एयर इन्डिया र निगमको जहाज झन्डै ठोकिएन

३  एटीसी कारबाहीमा, एयर इन्डियाका पाइलटलाई प्रतिबन्ध



काठमाडौँ। 

नेपाली आकाशमा गत शुक्रबार गम्भीर हवाई दुर्घटना टरेको छ । एयर इन्डिया र नेपाल वायुसेवा निगमको जहाज ठोकिनबाट जोगिएसँगै  सम्भावित हवाई दुर्घटना टरेको हो ।

नयाँ दिल्लीबाट उडान नम्बर ‘एआई २१३’ को एयर इन्डियाको जहाज र मलेसिया क्वालालम्पुरबाट ‘आरए ४१६’ निगमको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विहान करिब पौने ९ बजे एकैपटक अवतरण गर्न खोज्दा सिमारामाथिको आकाशमा झन्डै ठोक्किन पुगेको थियो । प्राधिकरणका अनुसार दुवै जहाज आकाशमा १९ हजार फिटको उचाइमा ‘होल्ड’ भइरहेका थिए । निगमको जहाजले एयर ट्राफिक कन्ट्रोलसँग  अवतरणका लागि एप्रोच गरेसँगै  १५ हजार फिटमा झारिएको थियो । तर, एयर इण्डिनको जहाजले कन्ट्रनेलसँग  सम्पर्क  नै नगरी बिनाअनुमति १९ हजार फिटबाट झरेर १५ हजार फिटमा आउँदा दुर्घटनाको नजिक पुगेको थियो । दुई जहाजबीचको दूरी १ हजार फिटभन्दा कम भएपछि दुवै जहाजको ककपिटमा रहेको (ट्राफिक कोलिजन अभोइन्डेन्स सिस्टम)ले सचेत गराएको थियो । आफूहरुको दूरी कम भएको जानकारी निगमका पाइलटले एटीसीलाई जानकारी गराएलगत्तै निगमलाई १३ हजार ५ सय फिटको उचाइमा झारेर एयर इन्डियाको जहाजलाई १६ हजार फिटमा पठाइएकाले सम्भावित दुर्घटना टरेको थियो ।

प्रारम्भिक अनुसन्धानमा एयर इन्डियाले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटभन्दा तल जहाज झारेर गल्ती गरेको देखिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर इण्डियासँग  स्पष्टीकरण सोधेको छ । साथै विदेशी पाइलटलाई कारबाही गर्ने कानुन नभएकाले भारतको नागरिक उड्डयन महानिर्देशकको कार्यालयलाई पत्र पठाएको स्रोतको भनाइ छ। स्रोतका अनुसार भारतबाट स्पष्ट जवाफ नआउन्जेलसम्म उक्त उडानका चालक दललाई रोक लगाइएको छ । यद्यपि, सोही दिन एयर इन्डियाको नेपालस्थित पाइलट इन कमान्डले प्राधिकरणका अधिकारीहरुसँग  गल्ती भएको भन्दै माफी मागेका थिए ।

त्यस्तै उक्त घटनाका सम्बन्धमा छानबिन समिति गठन गरी घटना भएको समयमा टावरमा कार्यरत रहेका तीन जना एटीसीलाई ‘एक्टिभ पोजिसन’ मा रहेर काम गर्न रोक लगाइएको प्राधिकरणले जनाएको छ । ती एटीसीको नाम प्राधिकरणले सार्वजनिक नगरे पनि त्यतिबेला डियुटीमा रहेका एटीसीलाई काम गर्न रोक लगाइएको हो । एयर इन्डियाका पाइलटले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एटीसीसँग  संवाद नगरे पनि राडर हेरेर जहाजको अवस्थाबारे जानकारी लिनुपर्नेमा एटीसीले त्यसो नगरेको हुँदा  कारबाही गरिएको प्राधिकरणले जनाएको छ । एटीसीसँग  संवाद भएको हो होइन भन्ने बारेमा ‘भीआरएस रेकर्ड’ सुनेपछि दोषी को हो भन्ने खुल्ने प्राधिकरणको भनाइ छ।

यस्तै घटना गत फागुन १५  गते पनि भएको थियो । त्यतिखेर ललितपुरको भट्टेडाँडास्थित ‘गुराँस  प्वाइन्ट’मा होल्ड भइरहेका बेला कतार एयरवेजले १३ हजार ५ सय फिटबाट एटीसीको अनुमतिबिना तल झर्दा १२ हजार ५ सय फिटको उचाइमा रहेको नेपाल एयरलाइन्ससँग  झन्डै ठोकिन पुगेको थियो । नेपाल एयरलायन्सको जहाज भन्दा  तल ११ हजार ५ सय फिटको उचाइमा बुद्ध एयरको जहाज थियो । १ हजार फिटको अन्तरमा तीनवटा जहाज होल्ड भइरहेका बेला कतार एयरले एक्कासी ७ सय फिटभन्दा जहाज तल झारे पनि एटीसीले कन्ट्रोल गर्न सफल भएकाले त्यतिबेला पनि ठूलो दुर्घटना टरेको थियो । सो घटनामा कतार एयरको गल्ती भेटिएपछि कारबाही सिफारिस गरिएको प्राधिकरणले जनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्