‘समयमै उपचार गराउँदा निको हुन्छ क्यान्सर’



विराटनगर घर भई धुलिखेल अस्पतालमा केही वर्षदेखि पाठेघरको नियमित उपचार गराउँदै आउनु भएकी ४२ बर्षिया निलम न्यौपानेलाई पाठेघरसँगै ब्रेस्टमा समस्या देखियो । सानो सानो गिर्खा आए पछि न्यौपानेलाई पाठेघरसँगै ब्रेस्टको परीक्षण शुरु गरिएको थियो । ६ महिना पछि थाहा भयो ब्रेस्टमा देखिएका गिर्खा क्यान्सरको पूर्व लक्षण रहेछ ।

पाठेघरको उपचार गराउँदा गराउँदै ब्रेस्टमा क्यान्सरको लक्षण देखिएपछि न्यौपानेमा चिन्ता थपियो । धुलिखेल अस्पतालले न्यौपानेको परीक्षण र उपचारमा तदारुकता देखाउँदै समयमै उपचार सम्भव छ भने पछि केही हौसिए पनि उपचार शुरु नहुँदा तनावमा हुनुहुन्थ्यो ।

अस्पतालका स्त्री रोग विशेषज्ञ डा. सुमन ताम्राकारले विशेषज्ञहरुको परामर्शमा उहाँको पाठेघरको मुखको क्यान्सर र छातीको क्यान्सरका बारेमा जानकारी गराउँदै उपचार, परामर्श र नियमित रोकथामका उपायका बारेमा जानकारी गराए पछि निलमको अनुहारमा खुसीको क्रान्ति छाएको छ । उहाँ अहिले पहिलाकै जस्तो अवस्थामा हुनुहुन्छ । समयमै उपचार गराउँदा क्यान्सर निको हुन्छ भन्ने उदाहरण निलमबाट लिन सकिने चिकित्सकहरुले बताएका छन् ।

धुलिखेल अस्पतालले ग्रामीण समुदायका व्यक्तिहरूलाई सुलभ, सहज र कम खर्चमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शुरु गरेका आउटरिच सेन्टर मार्फत पनि महिलाहरुले सहज उपचार प्राप्त गरिरहेको अस्पतालका डाक्टर सुनिला शाक्यले बताउनु भयो ।

‘अस्पतालको प्राथमिकतामा परेका विभिन्न रोगहरु मध्ये महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर, ब्रेस्टको क्यान्सर स्क्रिनिङ्ग लगायत छन्’–डा. शाक्यले भन्नुभयो–‘ग्रामीण भेगका महिलाहरु अस्पतालसम्म आएर उक्त रोगको परीक्षण गराउन, रोगको पहिचान भए पछि उपचार गराउन र रोग लाग्नु अगावै सचेत रहने गरी जनचेतनामूलक जानकारी गराउने अभियानमा कसरी लाग्न सकिन्छ भन्ने उद्देश्यका साथ आयोजना गरिएको गोष्ठीमा निलम उदाहरण बन्नु भएको छ ।’

धुलिखेल अस्पतालको आयोजनामा ब्रेस्ट क्यान्सर सम्बन्धी दुई दिने गोष्ठीमा निलमले क्यान्सर हुनु अघिका भोगाई, क्यान्सर भए पछिको अवस्था र उपचार भएपछिको अनुभवका बारेमा अनुभव सुनाउनु भएको थियो । सोही गोष्ठीमा नेपालका विभिन्न अस्पताल तथा विभिन्न देशका विशिष्ठ ब्यक्तिहरुको सहभागिता रहेको थियो । ब्रेस्ट क्यान्सर विश्वमा अत्यधिक ब्यक्तिमा हुने गरेको छ ।

धुलिखेल अस्पतालका प्याथोलोजिस्ट प्रोफेसर डाक्टर रमेश माकजु, एकेडेमिक नर्सिङ्ग डाईरेक्टर डा. कुन्तादेवी पुन, गाईनोलोजिस्ट डा. सुनिला शाक्य, रेडियोलोजिस्ट डा. सुविन्द्र कार्की, सर्जन डा. यज्ञरत्न शाक्य, सर्जन डा.गोनिस हाडा, नर्सिङ्ग विशेषज्ञ दयालक्ष्मी वैद्य, नेपाल क्यान्सर अस्पतालका सर्जन डा. प्रफुल्ल शाक्य, वीर अस्पतालका रेडियोलोजिस्ट डा. सन्ध्या चापागाई, धुलिखेल अस्पतालका डा. जनकरमण पराजुली र पाटन अस्पतालका डा. अरुण शाहीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

अन्तर्राष्ट्रिय स्तरका कार्यपत्र प्रस्तुत गर्नेहरुको नेतृत्व जर्मनका मोरिटजले गर्नु भएको थियो । अन्तर्राष्ट्रिय स्तरका ७ जना विशेषज्ञ डाक्टरहरुले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । ब्रेस्ट क्यान्सरका सन्दर्भमा जनचेतना जगाउने, आफै परीक्षण गर्ने विधि सिकाउने, शंका लागेमा तत्काल अस्पताल आउने र निराकरण गर्ने विषयमा समुदाय स्तरमा कसरी जनचेतना फैलाउने भन्ने विषयमा विज्ञहरुले विचार परामर्श गरिएको थियो ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तम सेढाईले नेपालमा नसर्ने रोगहरुका कारण समुदायमा फैलँदै गएका समस्याहरुलाई निराकारण गर्न समुदाय स्तरको चेतना आवश्यक रहेको बताउनु भयो ।

‘नसर्ने रोगका बिरामीहरूको संख्या दिन दिनै थपिँदै छ’– डा. पुरुषोत्तम सेढाईले भन्नुभयो– ‘क्यान्सर, मधुमेह, प्रेसर तथा अन्य नसर्ने रोगहरुको महामारी जस्तै छ । यसलाई समयमै नियन्त्रण गर्नु आवश्यक छ ।’ क्यान्सर हुनै नदिन, भए पछि पनि समयमै उपचार गर्दा निको हुने भएकाले समयमै उपचार गराउन तर्फ ध्यान दिनु पर्नेमा डा. सेढाईले जोड दिनु भयो ।

विशेष गरी बढ्दो उमेर भएका महिलाहरुमा ब्रेस्ट क्यान्सर हुन सक्छ । परिवारमा कसैलाई स्तन वा डिम्बासयको क्यान्सर भएमा, धेरै गोरा महिलालाई, स्तनको घनत्व धेरै भएमा, वंशाणुगत, सानो उमेरमा महिनावारी भए वा धेरै उमेरमा महिनावारी सुकेमा क्यान्सर हुन सक्छ ।

धेरै गर्भनिरोधक औषधि प्रयोग गरेमा, हर्माेन थेरापी धेरै लिएमा, ढिलो उमेरमा सन्तान जन्माउनु वा सन्तान नहुनुमा, अत्यधिक धूम्रपान र मादक पदार्थ सेवन गरेमा, धेरै मोटा महिला वा शारीरिक व्यायाम नगरेमा ब्रेस्ट क्यान्सर हुन सक्छ ।

रक्सी तथा सुर्तीजन्य पदार्थबाट टाढा रहने, स्तनपान गराउने, शरीरको तौल स्वास्थ्य लेबलमा राख्ने, योगा, कसरत र दैनिक शारीरिक व्यायाम गर्ने र पौष्टिक खानेकुरा खाने गरेमा तथा स्तन क्यान्सरलाई सुरुको अवस्थामा पहिचान गरी उपचार गरेमा बच्न सकिने चिकित्सकहरुले बताएका छन् ।

स्तनमा नयाँ गिर्खा तथा गाँठा देखिनु, स्तनको आकार र प्रकारमा परिवर्तन आउनु, स्तन दुख्नु वा सुन्निनु, स्तनमा खाल्टो पर्नु, स्तनको मुन्टोबाट रगत अथवा तरल पदार्थ आउनु, शरीरको, अनावश्यक तौल घट्नु यसमा लक्षण हुन् ।

स्तन क्यान्सरलाई सुरुको अवस्थामा पहिचान गरी समयमै उपचार गर्नु नै स्तन क्यान्सरलाई निर्मूल पार्ने अचुक अस्त्र भएको चिकित्सकहरुको सुझाव छ । निलम जस्तै अन्य महिलाहरुले नियमित परीक्षण गर्ने र समयमा नै अस्पताल पुग्न सके क्यान्सर रोगबाट बच्न सकिने निष्कर्ष चिकित्सकहरुको रहेको डा. सुनिला शाक्यले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्