केन्द्रीय राजनीतिको पराकम्प लुम्बिनीमा, संकटमा गिरी सरकार

चौधरीलाई मुख्यमन्त्री बनाउन बुझाइयो ५३ सांसदको हस्ताक्षर



बुटवल।

केन्द्रीय राजनीतिमा आएको फेरबदल सँगै त्यसको प्रभाव लुम्बिनी प्रदेशमा पनि देखिएको छ ।

नेकपा माओवादी केन्द्र ,जनमत पार्टी,जसपा ,लोसपा , राप्रपा सहितका दलहरुको समर्थनमा मुख्यमन्त्री बन्नु भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी दुई महिनामै अल्पमतमा पर्नु भएको छ । गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका गिरीले माघ ५ गते विश्वासको मत लिनु भएको थियो ।

गिरी सरकारलाई समर्थन गरेका र सरकारमा सहभागी भएका दलहरुले आइतबार राजीनामा गर्दै नेपाली काँग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन ५३ सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएका छन् ।

आइतबार प्रदेश प्रमुख शेरचन समक्ष आठ दल र एक स्वतन्त्र सांसदको हस्ताक्षर बुझाइएको हो । कांगेसका २७, नेकपा माओवादी केन्द्रका १०, जनमत पार्टी, जसपा, लोसपाका तीन–तीनसँगै नागरिक उन्मुक्तिका चार , नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद एक–एकजनाको हस्ताक्षर बुझाइएको हो ।लुम्बिनी प्रदेशमा जम्मा ८७ जना सांसदहरु छन् ।

प्रदेश प्रमुख शेरचन समक्ष बुझाइएको बहुमत सांसदहरुले हस्ताक्षरसहित नयाँ मुख्यमन्त्री नियुक्तिको माग गर्दै गठबन्धनमा आबद्ध दलहरुले संविधानको धारा १६८, २ अनुसार सरकार गठनका लागि मागसमेत गरेका छन् । यसअघि पनि लुम्बिनीमा प्रदेशका दोस्रो मुख्यमन्त्री चयन हुँदा यसै धारा अन्तर्गत सरकार गठन गरिएको थियो । यता पत्र बुझ्दै प्रदेश प्रमुख अमिक शेरचनले पछिल्लो राजनीतिक घटनाक्रमले देशमा स्थिर सरकार चल्न नसकेको भन्दै विकास निर्माण र समृद्धि स्थापित गर्न नसकिएको बताउँदै बहुमत सांसदहरुको माग दाबीलाई आफूले बुझेको भए पनि वर्तमान मुख्यमन्त्रीले संविधान अनुसार १ देखि २ महिनासम्म लम्ब्याउन सक्ने संविधानमा स्पष्ट लेखिएको जनाउँदै त्यसपछिको विकल्प राजीनामा दिनुभन्दा अरु नभएको बताउनु भयो ।सरकारमा सहभागी नेकपा माओवादी केन्द्र ,जनमत र जसपा सकारबाट बाहिरिएको छ ।

आइतबार माओवादीका मन्त्रीहरूले मुख्यमन्त्री लीला गिरी नेतृत्वको सरकारबाट राजीनामा दिएका हुन्। माओवादी केन्द्रबाट लुम्बिनीमा जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना मन्त्री बनेका थिए। भने जनमत पार्टीका संसदीय दलका नेता सिके गुप्ताले पनि मुख्यमन्त्रीलाई राजीनामा दिएका छन् ।

जनमत , जसपा र माओवादी केन्द्र बाट मन्त्री बनेकाहरुले राजीनामा दिएको पार्टीहरुले जनाएका छन् ।माओवादी सँगै साना दलहरु सरकराबाट बाहिरिएसँगै मुख्यमन्त्री गिरी अल्पमतमा परेका छन् । लुम्बिनीमा एमाले र राप्रपाबाहेक अन्य सबै दल एकातर्फ लागेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्