जेठ ५ मा आउने भयो गणपति



विश्वास र अन्धविश्वासका आधारमा मानिसले मानिसमाथि गर्ने फरक फरक व्यवहारको कथामा बनेको पारिवारिक सामाजिक कथाको फिल्म गणपतिले रिलिज डेट घोषणा गर्दै पोस्टर सार्वजनिक गरेको छ।

फिल्मको निर्माण समूहले आगामी जेठ ५ गते रिलिज डेट तोक्दै फिल्मको मूल कथा जनाउने पोस्टर सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य दुई कलाकार मुकुन भुसाल र मेनुका प्रधानसँगै फिल्मको शिर्षक जनाउने तस्वीर प्रस्तुत गरिएको छ।

एबिगम्यान फिल्म्स्को ब्यानरमा लक्ष्मण थापाद्वारा निर्मित फिल्म नवनिर्देशक सविन अधिकारीले निर्देशन गरेका छन्। फिल्ममा लेखन पनि उनकै छ।

लेखक तथा निर्देशक अधिकारीले फिल्मले नेपाली समाजको चरित्र चित्रण गर्ने जनाए। कोही व्यक्ति कुनै बेला त्यहि समाजको भगवान् बन्छ भने सोहि व्यक्तिलाई हाम्रै समाजले नरकीय व्यवहार गर्छ। गणपतिको कथा त्यसकै वरपर घुमेको छ, सविनले सुनाए।

फिल्मको शीर्ष भूमिकामा रहेका मुकुन भुसालले गणपतिमा आफूलाई अहिलेसम्मकै भिन्न भूमिकामा देखिने दाबी गरे। निर्माता थापाले फरक सोच र परिकल्पनामा निर्माण गरिएको फिल्म यथार्थ घटनाको नजिक रहेको बताए।

मुकुन र मेनुकाको साथमा कविता न्यौपाने, सूर्यमाला खनाल, स्व. जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेललगायतले अभिनय गरेको फिल्ममा अनिस अधिकारीको शब्द रचना र संगीत, अनिस अधिकारी र देवेन्द्र बब्लुको स्वर तथा हरिबहादुर घलेको छायांकन रहेको छ। फिल्मको सम्पूर्ण छायांकन तनहुँको बन्दीपुर गाउँपालिका थारुवासमा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्