रगतको माग बढी, आपूर्ति व्यवस्थापन कमजोर 



काठमाडौँ। 

मानव जीवन बचाउन अति आवश्यक पर्ने मानवकै रगतको माग उपत्यकामा बढेसँगै परोपकार प्रसूतिगृह थापाथलीमा तिनदिने खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरियो । मंगलबारदेखि सुरु भएको खुल्ला रक्तदान कार्यक्रम प्रसूति गृहमा बिहीबार सम्म सुचारु रहनेछ ।

 

रक्तदान जीवन दान भन्ने मूल नाराका साथ स्वयंसेवी रुपमा दान गरिँदै आएको रगतको व्यवस्थापन र वितरण राम्रो नभएकै कारण बढी रगत अभाव भएको प्रसूतिगृहका ल्याब इन्चार्ज पशुराम दाहाल बताउनुहुन्छ । प्रसूतिगृहमा रगत व्यवस्थापन राम्रो भएकै कारण आवश्यकता अनुसार खुल्ला रक्तदान गर्ने र आपूर्ति गर्ने गरिएको उहाँले बताउनु भयो।

मंगलबार गरिएको रक्तदान सोही दिन साँझ सम्म खपत भैसकेको थियो। बुधवार पुनः रक्तदान गरी रगत अभाव हुन नदिन समुदायसँग र रक्तदाता समूहसँग बारम्बार सम्पर्कमा रहिरहनु परेको दाहाल बताउनु भयो ।

प्रसूतिगृहका प्रसूति विशेषज्ञ डा. सुनिल शर्मा प्रसूतिका समयमा धेरै रगत बग्यो भने र सुत्केरी महिला पहिला नै कमजोर छन् भने रगत आवश्यक पर्ने बताउनु हुन्छा। उहाँका अनुसार प्रसूतिगृहमा ब्लड बैक भएका कारण रगत प्रसूतिगृहमा मात्र प्रयोग नभएर अन्यत्र पनि दिने गरिएको छ । कुनै पेसेन्टलाई निकै खतरनाक अवस्थामा साढे ४ युनिट सम्म चलाएका छौ । नर्मल सुत्केरी हुँदा पनि रगत चाहिन सक्छ र शल्यक्रियामा अझ बढी दिनुपर्ने हुन्छ । मेरो ७ वर्षको अनुभवमा रगत समयमै दिन पाएकै कारण धेरै आमा र बच्चाको ज्यान जोगाउन सफल भएका छौ। ‘ उहाँले भन्नु भयो।

ब्लड बैंक इन्चार्ज दाहालले २०४६ सालदेखि ल्याबमा काम गर्दै आउनु भएको र उहाँले सकेसम्म प्रसुतिगृहका बिरामीलाई रगत लिन बाहिर जानु नपरोस् र अन्य अस्पतालमा पनि आवश्यक परे सहयोग गर्ने उद्देश्यले रक्तदान कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताउनुहुन्छ ।

मंगलबार र बुधवार प्रसूतिगृहमा आयोजना गरिएको रक्तदान कार्यक्रममा आफ्नै जन्मदिन परेको र बिरामीको ज्यान बचाउने कार्यका लागि खुल्ला रक्तदान कार्यक्रम राखेर आफ्नो समय बिरामीमा समर्पण गरेको उहाँले बताउनुभयो । मंगलबार घोडे जात्राको बिदाका दिनमा पनि उहाँ रक्तदातासँग सेतो कोटमा व्यस्त हुनुहुन्थ्यो । त्यसैगरी बुधवार पनि रक्तदाता र बिरामीसँग व्यस्त देखिनुहुन्थ्यो । दुई दिन अस्पतालको पुस्तकालयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा स्व स्फूर्त रक्तदान गर्न आउनेको संख्या ३५ पुगेको उहाँले नेपाल समाचारपत्रलाई जानकारी गराउनुभयो ।

रक्तदान गर्न आवश्यकता अनुसार एक दिनमै १ सय प्वाइन्ट सम्म पनि सङ्कलन गरेका छौं । रगतको होल ब्लड,प्लाज्मा बनाउने, प्लेटलेट जस्ता कम्पोनेन्ट बनाउँछौ । प्लाज्मा एक वर्ष सुरक्षित गर्न मिल्छ भने होल ब्लड ४२ दिन सम्म रहन्छ भने प्लेटलेट ४ दिन सम्म मात्र काम लाग्छ । रगत दान गर्दा बिरामी हुनुहुन्न, हेमोग्लोबिन १२ भन्दा माथि हुनुपर्छ । यी सबै परीक्षण गरेर मात्र रगत लिएमा रक्तदातालाई समस्या आउँदैन र गुणस्तरीय रगत लिन सकिन्छ ।

रक्तदान गर्न योग्य हुनका लागि तौल, हेमोग्लोविन राम्रो हुनुपर्छ, पहिला पहिला हेमोग्लोविन हेरिन्नथ्यो त्यसले गर्दा रक्तदातामा चक्कर लाग्ने, ढल्ने जस्तो समस्या हुन्छ । एचआईभी एड्स लागेको हुनुहुन्न, कुकुरले टोकेको हुनुहुन्न, डेंगु भएको ६ महिना बढी भएको हुनुपर्छ । कोरोना लागेको २८ दिन, खोप लगाएको १४ दिन, रेबिज लागेको १ वर्ष सम्म रक्तदान गर्नुहुन्न ।

रक्तदातामा हेपाटाइटिस बी र सी भएको थाहा नभएका बिरामीले रक्तदान गरेको पाइन्छ । यस्ता बिरामीले रक्तदान गर्नुहुन्न । रक्त परीक्षण गरेर मात्र बिरामीलाई उपलब्ध गराउनुको प्रमुख कारण भनेकै कुनै रोग लागेको दाताको रगत बिरामीलाई नपरोस् भन्ने नै हो ।

स्वयंसेवी रक्तदाताले दिएको दान रगतमा शुल्क लिए भन्ने बिरामीको गुनासोका विषयमा दाहाल भन्नुहुन्छ यो परीक्षण शुल्क सरकारले तोकेबमोजिम लिएको हो । रगतको पैसा लिएको नभै ब्याग, र परीक्षणका लागि लाग्ने शुल्क मात्र हो भन्नुहुन्छ । रगत प्लाज्मा बनाउन मिल्ने डोनर भएमा त्रिपल ब्यागमा निकालिन्छ र हेमोग्लोविन १२ को हाराहारीमा भए सिङ्गल ब्यागमा लिन्छौ । त्रिपल ब्यागमा लिनु भनेको कम्पोनेन्ट बनाउन सहज होस भन्नका लागि लिइने हो तर तिन वटै ब्यागमा रगत तान्ने भने होइन । सिङ्गल ब्यागमा होल ब्लड हुन्छ भने त्रिपल ब्यागमा प्लाज्मा लगायतको कम्पोनेन्ट बनाइन्छ । नेपालमा पहिला पहिला होल ब्लड मात्र प्रयोग हुन्थ्यो भने अहिले कम्पोनेन्ट ब्लड पनि बढी नै माग हुन्छ । कोभिड १९ पछि कम्पोनेन्ट ब्लडको माग अझ बढेको छ । कोभिडका समयमा पनि प्रसुतिगृहले यो अस्पताल भन्दा बाहिरका बिरामीलाई पनि उपलब्ध गराएर बिरामीको ज्यान बचाउन सफल भयौ भन्नुहुन्छ ।

कम्पोनेन्ट बनाउँनु पहिला नै ब्लडको परीक्षण गरिन्छ तर कम्पोनेन्ट बनाउने ब्याग नै महँगो हुने हुनाले त्रिपल कम्पोनेन्टकै परीक्षण शुल्क दिन्छौ । कम्पोनेन्ट भनेको सेप्रेसन गरेको रगत हुन्छ । एउटामा होल ब्लड हुन्छ,अर्कोमा प्लेटलेट हुन्छ । स्यागम हालेपछि रगतको आयु बढाउँछ र ४२ दिनहुन्छ ।  ६० केजी तौल भएका व्यक्तिबाट मात्र रगत निकालिन्छ ।

रगत अभाव हुने भनेको व्यवस्थापनमा कमजोरी भएर हुने हो । कतै रगत स्टक राखियो भने रगतको अभाव हुन्छ । प्रसुतिगृहले त्यसरी स्टकका लागि रगत दिँदैन दाहाल भन्नुहुन्छ । बिरामीलाई असर नपर्ने गरी बाहिर पनि रगत दिइन्छ । पहिलाको दाँजोमा अहिले अभाव कम छ । सबैभन्दा बढी होल ब्लड जान्छ । क्यान्सर र मुटुका बिरामीलाई प्याकसिल नै प्रयोग गरिने दाहाल बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्