एसईई- २०७९ : प्रश्नपत्र, उत्तरपुस्तिका छपाइ र ढुवानी सकियो



काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रश्नपत्र र उत्तर पुस्तिका छपाइ र ढुवानी सकिएको छ । जनकशिक्षा सामग्रीको सुरक्षण मुद्रणालयमा छपाइ भएको प्रश्नपत्रको ढुवानीसमेत पूरा गरी परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठसहितको टोली सोमबार जनकशिक्षा सामग्री केन्द्रबाट बाहिरिएका थिए ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी तीन तहको सुरक्षा घेराभित्र प्रश्नपत्र छपाइ र ढुवानी भएको थियो । छपाइ पूरा भएलगत्तै प्याकिङ गरी ७७ वटै जिल्लामा ढुवानी गरिएको थियो । परीक्षा नियन्त्रण कार्यालयले प्रश्नपत्र छपाइ शुरू भएको करिब एक महिनामा ढुवानीको कामसमेत सकेको छ । यो वर्षको परीक्षामा ५० लाख सेट प्रश्नपत्र छपाइ गरिएको छ ।

केन्द्रका प्रवक्ता चित्रकुमार आचार्यले ५ लाख १६ हजार ५ सय ७७ विद्यार्थीका लागि ५० लाख सेट प्रश्नपत्र छपाइ गरी ढुवानी गरेको जानकारी दिनुभयो । राष्ट्रिय परीक्षा बोर्डले प्रदेशगत रूपमा फरकफरक सेट प्रश्नपत्र छपाइ गरी सोहीअनुसार ढुवानी गरेको हो । बोर्डले प्रदेश प्रहरी कार्यालयसँग समन्वय गरी इलाका र जिल्ला प्रहरी कार्यालयमा प्रश्नपत्र पु¥याइसकेको छ । केही संवेदनशील जिल्लाबाहेक सबै जिल्लामा प्रश्नपत्र पुगिसकेको जानकारी दिँदै बोर्डका अध्यक्ष महाश्रम शर्माले भन्नुभयो– ‘सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका पुगिसकेको छ । प्रश्नपत्रको हकमा अहिले नजिकैको प्रहरी कार्यालयमा पु¥याइनेछ । परीक्षाको अघिल्लो दिनबाट सबै केन्द्रमा प्रश्नपत्र पु¥याउने गरी तयारी भइरहेको छ ।’

यो वर्ष ५ लाख १६ हजार विद्यार्थीको लागि प्रश्नपत्र छापिएको छ । परीक्षामा २ लाख ६० हजार छात्र र २ लाख ५६ हजार छात्रा सहभागी हुनेछन् । ती विद्यार्थीका लागि सातवटै प्रदेशमा फरकफरक सेटमा प्रश्नपत्र छापिएको छ ।

विद्यार्थीको अनुपातमा करिब १० प्रतिशत बढी प्रश्नपत्र छपाइ भएको जनक शिक्षाले जनाएको छ । विविध कारणले परीक्षामा गडबडी भएर परीक्षा स्थगित गर्नुपरेमा त्यसको लागि फरक सेटमा प्रश्नपत्र छापिएका छन् ।

परीक्षामा साधारण र प्राविधिक धारतर्फ गरी दुई प्रकारको परीक्षा हुनेछ । परीक्षामा करिब २ हजार १ सय परीक्षा केन्द्र कायम गरिएको पनिकाले जनाएको छ । साधारणतर्फ ६ वटा अनिवार्य, संस्कृततर्फ ६ र प्रथम ऐच्छिकतर्फ २४ र ऐच्छिक द्वितीयतर्फ २३ गरी ४७ ऐच्छिक विषयको परीक्षा हुँदैछ ।

प्राविधिक धारतर्फ करिब १५ हजार विद्यार्थी सहभागी हुनेछन् । परीक्षामा सबैभन्दा बढी विद्यार्थी वागमती प्रदेशमा रहेका छन् । वागमतीमा १ लाख ७ हजार विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् । त्यसमा पनि सबैभन्दा बढी काठमाडौंमा ३२ हजार ४८ विद्यार्थी सहभागी हँुदै छन् । त्यसै गरी कर्णालीमा सबैभन्दा कम ४१ हजार विद्यार्थी सहभागी हुने भएका छन् । मनाङमा सबैभन्दा कम अर्थात् ५३ परीक्षार्थीले सहभागिता जनाउँदैछन् ।

एसईई परीक्षा चैत १७ गतेबाट २९ गतेसम्म सञ्चालन हुँदैछ । यो वर्ष ७ हजार २ सय सामुदायिक र ४ हजार ५ सय ६४ संस्थागत गरी ११ हजार ८ सय २९ विद्यालय एसईईमा सहभागी हुनेछन् ।

परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका २ हजार ९ सय ८२ विद्यार्थीले पनि परीक्षा दिँदैछन् । यो वर्ष ५० जना दृष्टिविहीन परीक्षार्थीले परीक्षा दिनेछन् ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. शर्माले परीक्षा सम्पन्न गर्न प्रदेश र स्थानीय तहलाई अनुरोध गर्ने तयारी भइरहेको बताउनुभयो । परीक्षामा सबैभन्दा ठूलो भूमिका स्थानीय तहको हुने जिकिर गर्दै उहाँले भन्नुभयो– ‘स्थानीय तहलाई समन्वय गरी परीक्षा गर्न आग्रह गर्नेछौं । एक दुई दिनमा आग्रहसहितको पत्र पठाउनेछौं र सोहीअनुसार परीक्षा सम्पन्न गर्न निर्देशन दिनेछौं ।’

प्रतिक्रिया दिनुहोस्