वर्षाका कारण पहाडी क्षेत्रमा अत्यधिक चिसो

खप्तड क्षेत्रमा भारी हिमपात



डडेल्धुरा । 

आइतबारदेखिको अविरल वर्षाका कारण डडेल्धुरासहित सुदूरपश्चिम प्रदेशका पहाडी तथा उच्च लेकाली क्षेत्रमा अत्यधिक चिसो बढेको छ । धर्तीको स्वर्ग मानिने पर्यटकीय क्षेत्र खप्तडमा भारी हिमपात भएको छ ।

तीन दिन देखिको अविरल वर्षाका कारण सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तड क्षेत्रमा हिमपात भएको हो । हिमपातसँगै उक्त क्षेत्रमा एकाएक चिसो बढेको छ । आइतबार रातिदेखि खप्तड क्षेत्रमा हिमपात भएको हो । यो वर्ष खप्तडमा हिउँ परेको यो तेस्रो पटक हो । हिउँले राति र बिहानको समयमा खप्तडलगायत अन्य आसपासका क्षेत्रमा चिसो बढेको स्थानीय बताउँछन् । हिउँले खप्तडमा डाँडाकाँडा रमणीय भएका छन् ।

हिउँ करिब एक फिट जति परेको खप्तड झिग्राना घर बासका सञ्चालक दीपकबहादुर खड्काले बताउनु भयो । उहाँले खप्तडलगायतका क्षेत्रमा एक फिट हिउँ परेको बताउँदै हिमपातका कारण चिसो निकै बढेको जानकारी दिनुभयो । हिमपातले खप्तड क्षेत्रको दृश्य निकै मनोरम भएका कारण यहाँ घुम्न आउने पर्यटकका लागि निकै रमाइलो हुने खड्काले बताउनु भयो । हिमपातका कारण यहाँको टेलिफोन सम्पर्क समेत विच्छेद भएको खप्तड राष्ट्रिय निकुञ्जका वार्डेन गोपाल घिमिरेले जानकारी दिनुभयो ।

खप्तड घुम्न गएका पर्यटकहरु फर्किसकेको र अहिले खप्तड क्षेत्रमा हिमपात जारी रहेको खप्तड राष्ट्रिय निकुञ्जले जनाएको छ । चिसोका कारण जनजीवन प्रभावित बनेको छ भने ग्रामीण क्षेत्रमा पनि अत्यधिक चिसो बढेकाले कामकाज गर्न कठिनाइ भइरहेको स्थानीय बताउँछन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार डडेल्धुराको न्यूनतम तापक्रम ५.६ डिग्रीमा झरेको छ । महाशाखाले दिएको जानकारीअनुसार डडेल्धुराको अधिकतम तापक्रम भने ११.४ डिग्री रहेको छ ।

पछिल्लो २४ घण्टामा डडेल्धुरामा १९ मिलिमिटर वर्षा भएको महाशाखाले उल्लेख गरेको छ सोमबारदेखि यहाँका पहाडी क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । मौसमविद् गंगा नगरकोटीका अनुसार मंगलबार देशका कतिपय स्थानमा वर्षा रोकिएको छ भने सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी परिरहेको छ । ‘विगत १२ घण्टामा देशका सबै प्रदेशका केही स्थानमा वर्षा भएको छ,’ मौसमविद् नगरकोटीले भन्नुभयो ‘अहिले अलि ठूलै वर्षा हुने प्रणाली भित्रिएको छ, पूरै नेपाल कभर गरेको छ ।’

किसानहरुले हिउँदे बाली भित्र्याउने बेलामा भएको वर्षाका कारण मुसुरो, तोरी, केराउ, चना जस्ता बाली नालीमा क्षति पुगेका बताएका छन् । पहाडी क्षेत्रमा गहुँ नपाके पनि जिल्लाको भित्रिमधेस क्षेत्रमा पाकी सकेको गहुँ बालीमा क्षति पुगेको स्थानीय बताउँछन् । पाक्न बाँकी रहेको गहुँ बालीमा भने वर्षाले राहात पुग्न कृषि प्रावधिकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्