पर्वतमा क्षयरोगका ४५ नयाँ बिरामी



पर्वत । 

पर्वतमा ४५ जना क्षयरोगका नयाँ बिरामी फेला परेका छन् ।

स्वास्थ्य कार्यालय पर्वतले विश्व क्षयरोग दिवसमा आयोजित अन्तरक्रिया कार्यक्रममा पर्वतमा १३ जना महिला र ३२ जना पुरुषमा क्षयरोग भेटिएको जनाएको छ ।
‘गएको साउन यता ४५ जना क्षयरोगका बिरामी फेला परेका छन्,‘डाक्टर दिपक पौडेलले भने,‘ उनीहरुले नियमित रुपमा औषधी सेवन गरिरहेका छन् ।,’ अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ मा पर्वतमा ६७ जना क्षयरोगका बिरामी फेला परेका थिए । अघिल्लो आर्थिक वर्षभन्दा यो वर्ष क्षयरोगका बिरामीको संख्यामा कमी आएको पौडेलले बताउनुभयो ।

स्वास्थ्य कार्यालय पर्वतका अनुसार मोदी गाउँपालिकामा ३ जना, जलजला गाउँपालिकामा २ जना, कुश्मा नगरपालिकामा १८ जना, फलेवास नगरपालिकामा ६ जना, महाशिला गाउँपालिमा शून्य, बिहादी गाउँपालिमा ५ जना र पैयुँ गाउँपालिमा ११ जना क्षयरोगका बिरामीहरु फेला परेका छन् । महाशिला गाउँपालिकाले भने क्षयरोग पहिचान गर्न आनाकानी गरिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

क्षयरोग  अत्यन्त छिटो सर्ने रोग भएकाले क्षयरोग बिरामीले खोक्दा वा हाँच्छ्युँ’ गर्दा खकारमा भएका क्षयरोगहरु बाहिर हावामा निस्कन्छन् । र यिनै कीटाणुहरू श्वासप्रश्वासको माध्यमबाट स्वास्थ्य मानिसको फोक्सो भित्र प्रवेश गरेर यो रोग लाग्छ । जुनसुकै उमेरका व्यक्तिलाई र रोगसँग लड्ने क्षमता कम भएकालाई क्षयरोगले सजिलै आक्रमण गर्छ । क्षयरोगको बिरामीले नियमित ६ महिनासम्म औषधी सेवन गर्नु पर्दछ । नियमित उपचार गरेमा क्षयरोग पूर्ण रुपमा निको हुन्छ । क्षयरोगको औषधी सबै सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क पाइन्छ । नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोगको अन्त्य र सन् २०५० सम्ममा पूर्ण निवारणको लक्ष्य लिएको बताउने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्