मेसुट ओजिलको संन्यास



लन्डन।

सन् २०१४ मा जर्मनीलाई चौथो पटक फिफा विश्वकपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने पूर्व मिडफिल्डर मेसुट ओजिलले फुटबलबाट संन्यास लिएको घोषणा गरेका छन् ।

आर्सेनल, रियल मेड्रिड र जर्मनीका पूर्व मिडफिल्डर मेसुट ओजिलले बिहीबार फुटबलबाट संन्यास लिएको घोषणा गरेका हुन् । पछिल्ला समय टर्किस क्लब बसाकसेहिरमा रहेका ३४ वर्षीय ओजिलले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै संन्यास लिएको घोषणा गरेका हुन् । १७ वर्ष व्यवसायिक फुटबल खेलेका उनले पछिल्लो समय लगातारको चोटका कारण फुटबल खेल्न छाड्नुपर्ने महसुस भएपछि सन्यास लिनुपरेको सामाजिक सन्जालमा लेखेका छन् ।

ओजिलले आफ्नो क्लब करियरमा चार एफए कप र सन् २०१२ मा स्पेनिस ला लिगा उपाधि सहित नौ उपाधि जितेका छन् । जर्मनीका लागि ९२ क्याप पनि जितेका उनी जर्मनीले सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको उपाधि जित्दा उनी टोलीका सदस्य थिए । जर्मन क्लब साल्केबाट २००६–०७ मा व्यवसायिक खेल करिअर शुरु गरेका ओजिलले त्यसपछि वेडर ब्रेमेनमा तीन सिजन खेलेपछि स्पेनिस क्लब रियल मेड्रिडमा पुगेका थिए । ओजिलले रियल मेड्रिडबाट ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कप जित्न सफल भए ।

रियलमा तीन सिजन बिताएपछि उनी सन् २०१३ मा त्यसबेला क्लबको कीर्तिमानी मुल्य ४२.४ मिलियन पाउन्डमा इंग्लिस क्लब आर्सेनलमा सामेल भएका थिए । त्यहाँ उनले आफ्नो प्रभाव जमाउँदा चारपटक एफए कप र एक पटक एफए कम्युनिटी शिल्ड जित्न सफल भए । प्लेमेकर ओजिल जनवरी २०१८ मा क्लबको इतिहासमा सबैभन्दा धेरै कमाउने खेलाडी बनेका थिए । तर, तत्कालिन प्रशिक्षक युनाई एमरीको नजरमा उनी पर्न सकेनन् । २०१९ मा एमरीको बर्खास्तीपछि उनी अन्तरिम प्रशिक्षक फ्रेडीको अधिनमा टोलीमा सामेल भए । त्यसपछि नयाँ प्रशिक्षक मिकेल अर्टेटा प्रशिक्षक बन्दा उनी टोलीमा समेटिए ।

सन् २०२१ मा फ्रि ट्रान्सफरमा फेनरवासमा पुगेका ओजिलले त्यहाँ दुई सिजन बिताएपछि उनी टर्किस क्लब इस्तानबुल बासाकसेहिरमा सामेल भए । ओजिलले अन्तर्राष्ट्रिय स्तरमा जर्मनी वा टर्कीबाट खेल्न सक्थे तर ओजिलले आफ्नो जन्म भएको देशबाट खेल्ने निर्णय गरे । सन् २००९ मा युरो यू–२१ च्याम्पियनसिपमा इंग्ल्यान्डलाई पराजित गर्दा उनी टोलीका महत्वपूर्ण सदस्य बनेका थिए । त्यो अघि नै उनले जर्मनीको सिनियर टोलीमा डेब्यु गरिसकेका थिए ।

ओजिल पाँच पटक जर्मनीको वर्ष खेलाडी घोषित भए । उनी २०१० विश्वकप र युरो २०१२ को सेमिफाइनलसम्म पुग्ने र २०१४ को विश्वकप जित्ने टोलीको हिस्सा थिए । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानसँग फोटो खिचाएकोमा आलोचना भएपछि उनले सन् २०१८ मा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका थिए । -एजेन्सी

 

 

 

 

प्रतिक्रिया दिनुहोस्