६ वर्षदेखि ‘भीआईपी’ सडकको कन्तबिजोग (तस्वीरसहित)

नख्खु–भैंसेपाटी सडक



–निर्वाचनको मुख्य नारा, जितेपछि चुपचाप
–काम शुरु भएको ६ वर्षमा बाटो बनेन
–मन्त्री क्वार्टर, मुख्यमन्त्री र प्रदेश प्रमुखको आवास बन्यो बाटो बनेन
–उपप्रधानमन्त्री ३ पटक पुगे
–१ महिनाभित्रै सक्ने ठेकेदारको दाबी

 ललितपुर  । 

ललितपुरको नख्खु–भैंसेपाटी सडक खण्डको काम सुरु भएको ६ वर्ष भयो । अहिलेसम्म सडकले नयाँ स्वरुप पाउन सकेको छैन । त्यही बाटो पार गरेर दैनिक मन्त्रीदेखि विदेशी राजदूतसहित दर्जनौं भीआईपी ओहोरदोहोर गर्छन् । तर बाटोको बारेमा के भइरहेको छ भन्ने कसैलाई जानकारी छैन । बाटो निर्माण हुनुभन्दा पछि शुरु भएको भैंसेपाटीमा नयाँ मन्त्री क्वार्टर, मुख्यमन्त्री र प्रदेश प्रमुखको आवास निर्माण सम्पन्न हुने चरणमा पुगेको छ ।

सडकको दुरावस्था हेर्न उपप्रधान तथा भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ उक्त क्षेत्रमा दुईपटक पुग्नुभएको छ । चार दिनअघि उहाँ दोस्रोपटक दलबलसहित सो सडकखण्ड पुग्नुभएको थियो । मन्त्री श्रेष्ठले तत्काल सडक कालोपत्रे गर्न निर्देशन दिँदै फर्कने गर्नुभएको छ । तर उपलब्धि हुन सकेको छैन ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोषिमा कार्कीले सो बाटोको बारेमा आफूले दैनिकजसो फलोअप गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘म यो क्षेत्रको सांसद भएपछि प्रतिनिधिसभामा विशेष समय लिएर सो सडक खण्डको बारेमा बोलेको थिएँ । तत्काल भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले टेलिफोन गरी सो सडकको निर्माण भइरहेको बताउनुभएको थियो, अहिले काम भइरहेको छ । हामीले वैशाखसम्म काम सक्ने आश्वासन पाएका छाैं ।’

हरेक साँझ बिहान सोही बाटो हिँड्ने गरेकी सांसद डा. कार्कीले शुरुमा ठेकेदार र अहिले सडकको कारण समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘समस्यै समस्या थियो, अहिले समाधान भइसकेको छ । सरकारले करिब २ करोड रुपियाँ बजेट विनियोजन गरेर पानीको पाइपलाइनको काम शुरु गरेको छ । त्यसलगत्तै सडकको काम शुरु हुन्छ ।’ उहाँले सडक निर्माणको विषयमा दबाब दिन आफूले सडक विभाग, मन्त्रालय, सिडियो र स्थानीय तहलाई निरन्तर दबाब जारी राखेको बताउनुभयो ।

सडक कालोपत्रे नगर्दा स्थानीयलगायत आम सर्वसाधारणले ठूलो समस्या भोगिरहेका छन् । ‘हामीले पटकपटक अनुरोध गरिरहेका छौं, बाटोमा हिँड्न सक्ने अवस्था छैन, अब बनाउँछौं भन्छन् तर कहिले बन्छ भन्न सक्ने अवस्थामा छैन’ –ललितपुर महानगरपालिका–१८ का वडा अध्यक्ष दामोदर खड्काले भन्नुभयो । ३ किलोमिटर उक्त सडक भत्काएर बनाउन थालेको वर्षांै बित्दा पनि कसैले बोल्न सकेका छैनन् ।

एक वर्षअघि गएको मंसिर ४ गते सम्पन्न संघ र प्रदेशको निर्वाचनमा दुवै तहका उम्मेदवारको मुख्य नारा थियो– ‘हामीले जित्यौं भने यो बाटो कालोपत्रे गराएरै छाड्छौं । त्यस बेलाको गठबन्धनको तर्फबाट उम्मेदवार बनेका पूर्वमन्त्री पम्फा भुसाल, एमालेका उम्मेदवार अमृत खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोषिमा कार्कीले घरघरमा भोट माग्ने क्रममा उक्त बाटोलाई पहिलो प्राथमिकतामा राखेको बताएका थिए । पूर्वमन्त्री भुसालले त निर्वाचन अघि नै कालोपत्रे हुने बताउनुभएको थियो । निर्वाचनताका ऊर्जा तथा जलस्रोत मन्त्री रहेकी भुसालले आफ्नो पहिलो प्राथमिकता उक्त सडक कालोपत्रे गराउने भनी आश्वासन बाँड्नुभएको थियो । तर उहाँको सो भनाइ अहिलेसम्म कार्यान्वयन भएको छैन ।

६ वर्षअघि नख्खुदेखि आवासगेटसम्म पुग्ने बाटो निर्माण गर्ने जिम्मा बिरुवा कम्पनीले पाएको थियो । उक्त कम्पनीले समयमै काम गर्न नसक्दा सडक निर्माण अलपत्र परेको हो । समयमा काम सम्पन्न गर्न नसकेपछि सरकारले उक्त कम्पनीलाई कालोसूचीमा राखिसकेको छ । बिरुवा कन्ट्रक्सन कालोसूचीमा परेपछि हाल सो बाटोको निर्माण गर्ने जिम्मा सीएम कन्ट्रक्सनले पाएको छ ।सीएम कन्ट्रसनका प्रमुख सन्तोष श्रेष्ठले खानेपानीको पाइप फुटेर समस्या परेको बताउनुभयो । ‘खानेपानीको पाइप फुटेर सडक निर्माण गर्न समस्या भएको थियो, सरकारले खानेपानीको नयाँ पाइप फेर्न शुरु गरेको छ, खानेपानीले नयाँ पाइपको काम सकेलगत्तै कालोपत्रे गर्ने तयारी गरेका छाैं’ –श्रेष्ठको भनाइ छ । ठेकेदार कम्पनीले चाँडै काम सकिन्छ भनेको करिब एक वर्ष भयो, तर काम भने कछुवाको चाल जसरी भइरहेको छ ।

समयमा काम नगरेपछि गएको साउनमा ललितपुर महानगरको वडा नम्बर १८ र २५ का वडाध्यक्ष, स्थानीय टोल समितिका अधिकारीले बाटो बन्द गराएका थिए । त्यसपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको कार्यकक्षमा ठेकेदारसहित स्थानीयसँग बसेको बैठकले तिहारअघि काम सक्ने गरी निर्माण गर्ने लिखित निर्णय गरेको थियो । ८ महिना भयो त्यो सम्झौता कार्यान्वयन भएन ।ललितपुर महानगरपालिका–२५ का अध्यक्ष दौलत खत्रीले शुरुमा ठेकेदारको लापरबाहीको र अहिले खानेपानीको पाइपलाइनको काम गर्दा ढिला भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘यस्तो महत्वपूर्ण बाटो निर्माणमा ठेकेदारको लापरबाहीले गर्दा हामी हैरान भइसकेका छौं ।’ उहाँले अबको केही दिनपछि बाटो कालोपत्रे हुने बताउनुभयो । २० मिटरको सो सडकखण्ड ललिलपुर महानगरपालिकाको वडा नं. १८ र २५ भित्र पर्छ ।

नख्खु–भैंसेपाटी सडक खण्डका निर्देशक अर्जुन अर्यालले खानेपानीको पाइप बिछ्याउने काम सकिनासाथ कालोपत्रे भइसक्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘दायाँबायाँको काम सकेर सबबेस र बेस हाल्न थालेका थियौं, सडकको बीचमा बिच्छ्याइएको पाइप लिक भएर ठूलो समस्या भयो । केही दिन काम रोक्यौं, फेरि काठमाडौं उपत्यकाका खानेपानी लिमिटेडले दायाँबायाँ पाइप हाल्न शुरु गरेको छ, पाइपको काम सक्न करिब ५ दिन लाग्ला । त्यसपछि बेस हालेर कालोपत्रे शुरु गर्ने छाैं ।’ उहाँले अबको केही सातापछि बाटो निर्माण पूरा गरी स्थानीयलाई हस्तान्तरण गर्ने जानकारी दिनुभयो ।

वडा नं. १८ का अध्यक्ष दामोदर खड्काले धर्ना दिँदा, सरकार गुहार्दा, बाटो बन्द गरी सिडियोसँग वार्ता गर्दा समेत बाटो निर्माण हुन नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो– ‘हामी हैरान भइसकेका छौं, प्रमुख जिल्ला अधिकारीसँग भएको लिखित सम्झौता पनि कार्यान्वयन नगर्ने ठेकेदारलाई कसले कारबाही गर्ने ?’ ‘अहिले सो सडकखण्डमा खानेपानीको नयाँ पाइप बिच्छ्याउन लागेका कारण केही ढिलाइ भएको र अबको दुई महिनाभित्र कालोपत्रे भइसक्ने गरी बाटोको काम भइरहेको ठेकेदारले बताउने गरेका छन्’ –कामप्रति असन्तुष्टि देखाउँदै वडा अध्यक्ष खड्काले भन्नुभयो । निर्माण कम्पनीका प्रमुख श्रेष्ठले पाइप लाइनको काम हुनासाथ बाटोको काम शुरु गर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘अब ६ सय मिटर बाटो निर्माण गर्न बाँकी छ, केही दिनबाट काम शुरु गर्नेछौं ।’

भैंसेपाटीमै बस्ने यसअघिका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले समेत उक्त सडक निर्माण प्रक्रिया अघि बढाउन पहल गर्नुभएको थियो । निर्माण कम्पनीको बेवास्ताका कारण सडक कालोपत्रे हुन सकेको थिएन । सो सडक खण्डमा वर्षात् हुँदा, हिलो र नहुँदा धुलोको कारण उक्त सडकमा हिँड्न सक्ने अवस्था नभएको स्थानीयको भनाइ छ ।

पूर्वउपप्रधान मन्त्री एवं एमाले नेता वामदेव गौतम, विष्णु पौडेल, पूर्वमन्त्री ज्ञानेन्द्र कार्की, चार मुलुकका राजदूत, उच्च सरकारी अधिकारी, नेता र सांसदसहित विशिष्ट व्यक्तिहरू बसोवास गर्ने नख्खु–भैंसेपाटी सडक खण्ड निर्माण हुन नसकेपछि भीआईपी हिँड्ने सो सडकले भीआईपीलाई गिज्याइरहेको छ ।

भैंसेपाटीमा बनाइएको मन्त्री क्वार्टर निर्माण हुनु अघि नै सडक निर्माण शुरु भएको थियो । अहिले मन्त्री क्वार्टर र प्रदेश प्रमुख र मुख्यमन्त्रीको निवास निर्माण सम्पन्न हुने चरणमा पुगेको छ तर बाटो बनेको छैन । सो बाटो प्रयोग गरी दैनिक सयौं पर्यटक ऐतिहासिक नगरी खोकना र वुंगमति पुग्ने गरेका छन् । बाटो पार गरेर नेपाल मेडिसिटी अस्पताल पुग्नुपर्छ ।

कार्यविनायक र जलविनायकजस्ता धार्मिक महत्व बोकेको दुई विनायक सोही बाटो प्रयोग गर्नुपर्छ । चुनिखेल, छम्पी, डुकुछाप, टीकाभैरब जान सोही बाटो प्रयोग गर्नुपर्छ । सोही बाटो प्रयोग गरी एक दर्जन हाउजिङमा हजारौं भीआईपी बसोबास गर्ने गरेका छन् । यति धेरै महत्व बोकेको सो बाटो ६ वर्ष पुगिसक्दा पनि निर्माण हुन नसक्नु अस्थिर राजनीति र ठेकेदारको लापरबाही मुख्य कारण भएको स्थानीय शालिकराम कुँवरको भनाइ छ ।

 

तस्वीर : अनिल आङदेम्बे

को को भीआईपी बस्छन् ?
पूर्वउपप्रधानमन्त्री वामदेव गौतम
पूर्वउपप्रधानमन्त्री एवं सांसद विष्णु पौडेल
पूर्वमन्त्री एवं सांसद ज्ञानेन्द्रबहादुुर कार्की
पूर्वमन्त्री हृदयेश त्रिपाठी
पूर्वमन्त्री एनपी साउद
पूर्वमन्त्री एवं सांसद शरदसिंह भण्डारी
पूर्वमन्त्री दीपकुमार उपाध्याय
पूर्वमन्त्री एवं सांसद रघुवीर महासेठ
पूर्वमन्त्री एवं सांसद जुलीकुमारी महतो
पूर्वमन्त्री एवं सांसद अमरेशकुमार सिंह
पूर्वमन्त्री दिलनाथ गिरी
पूर्वमन्त्री गंगालाल तुलाधर
पूर्वमन्त्री चित्रलेखा यादव
राष्ट्रियसभा सांसद खिमलाल देवकोटा
ललितपुर–३ का सांसद डा. तोषिमा कार्की
प्रदेश सांसद प्रेमभक्त महर्जन
प्रदेश सांसद गोविन्द बोहरा
राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली
पूर्व मुख्यसचिव केशवराज राजभण्डारी
ललितपुर जिल्ला न्यायाधीश दुर्गा विक
प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापा

राजदूत=राजदूतावास
इजिप्टका राजदूत
कतार राजदूत
म्यानमार राजदूतावास र राजदूत
स्विजरल्यान्डका राजदूत
साउदी अरब इमिरेट्सका राजदूत

अन्यक्षेत्र
नेपाल मेडिसिटी अस्पताल
कार्यविनायक र जलविनायक
वुंगमति, खोकना, डुकुछाप, छम्पी जाने बाटो
तालिम केन्द्र भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट)

हाउजिङ=कोलोनी
सिद्धि हाउजिङ
मंगल कोलोनी
विनायक कोलोली
सिभिल होम्स
सिजी होम्स
जनता आवास
गोकुल आवास
कार्यविनायक होम्स
डाउनटाउन हाउजिङ
भैंसेपाटी हाइट
रिलायवल कोलोनी
बृहत् कोलोनी
डिङज होम

प्रतिक्रिया दिनुहोस्