुन्छ । मुलुक यस अवस्थामा कसरी पुग्यो भन्ने विषयमा दलका नेताहरु सचेत हुनुपर्ने थियो तर उनीहरुले त्यता ध्यान दिएको देखिँदैन । समय अझै बिग्रिसकेको छैन । दलका नेताहरु सचेत भएर अगाडि बढ्न सके देशलाई पुरानै लयमा ल्याउन सकिन्छ । त्यतातर्फ सबै नेताहरुको ध्यान जान आवश्यक छ । तेरो–मेरो भन्दा पनि हाम्रो भन्ने संस्कार नेताहरुमा पलाउन जरुरी देखिन्छ । राज्यलाई गलत बाटोमा लैजान खोज्नेहरुका विरुद्ध सक्रिय रहेको नागरिक समाज पनि अहिले निष्क्रिय रहेकाले यो अवस्था सृजना भएको भन्ने आम जनगुनासोलाई नराम्रो मान्न सकिँदैन । त्यसैले सबै क्षेत्र सक्रिय भएर अगाढि बढ्न सकेमात्रै अहिलेको अवस्थाबाट मुलुकले पार पाउनेछ । यसतर्फ सबैको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्