नेसन्स कपमा ६ नयाँ अनुहार

विजेतालाई ५ हजार डलर



काठमाडौं । प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिताको लागि नेपाली राष्ट्रिय टोलीमा ६ नयाँ खेलाडी समावेश गरिएको छ । २३ सदस्यीय टोली घोषणा हुँदा इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले ६ खेलाडीलाई मौका दिएका हुन् । तीन टोलीबीच हुने प्रतियोगितामा भुटान र लाओसले सहभागिता जनाउनेछन् । दशरथ रंगशालामा नेपाल र लाओसबीच आज खेल हुँदैछ ।

टोलीमा समावेश नयाँ ६ खेलाडीमा सुमित श्रेष्ठ, मणि लामा, सनिस श्रेष्ठ, पद्म भट्टराई, अभिषेक बराल र दीपकराज सिंह ठकुरी हुन् । मणि र सनिस एपीएफका खेलाडी हुन् भने सुमित मनाङबाट खेल्दैछन् । यसैगरी गोलकिपर अभिषेक सातदोबाटोका हुन् भने दीपक पनि सातदोबाटोबाट खेलिरहेका छन् । पद्म भने खुमलटारका हुन् ।

प्रतियोगिताअन्तर्गत चैत ११ गते भुटान र लाओस खेल्नेछ भने चैत १४ गते नेपालको सामना भुटानसँग हुनेछ । शीर्ष दुई टोलीले चैत १६ गते फाइनल खेल खेल्नेछन् । प्रतियोगितामा खेल्ने नेपाली टोली ः गोलकिपरमा किरण चेम्जोङ, दीप कार्की र अभिषेक बराल तथा डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, आदित्य चौधरी, विकास खवास, सनिस श्रेष्ठ, निशान खड्का र पद्भ भट्टराई हु्न् ।

यसैगरी मिडफिल्डरमा मणि लामा, नविन लामा, पुजन उपरकोटी, एरिक विष्ट, कमल थापा, आशिष चौधरी, आयुष घलान र सुमित श्रेष्ठ रहेका छन् । फरवार्डमा दीपकराज सिंह ठकुरी, मनिष डाँगी, नवयुग श्रेष्ठ, भरत खवास र अन्जन विष्टलाई जिम्मा दिइएको छ । भरतलाई अन्तिममा टोली सामेल गरिएको थियो ।

विजेतालाई ५ हजार डलर

थ्री नेसन्स कप फुटबल प्रतियोगिताको विजेताले ५ हजार डलर पाउनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएअनुसार पहिलो हुने टोलीले ५ हजार अमेरिकी डलर पाउने भएको हो । यस्तै दोस्रो हुने टोलीलाई ३ हजार अमेरिकी डलर दिइनेछ । हरेक खेलको म्यान अफ द म्याचलाई २ सय ५० तथा प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय अमेरिकी डलर दिइनेछ । पुरस्कार राष्ट्रिय खेलकूद परिषद्ले व्यहोर्ने पनि जनाएको छ ।

प्रतियोगितार्का खेलहरू दशरथ रंगशालामा हुनेछ । एन्फाले साधारण पारापिटतर्फ रु ५ सय र भीआइपी पारापिटतर्फ रु १ हजार टिकट दर राखेको छ । प्रतियोगिताको लागि एन्फाले एमडिएसी स्पोट्र्स प्रालिसँग मार्केटिङ र ब्रोडकास्टिङ अधिकारको लागि सम्झौता गरेको छ । प्रतियोगिताको अनुमानित बजेट एक करोड ७७ लाख ६८ हजार ४ सय ८० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्