दलित समुदायको राजनीतिक प्रतिनिधित्व नामक पुस्तक विमोचन



काठमाडौँ।

पत्रकार लक्ष्मण दर्नालद्वारा लिखित ‘दलित समुदायको राजनीतिक प्रतिनिधित्व २००७/२०७९’ नामक पुस्तक विमोचन भएको छ। ५८ औँ अन्तर्राष्ट्रिय रङ्ग तथा जातीय विभेद उन्मुलन दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (बुधबार ) सो पुस्तकको विमोचन गर्नु भएको हो ।

पुस्तकमा दलित समुदायबाट हालसम्म भएका मन्त्री, सांसद, राजदूत, प्रदेश प्रमुख, प्रदेश मन्त्री तथा सांसदहरुको तथ्याङ्क (नामावली) समावेश गरिएको छ ।
जिल्ला समन्वय समितिमा दलित र प्रज्ञा प्रतिष्ठानहरुमा दलितको सहभागिताको तथ्यांक समेत पुस्तकमा समेटिएको छ ।

२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित दलित समुदायबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिको नामावली समावेश छ । पुस्तकमा दलित आन्दोलनको सफलतालाई तथ्याङ्कको रूपमा दस्तावेजीकरण गरिएको छ ।

पुस्तकमा २००७ सालको परिवर्तनपछि हालसम्मका दलित मन्त्रीहरूको संख्या ३४ (सहायक र राज्यमन्त्रीसहित्) रहेको उल्लेख छ । प्रदेश सरकारमा हालसम्म जम्मा १० जना दलित समुदायका व्यक्तिहरू मन्त्री भएका छन् । राष्ट्रिय सभा र प्रतिनिधि सभाका दलित सांसदको हालसम्मको संख्या १६७ रहेको छ । प्रदेश सांसदहरूको संख्या १०९ छ । प्रदेश प्रमुखमा एक जना छन् भने भने राजदूतहरु ३ जना छन् ।

पुस्तकको तथ्यांक अनुसार स्थानीय तह निर्वाचन २०७९ मा प्रमुख ३ र उपप्रमुख ९ जना निर्वाचित भएका छन् । गाउँपालिका अध्यक्षमा ६ जना र उपाध्यक्षमा ७ जना निर्वाचित भएका छन् । छ हजार ६२० जना दलित महिला वडा सदस्यमा निर्वाचित भएका छन् भने दलित महिला वडा सदस्यमा उम्मेदवार नपरेका वडाको संख्या १२३ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्