मुलुकको आर्थिक अवस्था इतिहासकै कमजोर : पूर्वअर्थमन्त्री पौडेल 



बुटवल । 

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले मुलुकको आर्थिक अवस्था निकै कमजोर रहेको बताउनु भएको छ । सरकारको राजस्वले चालू खर्च समेत धान्न नसक्ने अवस्था आएको भन्दै समस्या समाधान गर्न सबै एकैठाउँमा जुट्नुपर्ने अवस्था सृजना भएको उहाँले बताउनुभयो ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिको शनिबार बुटवलमा भएको साधारण सभालाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री पौडेले मुलुक चरम आर्थिक संकट देखा परेको बताउनुभयो ।

‘छोटो कार्यकाल अर्थमन्त्री भएर मुलुकको आर्थिक अवस्था नजिकबाट बुझ्न पाएँ’  पौडेलले भन्नु भयो, ‘विदेशी मुद्रा सञ्चित पनि छैन । राजस्वको लक्ष्य पूरा हुने अवस्था नहुँदा देश चिन्ताजनक अवस्थामा छ ’ ।

रूपन्देही–२ का प्रतिनिधिसभा सदस्य समेत रहेका नेता पौडेलले यातायात क्षेत्रका समस्या समाधान गर्न आफू सबै व्यवसायीको साथमा रहेको बताउनु भयो ।
पौडेलले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र छिटो सञ्चालनका लागि सरकारले कार्यविधि स्वीकृत गर्नुपर्ने बताउनु भयो ।

कार्यविधि स्वीकृत नहुँदा २७ सय जना क्षमताको सम्मेलन केन्द्र उद्घाटन भएको ७ महिना बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

यस्तै नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणले प्रालिमा गएका यातायात व्यवसायीलाई संघ/समितिमै फर्काउने बताउनु भयो । यातायात व्यवसायी संघ/संस्थालाई प्राइभेट कम्पनीमा लैजानु गलत रहेको पूर्व गृहमन्त्री खाँणले टिप्पणी गर्नु भयो । पुरानै मोडालिटीको अनुसार नै चल्ने गरी नीति परिवर्तन गर्नुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेय, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, नेपाल यातायात व्यवसायी महासंघका पूर्व अध्यक्ष चोपनारायण श्रेष्ठ, ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेश संयोजक यमप्रसाद पाण्डे, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल, यातायात मजदुर तथा व्यवसायी भलाई कोषका अध्यक्ष दिनेश फुल्लेल, पश्चिम नेपाल बस व्यवसायी प्रालीका अध्यक्ष दधिराम खरेल, सञ्चालक जीवन बन्जाडे, रामचन्द्र भुसाल व्यवसयीहरु योगेन्द्रबहादुर केसी, सुरेन्द्र हमाल, दीपक कुँवर,  लगायतले यातायात व्यवसायीले भोग्नु परेका समस्यामा सरकार गम्भीर हुन माग गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्